नेपाल आउने रेमिट्यान्स घट्यो, निक्षेप सिर्जना गर्ने स्रोतमै समस्या, देश शोधनान्तर घाटामा

बिजमाण्डू
२०७४ माघ ३ गते १७:४६ | Jan 17, 2018
नेपाल आउने रेमिट्यान्स घट्यो, निक्षेप सिर्जना गर्ने स्रोतमै समस्या, देश शोधनान्तर घाटामा


काठमाडौं । रेमिट्यान्सबाट आउने रकम घटेपछि देशको शोधनान्तर बचत घाटामा गएको छ। यसको अर्थ निक्षेप सिर्जना हुने स्रोतमै समस्या उत्पन्न भएको छ। यसले निक्षेप सिर्जना र कर्जा प्रवाह प्रणालीमै लामो समय असर देखिने सम्भावना देखाएको छ।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्यांकअनुसार अहिले शोधनान्तर नौ अर्व २७ करोड रुपैयाँले घाटामा छ। जबकि गतवर्षको पहिलो पाँच महिनामा सरकारसँग २८ अर्व ७८ करोडको शोधानान्तर बचत थियो।

शोधनानन्तर मात्रै होइन सरकारको चालु खाता समेत अहिले ४१ अर्व ९५ करोड रुपैयाँले घाटामा छ। जबकि गतवर्षको यही अवधिमा यस्तो बचत तीन अर्व ४९ करोड रुपैयाँ थियो।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा दुई खर्व ८५ अर्व रुपैयाँ रेमिट्यान्स आएको छ। यो गतवर्षभन्दा शुन्य दशमलव आठ प्रतिशतले कम हो। गतवर्षको यो अवधिकमा रेमिट्यान्स छ प्रतिशतले बढेको थियो।

रेमिट्यान्स आउने मुख्य स्रोत रहेको साउदी र कतारमा जाने नेपालीको संख्या समेत घटेको छ। राष्ट्र बैंककाअनुसार मलेसिया जाने कामदारको संख्या बढे पनि साउदी र कतारमा जाने कामदारको संख्या घट्दा त्यसको प्रभाव रेमिट्यान्समा परेको छ। अहिले वैदेशिक रोजगारीमा जानेको संख्या साढे दुई प्रतिशतले घटेको छ।

रेमिट्यान्सपछि शोधानान्तर बचतमा टेवा दिने वैदेशिक लगानी भने केही बढेको छ। तर लगानीसँगै नेपालबाट पुँजीगत ट्रान्सफर पनि बढेको छ। पाँच महिनामा प्रत्यक्ष वैदेशिक लगानी ११ अर्व १२ करोड रुपैयाँ बढेको छ भने पुँजीगत ट्रान्सफर आठ अर्व ८६ करोड रुपैयाँ छ।