कोरला ड्राइपोर्टले जगायो आशा, चीनतर्फ भन्सार कार्यालय धमाधम बन्दै, के के हुँदैछ काम?

बिजमाण्डू
२०७४ माघ १ गते ११:४२ | Jan 15, 2018
कोरला ड्राइपोर्टले जगायो आशा, चीनतर्फ भन्सार कार्यालय धमाधम बन्दै, के के हुँदैछ काम?
काठमाडौं। उपल्लो मुस्ताङको चीनसँग जोडिएको कोरला नाकामा नेपालतर्फ सुक्खा बन्दरगाह निर्माणका लागि दोस्रो चरणको विस्तृत सम्भाव्यता अध्ययन सुरु भएको छ। 
 
भौगोलिक रुपले संवेदनशील मानिएको कोरलामा सुक्खा बन्दरगाह निर्माणका लागि यसअघि नै एक चरणको पूर्व सम्भाव्यता अध्ययन भने भैसकेको थियो। उक्त सम्भाव्यता अध्ययनले कोरलामा सुक्खा बन्दरगाह निर्माण गर्न सकिने प्रतिवेदन दिएकाले दोस्रो चरणमा विस्तृत सम्भाव्यता अध्ययन भैरहेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले जानकारी दिए। 
 
अहिले भैरहेको सम्भाव्यता अध्ययनले कति क्षेत्रफलमा, कस्ता पूर्वाधार र संरचनाहरु ‍आवश्यक, उपयुक्त निर्माणस्थल, लागत, निर्माणका लागि लाग्ने अवधि लगायतको विस्तृत प्रतिवेदन दिने छ। प्रतिवेदनका आधारमा बन्दरगाह निर्माणका प्रक्रिया अघि  बढार्इने समितिले जनाएको छ। 
 
एक बर्षमा प्रतिवेदन तयार भएपछि कन्स्ट्रक्सनको काम अघि बढ्ने  समितिका निर्देशक बस्नेतले बताए। निर्माण प्रक्रिया अघि बढाउनु अघि एक पटक चीनियाँ पक्षसँग विस्तृत रुपमा छलफल र सम्झौता गरिने समितिका निर्देशक बस्नेतले जानकारी दिए। बन्दरगाह निर्माण नेपाल सरकारले आफ्नै लगानीमा गर्ने छ। 
 
चीन सरकारले  कोरलामा आफुतर्फ पर्ने भुभागमा भन्सार कार्यालय निर्माण करिव ८० प्रतिशतभन्दा बढी सकिसकेको छ । आगामी तीन महिनामा तयार हुने गरी तिब्वततर्फको कोरला नाका नजिकै चीनले भन्सार कार्यालय निर्माण गरिरहेको हो।  
 
नेपाल तर्फबाट पनि कालीगण्डकी करिडोर अन्तर्गत नवलपरासीको गैंडाकोटदेखि कोरलासम्मको करिव ४ सय ३५ किलोमिटर सडक निर्माण धमाधम भैरहेको उत्तरदक्षिण व्यापारिक मार्ग आयोजनाले जनाएको छ। आयोजनाका अनुसार आगामी तीन बर्षमा सडक निर्माण सक्ने लक्ष्य रहेको छ। 
 
नेपाल तर्फबाट राष्ट्रिय गौरवको आयोजनाका रुपमा कालीगण्डकी करिडोर विकास धमाधम हुनु र चीन तर्फ भन्सार कार्यालय निर्माण अन्तिम चरणमा काम भैरहनुले बन्दरगाह निर्माण गर्न दुवै देश इच्छुक रहेको प्रष्ट देखिन्छ।
 
कोरला नाकाबाट तिब्वतको मुख्य राजमार्गको ढुङगासेन जोड्ने ४५ किमी सडक चीन क्षेत्रमा पर्दछ। नेपालबाट कोरलासम्म र चीनले पनि कोरलाबाट ढुङगासेनसम्म सडक स्तरोन्नती गरे दुवै देशले लाभ लिनसक्ने समितिका अधिकारीहरुले बताएका छन्।
 
कोरला नाका खुलार्इ व्यापार विस्तार गर्न सरकारले अध्यागमन कार्यालय र सुरक्षा निकायका लागि जग्गा उपलब्ध गरार्इसकेको छ। कोरलामा सशस्त्र प्रहरीको पोष्ट र लोमान्थाङमा सेना राख्नका लागि व्यारेक राख्ने काम भैरहेको समितिले जनाएको छ।  
 
कोरलामा २०६४ सालमा बन्दरगाह निर्माण गर्ने भनि प्रक्रिया अघि बढाएपनि राजनीतिक अस्थिरताले ओझेलमा पर्दै आएको नेपाल इन्टरमोडल यातायात विकास समितिका एक अधिकारीले बताए। 
 
सरकारले मुलुकमा व्यापारिक सहजीकरणका लागि भन्सार विन्दुलार्इ आधुनिकीकरण गर्दै  सुक्खा बन्दरगाहमा पूर्वाधार मजवुत बनाउदै लैजाने योजना अघि सारेको छ भने व्यापार सहजीकरणका लागि निर्माणाधीन, निर्माण प्रक्रियामा रहेका तथा सम्भाव्यता अध्ययन भैरहेका बन्दरगाहको  निर्माण प्रक्रिया अघि बढाउन गृहकार्य थालेको छ।
 
तर बन्दरगाह निर्माणले लक्ष्य अनुसारको गति भने लिन सकेको देखिदैन। सञ्चालनमा रहेका सुक्खा बन्दरगाह पनि त्यति प्रभावकारी हुन सकेको छैन। राजनीतिक अस्थिरताले बन्दरगाह निर्माण प्रभावकारी बन्न सकेको छैन।  
 
अहिले नेपालमा दक्षिणतर्फ विराटनगर, वीरगञ्ज, भैरहवा, काँकडभिट्टा चारवटा सुक्खा बन्दरगाह सञ्चालनमा रहेका छन्। त्यस्तै कन्चनपुरको दोधारा-चाँदनीमा सम्भाव्यता अध्ययन भैरहेको छ।
 
उत्तरतर्फ सिन्धुपाल्चोकको तातोपानी नाका नजिकैको लार्चामा बन्दरगाह निर्माणाधीन अवस्थामा रहेको छ। रसुवाको टिमुरेको डिजार्इन तयार भएको नेपाल इन्टरमोडल  यातायात विकास समितिले जनाएको छ। काठमाडौको चोभारमा बन्न लागेको सुक्खा बन्दरगाह निर्माणका डिजार्इन तयार भैसकेकाले कन्स्ट्रक्सनको काम अघि बढाउने तयारी भैरहेको समितिले जनाएको छ।

Tata
GBIME
Nepal Life