अब आधा सांसदलाई मात्र टेबलको सुविधा, आधाले टेबल हैन थपडी बजाउनु पर्ने

बिजमाण्डू
२०७४ माघ २ गते १५:४९ | Jan 16, 2018

काठमाडौँ। सदनमा अधिकांश प्रस्तावहरु ध्वनि मतका आधारमा पारित गर्नुपर्ने हुन्छ जसका लागि सांसदहरुले आफू अगाडिको टेबल बजाएर ध्वनि निकाल्ने गर्छन्।

Tata
GBIME
Nepal Life

तर अबको २७५ सदस्यीय प्रतिनिधि सभाका आधा सांसदका लागि टेबलको सुविधा हुने छैन। अहिले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सगरमाथा हलमा प्रतिनिधि सभाको बैठक बस्नका लागि भौतिक पूर्वाधार तयार पारिँदैछ। सभा हलको बनावट अनुसार आधा सांसद बस्ने कुर्सीको अगाडिमात्र टेबल राखिएको छ। आधा सांसदले कुर्सी मात्र पाउने छन्।अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ब्यवस्थापन समितिका वरिष्ठ कार्यक्रम संयोजक दीपेन्द्र सिंहले हलको संरचना अनुसार टेबल लगाउन नमिल्ने भएकोले आधा सांसदले मात्र टेबल पाउने बताए।

सिंहले टेबल नपाउने सांसदहरुले स्ट्याण्ड माइक पाउने बताए।यसअघि ६०१ सदस्यीय संविधान सभाका लागि सम्मेलन केन्द्रकै बैठक कक्ष प्रयोग गरिएको थियो। बहुदलीय व्यवस्था पुनर्स्थापनापछिका संसदहरु सिहंदरबारभित्रको ग्यालरी बैठकमा बस्ने गरेको भए पनि भूकम्पका कारण संरचना क्षति पुगेकोले प्रतिनिधि सभाका लागि सम्मेलन केन्द्रकै हल प्रयोग हुन लागेको हो।

राष्ट्रिय सभाको बैठक पनि यहीँको अर्को हलमा बस्नेछ। राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक पनि बस्ने प्रावधान संविधानमा भएकोले राष्ट्रिय सभाका सांसदहरु समेत बस्न मिल्ने गरी अहिले प्रतिनिधि सभाको बैठक कक्ष बनाइँदैछ।