दोब्बर लागतमा बनेको चमेलियाको १५ मेगाबाट राष्ट्रिय प्रसारणमा, दार्चुलाबासी अध्याँरोमै

रासस
२०७४ पुष २८ गते २१:०१ | Jan 12, 2018
दार्चुला। चमेलिया जलविद्युत आयोजनाले आजदेखि १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडेको छ । 
 
तीस मेगावाट क्षमताको आयोजनाको एक युनिट अर्थात् १५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए । “आज दिउँसो ३:३५ बजे ग्रिडमा सिन्क्रोनाइज गरेका छौँ”  दाहालले भने।
 
आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा साढे दुई सय गुणा बढी समय लागेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । रु आठ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब १६ अर्ब लाग्ने अनुमान गरिएको छ ।आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सिजिजिसी) ले निर्माण गरिरहेको छ ।  प्राधिकरणको ढिलासुस्तीका कारण चमेलियाको बिजुली यहाँका बासिन्दाले तत्काल उपभोग गर्न नपाउने भएका छन् । 
 
प्राधिकरणले स्थानीयस्तरमा विद्युत् प्रसारण लाइन र सबस्टेसन समयमै निर्माण नगरेकाले जिल्लामै उत्पादन भएको बिजुली बाल्नबाट जिल्लावासी नै वञ्चित भएका हुन् । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीबाट उत्पादन भएको विद्युतको पहिलो अधिकार भए पनि संरचना निर्माण नहुँदा तत्काल स्थानीयवासीले बिजुली उपभोग गर्न पाउने अवस्था छैन । 
 

Tata
GBIME
Nepal Life