अब घरमै बसेर माउस घुमाउँदा शेयर आवदेन दिन मिल्ने, यसरी भर्नुस् अनलाईन फारम

सुवास निरौला/बिजमाण्डू
२०७४ माघ २ गते १५:२२ | Jan 16, 2018

काठमाडौँ। केन्द्रीय निक्षेप प्रणाली(सिडीएससी)ले लगानीकर्तालाई अनलाइनबाटै प्राथमिक र हकप्रद शेयर भर्ने सुविधा सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

सिडीएससीले संचालनमा ल्याएको मेरो शेयर डट सिडीएससी डट कम डट एनपीमा नयाँ सुबिधा थप गर्दै अनलाइनबाटै प्राथमिक र हकप्रद शेयर भर्ने सुबिधा दिएको हो।

मेरो शेयर मार्फत लगानीकर्ताले हाल ६ कम्पनीका शेयर घरमै बसेर अनलाइन आबेदन दिन सक्छन् जसमा पाँच कम्पनीका हकप्रद र एनआइसि एसिया क्यापिटलले मंगलबारदेखि निष्कासन गरेको सामुहिक योजना एनआइसि एसिया ग्रोथ फण्ड रहेका छन्।

हकप्रदमा ग्रिन डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, गण्डकी विकास बैंक र सिभिल बैंक रहेका छन्।

केन्द्रीय निक्षेप प्रणाली(सीडीएससी)मार्फत हाल २५ बैंक वित्तीय संस्थाले सीआस्बा सेवा उपलाब्ध गराएका छन्। सीआस्बा सुबिधा उपलब्ध गराएका तिनै २५ बैंक वित्तीय संस्थामा बैंक खाता भएका लगानीकर्ताले घरमै बसेर अनलाइन आवेदन दिन सक्छन्।

अनलाइन आवेदन दिन लगानीकर्ताले के गर्नु पर्छ?
                   
प्राथमिक वा हकप्रद शेयरमा अनलाइन आवेदन दिनु अघि लगानीकर्ताले मेरो शेयर अनलाइनमा आफ्नो खाता खोल्नु पर्छ। त्यसका लागि लगानीकर्ताले पहिले आफ्नो हितग्राही (डीम्याट) खाता खोलेको ठाउँमा गएर एउटा फारम भर्नुपर्छ। निक्षेप सदस्यले अधिकतम ५० रुपैयाँ लिएर लगानीकर्ताको यस्तो खाता खोलिदिन्छन्।
 
मेरो शेयरमा खाता खोलेपछि लगानीकर्ताले एक पटक आफ्नो खाता रहेको बैंकबाट ‘सीआस्बा रजिस्ट्रेसन नम्बर(सीआरएन)’ लिनुपर्छ।
अहिलेसम्म यस्तो सुबिधा २५ वटा बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएका छन्।

नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिदार्थ बैंक, प्रभु बैंक, गुडविल फाइनान्स, बैंक अफ काठमाडौँ, एक्सल डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, गुहेस्वरी मर्चेन्ट बैंक एंड फाइनान्स, जनता बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, महालक्ष्मी विकास बैंक, नेपाल बंगलादेश बैंक, नेपाल बैंक, एनसीसी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबि बैंक, राष्ट्रिय बाणिज्य बैंक, सानिमा बैंक,सिर्जना फाइनान्स, सनराइज बैंक, तिनाउ बिकास बैंक र युनाइटेड फाइनान्सले यस्तो सुविधा दिएका छन्।
 
मेरो शेयरमा खाता खोल्ने र बैंकबाट सीआरएन लिने प्रक्रिया सकिएपछि    लगानीकर्ताले प्राथमिक शेयरमा अनलाइन आवेदन दिन सक्ने छन् ।
 
अनलाइनबाट शेयरमा आवेदन दिन मेरो शेयरको वेबसाइटमा गई ‘माई आस्बा’ भन्ने फिचरमा क्लिक गर्नुपर्छ। त्यहाँ प्राथमिक र हकप्रद शेयर खुलाउने कम्पनीको नाम लिष्ट हुन्छ। लगानीकर्ताले आफुले चाहेको कम्पनी क्लिक गरी आवेदन दिन सक्छन्।
 
लगानीकर्ताले कम्पनी छाने पछि सबैभन्दा पहिले कति कित्ता आवेदन दिने हो त्यो खुलाउनु पर्छ । त्यसपछि यति पैसा लाग्छ भनेर सिष्टमले ‘अटोमेटिक’ देखाउँछ। त्यसपछि कुन बैंकबाट पैसा रोक्का राख्ने हो, त्यसको नाम छनौट गर्नुपर्छ। बैंकको नाम छनौट गरे पछी लगानीकर्ताको खाता भएको शाखाको नाम र खाता नम्बर अटोमेटिक देखाउँछ।
 
लगानीकर्ताले सीआरएन नम्बर हाले पछि फाराम भर्ने काम सकिन्छ। त्यसपछि सुरक्षा र लगानीकर्ता पहिचानका लागि मेरो शेयरले  लगानीकर्ताको ईमेलमा एउटा कोड पठाउँछ। उक्त कोड हालेपछि अनलाइन फारम भर्ने प्रक्रिया सफल भएको सन्देश लगानीकर्ताले पाउछन्। उल्लेख गरिएको रकम खातामा छैन भने आवेदन स्वतः रद्ध हुन्छ।
 
 सिडिएससीले सीआस्बा सफ्टवेयर सबै बैंकमा पुर्याउन ‘सीआस्बा मार्फत विद्यतीय कारोबार सम्बन्धि कार्य संचालन निर्देशिका,२०७४’ स्वीकृति गराइ सकेको छ। बोर्डले आस्बा सेवा प्रदायक बैंकमा सीआस्बा सफ्टवेयर अनिबार्य गरे बिक्री बन्द भएको भोलिपल्टै बाँडफाँड गर्न सकिने सीडीएसीको दावी छ।