गोल्डस्टार जस्तै अन्य जुत्ता चप्पल भारत निकासी गर्न किन सकिन? उद्योगीको यस्तो छ तर्क




विराटनगर।पाँच महिना अघि गोल्डस्टार जुत्ताको उत्पादक किरण सुजले पोखरामा डिलर मिट गर्यो।उद्योगले गरेको डिलर मिटमा भारतीय डिलर पनि सहभागी थिए।

नेपालको डिलर मिटमा भारतीय कसरी सहभागी भए? नेपालमा उत्पादन हुने गोल्डस्टार जुत्ता भारतमा सबैभन्दा बढी निकासी हुन्छ।वार्षिक दुर्इ अर्ब हाराहारीमा गोल्डस्टार जुत्ता भारत निकासी हुने भएकोले भारतीय डिलर सम्मेलनमा आएका हुन्।किरण सुजले गोल्डस्टार जुत्ता निकासी गर्न थालेको वर्षौ भइसकेको छ।गोल्डस्टार जुत्ता निकासी हुन थालेपछि उद्योगीले भारतीय बजारलार्इ हेरेर उद्योग स्थापना हुने क्रम बढ्दो छ। विराटनगरस्थित सुरभि पोलिमर्सका सञ्चालक विनय चौधरीले जुत्ताचप्पलको निर्यातमा अनुकूल वातावरण नबनाएको बताउँछन्।

सुरभि पोलिमर्सले हाइलाइफ ब्रान्डका जुत्ताचप्पल उत्पादन गरिरहेको छ ।‘नेपाली श्रमबजार सस्तो छ।तर हाम्रो नीतिनै निकासीका लागि बाधक छ, उनले भने, ‘अहिले पनि २० प्रतिशत भन्सार महसुल तिरेपछि सबै प्रकारका जुत्ताचप्पलको आयात गर्न पाइन्छ । तर जुत्ताचप्पलमा लाग्ने धेरै जसो कच्चा पदार्थको भन्सार महसुल १५ प्रतिशत माथि छ।उनले स्वदेशी उद्योगलार्इ संरक्षण गर्न कच्चा पदार्थको भन्सार १५ प्रतिशत कायम गर्नुपर्ने बताउँछन्।

‘सामान्यभन्दा सामान्य नागरिकले लगाउने सस्ता र सम्भ्रान्तले प्रयोग गर्ने महँगा जुत्ताचप्पलमा एकै दरको २० प्रतिशत भन्सार महसुलले राजस्व प्रणालीमा प्रगतिशीलता देखिँदैन’, चौधरीले भने, ‘समृद्धि र विकासको नारा दिएर गठन हुने सरकारले स्वदेशी उद्योगको संरक्षण र रोजगारीमा अभिवृद्धि गर्न आवश्यक छ । यसका लागि जुत्ताचप्पल र यसका कच्चा पदार्थको भन्सार महसुलमा आमूल परिमार्जन गर्नु जरुरी छ ।’जुत्ताचप्पलको पैठारीमा न्यून विजकीकरण अर्को समस्या भएको उनले बताए ।

चौधरीका अनुसार भारतमा जिएसटी लागु भएपछि र नेपालका भन्सारले भारतबाट गरिने पैठारीमा जिएसटी बिललाई अनिवार्य गरेपछि भारतीय जुत्ताचप्पलमा गरिने न्यून विजकीकरणमा ९० प्रतिशत नियन्त्रण भएको बताए।भारतबाट आयात गरिने जुत्ताचप्पमा न्यून विजकीकरणको सम्भावना अब न्यून नै भए पनि चोरीपैठारीको मात्रा भने उच्च छ । विशेषतः चीनबाट गरिने पैठारीमा न्यून विजकीकरण अत्यधिक हुने गरेको उनले उल्लेख गरे ।




