अब जग्गाको कित्ताकाट डिजिटल प्रविधिबाट, आकाशमा घाम लागेको बेला नक्साको फाइल खोज्नुनपर्ने

बिजमाण्डू
२०७४ पुष २६ गते १०:०३ | Jan 10, 2018
अब जग्गाको कित्ताकाट डिजिटल प्रविधिबाट, आकाशमा घाम लागेको बेला नक्साको फाइल खोज्नुनपर्ने

काठमाडौं। आज भन्दा एक वर्ष अघिसम्म धेरै जसो नापी कार्यालयले जग्गाको कित्ताकाट गर्न आकाशको भर पर्नुपर्थ्यो। तर आगामी आर्थिक वर्षको सुरुवात सँगै सबै नापी कार्यालयले कम्प्युटरबाट कित्ताकाट र नक्सा दिने छन्।

Tata
GBIME
Nepal Life

करिब ४ वर्ष अघिदेखि आंशिक रुपमा जग्गाको कित्ताकाट र नक्सा कम्प्युटरबाट प्रिन्ट गर्न सुरु गरिएको थियो। पुरानो नापी नक्सा अनुसार कम्प्युटरमा डिजिटलाईज गर्दै नयाँ कित्ताकाटलाई कम्प्युटरबाट दिन सुरु गरिएको थियो। जसले गर्दा नक्सा बनाउन वा कित्ताकाट गर्न आकाशमा घाम पर्खेर बस्नु परेन।

भर्खरै मात्र नापी विभागले चाँडोभन्दा चाँडो सबै नापी कार्यालयलाई कम्प्युटरबाट कित्ताकाट र नक्सा दिने काम गर्न निर्देशन दिएको छ।

काठमाडौंस्थित डिल्लीबजार नापी कार्यालय पूर्ण रुपमा कम्प्युटर प्रविधिमा जाने पहिलो नापी कार्यालय हो।

०७३ साउन १ गतेदेखि पूर्ण रुपमा कम्प्युटरबाट मात्रै कित्ताकाट र नक्सा दिने काम गरिरहेको डिल्लीबजार नापी कार्यालयका प्रमुख मग्नु दत्तले बिजमाण्डूलाई बताए।'प्राय जसो नापी कार्यालयले कम्प्युटर प्रणालीबाट कित्ताकाट गर्न सुरु गरेका छन्।' दत्तले भने, 'उनीहरुले पुरानो प्रविधिबाट पनि कित्ताकाट गरिरहेका छन्। तर डिल्ली बजार नापी कार्यालयले भने पुरानो प्रविधिबाट कित्ताकाट गर्न छोडेको करिब डेढ वर्ष भएको छ।'

घाम कुर्न पर्दैन्
पुरानो प्रविधिबाट कित्ताकाट गर्न सबै भन्दा पहिला मौसमलाई कुर्नुपर्थ्यो। आकाशमा राम्रो घाम नलागे सम्म कित्ताकाट गर्न सकिदैन थियो। दत्तले भने, आकाशमा घाम लागेको बेला भएपनि नक्साको फाईल खोज्न घण्टौ लाग्थ्यो। फाईल भेटायो कित्ता नम्बर खोज्न फेरी घण्टौ लाग्थ्यो।

एकजनाको कित्ताकाट गर्न ४ देखि ५ घण्टा सम्म पनि समय लागेको थियो। अहिले भने कित्ताकाट गर्न लाग्ने समय ५ मिनेटमा झरेको छ।अहिले पुरानो फाईल खोज्नुपर्दैन। कम्प्युटरमा सम्बन्धित ठाउँ खोज्ने बित्तिकै सबै नक्सा स्क्रिनमा देखिन्छ। कित्ता नम्बर पनि प्रस्ट देखिन्छ।

