आयोजना सक्न कुलमानको ताकेता, १०२ मेगावाटको मध्य भोटेकोसी दुई बर्षभित्र सक्न निर्देशन

बिजमाण्डू
२०७४ पुष ३० गते ११:२४ | Jan 14, 2018
आयोजना सक्न कुलमानको ताकेता, १०२ मेगावाटको मध्य भोटेकोसी दुई बर्षभित्र सक्न निर्देशन
काठमाडौं। ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको काम जसरी पनि दुईवर्ष भित्रमा सक्न निर्देशन दिएका छन्। 


 
ऊर्जा सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र निर्माण सक्ने सुनिश्चित हुने एकीकृत समय तालिका तयार गरी त्यही अनुसार सबै काम समानान्तर रुपमा अगाडि बढाउन निर्देशन दिएका छन्। 
 
सचिव उपाध्याय र कार्यकारी निर्देशक घिसिङले शनिवार आयोजनाको स्थगलत निरीक्षण गरी आयोजना व्यवस्थापन, परामर्शदाता लाहमेयर र ठेकेदार कम्पनीहरु क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्ट्रक्सन तथा एन्ड्रिज हाइड्रोसँग छलफल गरेका थिए। 
 
सन् २०१७ जुनमा निर्माण सक्ने गरी सुरु गरिएको आयोजनाको काम अहिलेसम्म ४० प्रतिशत मात्रै भएको छ। जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँध स्थलको जग्गा समयमा उपलब्ध गराउन नसक्नु, ठेकेदारले अपेक्षाकृतरुपमा काम गर्न नसक्दा लगायतका कारणबाट आयोजनाको काममा ढिलाई भएको हो। आयोजनाको निर्माण सन् २०१९ को जुनमा सक्ने लक्ष्य राखिएको छ। निर्माण तालिकाले भने अझै अन्तिमरुप पाएको छैन। 


 
प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा सचिव उपाध्यायले स्थलगत निरीक्षणबाट आयोजनाको काम ठेक्का सम्झौता अनुसार हुन नसकेको देखिएको बताए। ‘कामलाई तिब्रता दिन जलशक्ति बढाउनु पर्ने देखिन्छ, ठेकेदारले व्यहोर्दे आएको नगद प्रवाहको समस्यालाई समाधान गरिदिन प्राधिकरण र आयोजनालाई पटक–पटक निर्देशन दिंदै आएका छौं’,उनले भने, ‘सम्झौताअनुसार काम गरिनु पर्छ, कुनै पनि हालतमा आयोजना ढिला हुनुहुँदैन।’ 
 
आयोजनाको बाँधस्थल, सुरुङ, विद्युत गृह लगायत सबैतिर काम भइरहेको छ। बाँधस्थल खन्न सुरु भएको छ भने विद्युत गृह रहने ठाउँ खन्ने काम सकिएको छ। ७.१ किलोमिटर मुख्य सुरुङमध्ये करिव तीन किलोमिटर खनिएको छ। विद्युत गृहमा रहने केही इलेक्ट्रोमेकानिकल उपकरण आयोजना स्थलमा ल्याइसकिएको छ। 
 
कार्यकारी निर्देशक घिसिङले आयोजनाको काम अपेक्षा अनुसार अगाडि बढ्न नसकेको बताए। उनले आयोजनाको काम अहिले सबै तर्फबाट भइरहेता पनि प्रगति सन्तोषजनक नरहेको उल्लेख गरे। 


 
‘आयोजनाको चार वर्ष बितिसकेको छ, अव दुई वर्षभित्रमा जसरी पनि सक्नु पर्छ’, उनले भने, ‘एकीकृत तालिका बनाएर सोहीअनुसार हरेक काम समानान्तररुपमा अगाडि बढाउनु होस्, अब आयोजना ढिलाई गर्नेलाई छुट दिन सकिँदैन।’ 
 
दुई वर्षभित्र निर्माण सक्ने गरी कामदार थपी निर्माणलाई तिब्रता दिन, बाँधस्थलको काममा विशेष ध्यान दिन, निर्माण सामाग्रीको पर्याप्त व्यवस्था गर्न, ठेकेदारले व्यहोरिहेको नगद प्रवाहको समस्यालाई तत्काल समाधान गर्न निर्देशन दिए। घिसिङ चिलिमे कम्पनीको प्रवन्ध सञ्चालक रहेका बेला आयोजना अगाडि बढाइएको थियो। 
 
आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङसीले ठेक्का लिएको छ। इलेक्ट्रिमेकानिकल तर्फको काम भने एन्ड्रिजले गरिरहेको छ। 
 
१२ अर्ब २८ करोड अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ। चिलिमे कम्पनीको अगुवाईमा निर्माण भइरहेको आयोजनामा प्राधिकरण, सिन्धुपाल्चोका चार इन्भेष्टमेन्ट कम्पनीहरु, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, सिन्धुपाल्चोकबासी, सर्वसाधारण लगायतको लगानी रहने छ। 
 
आयोजनाबाट वार्षिक वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुने छ। आयोजनाले विद्युत बिक्रीबाट वार्षिक दुई अर्ब ९० करोड ४३ लाख रुपैयाँ आम्दानी गर्ने छ।

Tata
GBIME
Nepal Life