‘खुल्ला सिमानाको फाइदा उठाउँदै अनधिकृत व्यापार गर्नेहरूले जुत्ताचप्पलको अवैध पैठारी गरिरहेका छन् तर नेपाल सरकार यसलाई नियन्त्रण गर्न विफल भएको छ’, उनले भने, ‘यसले गर्दा भारतमा जिएसटी लागे पनि हामीलाई नलागेसरह भएको छ । एकातिर चोरी पैठारी र अर्कातिर न्यून विजकीकरणले गर्दा नेपालका जुत्ताचप्पलको प्रतिस्पर्धी क्षमता बढ्न सकेको छैन ।’

जुत्ताचप्पलको आयातमा न्यून विजकीकरण गरिएको पुष्टि गर्दै चौधरीले भने, ‘अघिल्लो आर्थिक वर्षमा करिब ४ करोड जुत्ताचप्पल आयात गरिएको छ र यसको औसत मूल्य हिसाब गर्दा एक जोरको ८८ रुपैयाँ परेको देखिएको छ । जबकि ८८ रुपैयाँमा कुनै प्रकारको जुत्ता आउँदैन । राम्रो जुत्ताको त तुना पनि आउँदैन । यसरी विदेशी जुत्ता कम्पनीकै उत्पादनमा न्यून विजकीकरण भएको स्पष्ट छ ।’चौधरीले जुत्ता उद्योगले पैठारी गर्ने कच्चा सामग्रीमा भने न्यून विजकीकरण नगर्ने दाबी गरे । उनले एक जोर जुत्ताचप्पलको ७५ देखि ५ सय सम्मको कच्चा सामग्री आयात हुने जानकारी दिए ।

चौधरीका अनुसार सरकारले जुत्ताचप्पलको निर्यातको वातावरण बनाउने हो भने नेपालमै कच्चा सामग्री उत्पादन गर्ने बातावरण बनाउनुपर्छ।‘खाडी राष्ट्रका पेट्रोल खानीबाट निस्किएको एक प्रकारको बाई प्रोडक्ट चीनमा निर्यात हुन्छ र यही सामग्रीबाट चिनले जुत्ताचप्पलको सोल बनाउँछ । सरकारले अनुकूल वातावरण बनाइदिने हो भने सोलको कारखाना नेपालमै खोल्न सकिन्छ ।’उनले भने।

चौधरीले नेपाली जुत्ताचप्पल उद्योगले स्वदेशमै उत्पादित छालाबाट पनि जुत्ताचप्पलको उत्पादन फाट्टफुट्ट भइरहेको स्पष्ट पारे । उनले सरकारले निर्यातलाई प्रोत्साहन गर्ने नीति भएमा छाला उद्योगको बढ्ने बताए।उनले भने, ‘नेपालको श्रम बजार सस्तो छ भनेर मात्र निर्यातमा वृद्धि हुने होइन । श्रम एउटा मुख्य पाटो मात्र हो । सुधार गर्नुपर्ने पाटा अझै छन् । अहिले स्वदेशका जुत्ताचप्पल उद्योगले पूरा नेपालको ६० देखि ६५ प्रतिशत माग मात्र धानिरहेका छन् । बाँकी ४० प्रतिशत आयात प्रतिस्थापन आवश्यक छ ।’

भारतसित वार्षिक रूपमा बढिरहेको व्यापारघाटालाई कम गर्न जुत्ताचप्पलको निर्यात सहयोगी हुने उनले बताए।‘नेपालकै स्तरका जनता छिमेकको भारतका विहार, युपी, उत्तराखण्ड, असम र पश्चिम बङ्गालजस्ता राज्यमा छन् । नेपालकै रहनसहन, रीतिरिवाज र जीवनशैली मिल्छ । त्यसैले यहाँ उत्पादित जुत्ताचप्पलको मुख्य बजार ती राज्यलाई बनाउन सकिन्छ ।’चौधरीले भने।



Share this Story

   

गोल्डस्टार जस्तै अन्य जुत्ता चप्पल भारत निकासी गर्न किन सकिन? उद्योगीको यस्तो छ तर्क को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.