पहिला आना, पैसा र दामका अलग अलग टायल जोडेर कागज माथी पेनसिलले कित्ताकाट गर्नुपर्थ्यो। अहिले कम्प्युटरले कित्ता काटि दिन्छ।
१५ जना कर्मचारीले गर्ने काम ५ जनाले गर्न सक्छन्। सबै तिर कम्प्युटरबाट कित्ताकाट अनिवार्य गरियो भने आगामी दिनमा नापी कार्यालयमा कर्मचारी घटाउनु पर्ने दत्त बताउँछन्।

हाते तराजु र डिजिटल तराजुमा तौल गरे जस्तै
पुरानो तराजुमा एक किलो तौल गर्दा कहिले ९०० ग्राम मात्रै आउने र कहिले एक किलो ५० ग्राम पनि आउन सक्छ।

डिजिटल तराजुमा राखेर हेर्दा मात्रै कति ग्राम कम वा बढी भयो भनेर थाहा पाइन्छ। डिजिटल तराजुमा तौल गरेको वस्तु जति पटक जहाँ लगेर तौल गर्दा पनि तौलमा फरक पर्दैन। त्यसै गरि डिजिटल प्रविधिबाट कित्ताकाट गरिएको जग्गा पनि जति पटक जहाँबाट कित्ताकाट गरेपनि फरक नपर्ने उनले दावी गरे।

पुरानो प्रविधिबाट कित्ताकाट गर्दा एक रोपनीमा एक आना जग्गा नै तल माथी हुन्थ्यो। तर अहिले एक पैसा पनि तल माथी हुँदैन।

पुरानो कित्ताकाट परिवर्तन नहुने
पहिलेनै कित्ताकाट गर्दा कसैको एक दुई दाम वा पैसा तलमाथि भएपनि त्यसलाई परिवर्तन गर्न नसकिने दत्तले बताए।

तर कसैले चार आना किनेको ठाउँमा तीन आना मात्रै पायो भने हेरफेर हुन्छ। अव नयाँ कित्ताकाटमा भने एक ईन्च जमिन पनि तलमाथी नहुने भएकाले कसैलाई पनि घाटा नहुने उनले बताए। 

भारतबाट आयात हुने वस्तु घटे
पुरानो प्रविधिमा कित्ताकाट गर्न वा नक्सा बनाउन चाहिने अमुनियाँ ग्यास र पेपर भारतबाट आयात गर्नु पर्थ्यो। तर कम्प्युटरबाट कित्ताकाट गरेपछि उक्त ग्यास र पेपरको आवश्यकता पर्दैन। जसले गर्दा थोरै भएपनि आयात प्रतिस्थापन हुन्छ।

नक्सासँग सम्बन्धित जियोमेटिक पढाईको लागि पनि पहिला विदेशकै भर पर्नु पर्थ्यो। अहिले भने जियोमेटिक नेपालमै पढाई हुन थालेको छ। नेपालमै पढेको नयाँ पुस्ताले नापी कार्यालयमा जागिर सुरु गरिसकेका छन्।

डिजिटलका लागि केही समय कुर्नुपर्ने
डिजिटल कित्ताकाटका लागि आवेदन दिने सकिने दत्तले बताए।तर नक्साको डाटा कम्प्युटरमा नराखेमा तत्कालै कित्ताकाट भने गर्न नसकिने उनले बताए।

‘तर म केहि दिन पर्खिन्छु मलाई कम्प्युटरबाटै कित्ताकाट गरिदिनुस भनेमा नापी कार्यालयले अपडेट गरेर कित्ताकाट गरिदिन्छौं,उनले भने, यसरि डिजिटलमा कित्ताकाट गर्दा किन्ने बेच्ने वा अंशबण्डा गर्दा पनि सबैले समान फाईदा लिन पाउँछन्।‘

विगतमानै कित्ताकाट गरेको जग्गा अहिले केहि दाम वा पैसा तलमाथी भएमा कार्यालयले केही पनि गर्न सक्दैन।उनका अनुसार अब कित्ताकाट गर्दा भने एक इन्च पनि तल माथि हुँदैन।