शंकर र अम्बे समूहको थप तीन सिमेन्ट उद्योग आउँदै, ३० अर्ब लगानी, गोल्छा समूह पनि मिसियो

बिजमाण्डू
२०७४ पुष २६ गते १४:५८ | Jan 10, 2018
शंकर र अम्बे समूहको थप तीन  सिमेन्ट उद्योग आउँदै, ३० अर्ब लगानी, गोल्छा समूह पनि मिसियो


काठमाडौं। सिमेन्ट र स्टील उद्योगमा आक्रामक लगानी गरिरहेको शंकर समूह र अम्बे समूहको संयुक्त लगानीमा तीन वटा सिमेन्ट उद्योग थपिने भएका छन्। समूहले हेटौंडा, नवलपरासी र सिराहाको मिर्चैयामा उद्योग स्थापना गरिरहेका छन्।


 
तीन उद्योगमा झण्डै ३० अर्ब रुपैयाँ बराबरको लगानी हुनेछ। हेटौंडामा स्थापना भएको रिद्धिसिद्धि सिमेन्टले तीन महिनाभित्र उत्पादन थाल्दैछ भने मिर्चैया र नवलपरासीको रामग्राममा उद्योगको पूर्वाधारको काम सुरु भएको छ।
 
समूहका अनुसार रिद्धिसिद्धिमा १० अर्ब, मिर्चैयाको सौर्य सिमेन्टमा १५ अर्ब र नवलपरासीको जगदम्बा सिमेन्टमा २ अर्ब २५ करोड रुपैयाँ लगानी हुनेछ। सौर्य सिमेन्टमा यो दुर्इ समूह वाहेक गोल्छा समूह पनि सहभागी छ।
 
हेटौंडाको उद्योगले रिद्धिसिद्धि ब्राण्डमा सिमेन्ट बजारमा ल्याउनेछ। यो उद्योगबाट दैनिक २८ सय टन सिमेन्ट उत्पादन हुनेछ। उद्योगबाट सिमेन्ट उत्पादन हुन थालेपछि सबैभन्दा बढी क्षमताको सिमेन्ट उत्पादन गर्ने समूह हुने छ। अहिले चिनियाँ संयुक्त लगानीको होङसी शिवम् सिमेन्टले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने तयारी गर्दैछ। यसको पूर्ण क्षमता भने १२ हजार मेट्रिक टन हो।
 
सन् २००१ मा भैरहवाबाट सिमेन्ट उद्योगमा हात हालेको समूहले सुरुवातमा ९ सय टन सिमेन्ट दैनिक उत्पादन गरिरहेको थियो। वीरगंजमा शाखा उद्योग स्थापना गरेर त्यहाँबाट दैनिक १८ सय टन सिमेन्ट उत्पादन गरिरहेको छ।
 
होङसी शिवम सिमेन्टको प्लान्टबाट नजिकै कम्पनीले दैनिक ३१ सय टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित उद्योगको पूर्वाधारको काम अघि बढाउँदैछ। सुरुमा यो उद्योग ग्राइन्डिङ भए पनि पछि क्लिंकरमा आधारित उद्योगमा रुपान्तरण गरिने स्रोतले जानकारी दियो।
 
नवलपरासीको रामग्राम नगरपालिकामा स्थापना हुन लागेको उद्योगमा कुल दुई अर्ब २५ करोड रुपैयाँ लगानी हुनेछ। अहिलेसम्म ग्राइन्डिङ युनिट रहेको समूहको हेटौंडास्थित उद्योग भने क्लिंकरमा आधारित हुने छ।
 
‘सिमेन्ट उद्योगमा हामीले सम्भावना देखेर हात हालेका हौं। अब सानो लगानीको उद्योगले प्रतिस्पर्धा गर्न सकिदैंन त्यसैले ठूलो क्षमताको उद्योग लगाउन थालेका हौं’ शंकर समूहका प्रवन्ध निर्देशक साहिल अग्रवालले भने।
 
उनका अनुसार, धमाधम उद्योग स्थापनाको काम भइरहेको छ। तीन महिनाभित्र सिमेन्ट बजारमा आउने छ। रिद्धिसिद्धि ब्राण्डमा ओपिसी, पिपिसी र पिएससी सिमेन्ट बजारमा आउने उनले जानकारी दिए। उद्योगमा एनएमबी बैंकको अगुवार्इमा हिमालयन बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, सेन्चुरी कमर्सियल बैक, लक्ष्मी बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक तथा सोसाइटी डेभलपमेन्ट बैंकले ४ अर्ब ५८ करोड रुपैयाँ ऋण लगानी गरेका छन्।
 
‘हामीले वर्ल्ड क्लास मेसिनरी प्रयोग गरेका छौं। उपभोक्ताका लागि गुणस्तरीय सिमेन्ट दिने हाम्रो लक्ष्य हो’ उनले भने, हामीले उद्योग स्थापना गर्दा कुनै सम्झौंता नगरी लगानी गरेका छौं।‘
 
समूहले यो उद्योगलार्इ केही वर्षभित्रै दोब्बर क्षमतामा विस्तार गर्दैछ। अग्रवालले केही वर्षभित्रै उद्योगको क्षमता दैनिक पाँच हजार टन पुर्याइने जानकारी दिए। हेटौंडाको उद्योगसँगै पचास वर्षलार्इ पुग्ने चुनढुंगा खानी समूहसँग छ। उद्योगका लागि १८ मेगावाट विजुली आवश्यक हुन्छ। नवलपरासीमा उद्योगको पूर्वाधारको काम सुरु भइसकेको छ।
 
सौर्यमा मिसियो गोल्छा
सिमेन्ट उद्योगमा एग्रेसिभ रहेको यो समूहसँगै गोल्छा समूहको लगानीमा तीन हजार टनको सिमेन्ट उद्योग खुल्दैछ। ’१५ अर्ब लगानीमा मिर्चैयामा उद्योगको काम सुरु भएको छ। 
 
उद्योगबाट तीन हजार टन सिमेन्ट उत्पादन हुन्छ’ प्रवन्ध संचालक अग्रवालले भने। उनका अनुसार सौर्य ब्राण्डमा तीनथरि सिमेन्ट बजारमा आउनेछ। उद्योगका लागि आवश्यक खानी कटारीमा छ। 
 
कटारीमा रहेको खानीले पचास वर्षभन्दा बढी समय धान्छ। अग्रवालका अनुसार कटारीको चुनढुंगाको गुणस्तर उदयपुर ग्रेडको भएकोले सिमेन्ट समेत गुणस्तरीय हुनेछ।

Tata
GBIME
Nepal Life