यसरी तयार पारिँदैछ प्रतिनिधि र राष्ट्रियसभा कक्ष, राष्ट्रियसभामा रातो, निलोमा प्रतिनिधिसभा

बिजमाण्डू
२०७४ माघ १ गते १२:२२ | Jan 15, 2018
काठमाडौं। अपेक्षित समयमा नै निर्वाचन परिणाम सार्वजिनक भएको भए योबेला प्रतिनिधिसभाको अधिवेश आह्वान भइसकेको हुन्थ्यो। संघीय संसद् सचिवालयले पनि माघको पहिलो सातासम्म अधिवेशन आह्वान हुने अपेक्षामा बैठक कक्ष तयारी थालेको थियो। तर, राजनीतिक विवादका कारण निर्वाचन परिणाम नै सार्वजनिक भएको छैन।


 
सचिवालयले हल व्यवस्थापन कार्य भने अन्तिम चरणमा पुर्‍याएको छ। प्रतिनिधिसभाको हल निर्माण करिव सकिए पनि राष्ट्रियसभा बैठक कक्ष धमाधम निर्माण भइरहेको छ।
 
संघीय संसद्का दुबै सदनको बैठक यसअघिको संविधानसभा भवनमा नै बस्नेछ। यसअघिको मूल हलमा प्रतिनिधसभा र नुप्त्से हलमा राष्ट्रियसभा बैठक कक्ष रहनेछ। सचिवालयले सोही अनुसार हल बनाइरहेको छ।


 
यसरी बनाइँदैछ हल 
राष्ट्रियसभाको हललाई तीन भागमा बाँडिएको छ। राष्ट्रियसभा अध्यक्षको अगाडि ग्यालरीमा राष्ट्रियसभा सदस्यहरु बस्ने व्यवस्था गरिएको छ। त्यसपछिको भागमा विशिष्ट व्यक्तिहरु रहनेछन्। पछाडिको भागमा सचिवालयका कर्मचारी, सञ्चारकर्मी र अन्तिममा दर्शकदीर्घालाई छुट्याइएको छ।


 
राष्ट्रियसभाका अध्यक्ष बस्ने पोडिएम तयार भइसकेको छैन। सदस्यहरुका लागि कुर्सीको मिलाउने काम भइरहेको छ। सम्मेलन केन्द्र व्यवस्थापन समितिका कर्मचारी दिपेन्द्र सिंहले भने,‘अहिलेको काम अनुसार हल तयार हुन अझै १५ दिन लाग्न सक्छ।’


 
प्रतिनिधसभामा कुर्सी मिलाइँदै
यसअघि संविधानसभा बैठक बस्ने हलमा प्रतिनिधिसभाको बैठक बस्नेछ। सम्मेलन केन्द्रको सबैभन्दा ठूलो हलमा उक्त बैठक बस्नेछ। करिव ३७८ वटा कुर्सीको व्यवस्था उक्त हलमा गरिएको छ ।
 
हलको बीचमा प्रतिनिधिसभा सदस्यहरु बस्नेछन्। ग्यालरीको दुई छेउ खाली रहनेछ। माथिको लवीमा पत्रकार तथा विशिष्ट व्यक्त बस्ने व्यवस्था गरिएको छ।
 
अहिले उक्त हलका कुर्सी फेरिँदैछ भने कार्पेट पनि फेरिनेछ। प्रतिनिधिसभा हलको काम एक साताभित्र सम्पन्न हुनेछ।


 
राष्ट्रियसभामा रातो, निलोमा प्रतिनिधिसभा
यसअघि राष्ट्रियसभा र प्रतिनिधिसभाको रङ एकै भए पनि अहिले दुई रङको व्यवस्था गरिएको छ। अन्तर्राष्ट्रिय प्रचलन अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभाको रङ फरक राख्न लागिएको हो। राष्ट्रियसभामा रातो रङको प्रयोग हुनेछ। 
 
प्रतिनिधिसभाको हलको पर्दादेखि कुर्सीको रङसमेत निलो हुनेछ। जस अनुसार प्रतिनिधिसभा बैठक कक्षका कुर्सीहरुमा निलो रङको खोल लगाइँदैछ।

Tata
GBIME
Nepal Life