फलामे डन्डीको मूल्य किलोमा १० रुपैयाँले बढ्यो, डन्डी उत्पादक भन्छन्- ‘मूल्य बढाउनु बाध्यता’

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ पुष २२ गते ०८:२४ | Jan 6, 2018
फलामे डन्डीको मूल्य किलोमा १० रुपैयाँले बढ्यो, डन्डी उत्पादक भन्छन्- ‘मूल्य बढाउनु बाध्यता’
विराटनगर ।भारत र चीनमा एकै पटक कच्चा पदार्थ बिलेटको मूल्य बढेपछि नेपालमा फलामे डन्डीको भाउ बढेको छ।

Tata
GBIME
Nepal Life

तस्विर:राधेश्याम पटेल

एक महिनायता फलामे डन्डीको मूल्यमा प्रति किलोग्राम ७ देखि १० रुपैयाँसम्मले वृद्धि भएको हो ।विशाल ग्रुपका अध्यक्ष एवम् कमला रोलिङ मिलका सञ्चालक जगदीश अग्रवालका अनुसार चीनमा प्रदूषणका कारण त्यहाँको सरकारले चार महिनायता बिलेटको उत्पादनमा नियन्त्रण गरेको छ । जसका कारण प्रति मेट्रिक टन ४ सय ५० अमेरिकी डलरमा पाइँदै गरेको बिलेटको मूल्य ५ सय ५० देखि ५ सय ८० डलरसम्म पुगेको छ ।
 

मूल्यवृद्धि भएपछि चीनबाट बिलेटको आयात लगभग बन्द अवस्थामा पुगेको अग्रवालले बताए।फलामे डन्डीको मूल्यवृद्धि हुुनुमा ढुवानीका साधनको अभाव र भाडावृद्धि पनि अर्को कारण रहेको उनले बताए। त्यसैगरी भारत सरकारले त्यहाँका फलाम खानीमा अनुगमन सुरु गरेपछि चार महिनायता बिलेटको उत्पादनमा ह्रास आएर मूल्यमा चाप परेको छ।भारतमा धेरै खानी अवैध रूपमा सञ्चालन गरिँदै आएका थिए । त्यहाँको सरकारले खानीमा अनुगमन सुरु गरेपछि अवैध रूपमा चलाइएका खानी बन्द भएका छन् ।
 
भारतका धेरै फलाम खानीले सरकारलाई वर्षौंदेखि रोयल्टी बुझाएका छैनन् । फलाम खानीले त्यहाँको सरकारलाई बुझाउनु पर्ने रोयल्टी १६ हजार करोडभन्दा बढी छ ।मोदी सरकारले सन् २०१७ भित्रमा सबै रोयल्टी चुक्ता गर्न त्यहाँका खानीलाई निर्देशन गरेको थियो । यसका कारण आधाभन्दा बढी खानी बन्द अवस्थामा छन् ।
 
उद्योग सङ्गठन मोरङका पूर्व अध्यक्ष एवम् पशुपति आइरनका सञ्चालक अशोक मुरारकाले भने, ‘उत्पादनमा एक्कासि ठूलो ह्रास आएकाले भारतको अहिलेको उत्पादनले त्यहीँको आन्तरिक खपत धात्र सकिरहेको छैन, नेपालमा निर्यात गर्ने त उनीहरूको दोस्रो प्राथमिकता हो । भारतमै विकासनिर्माणका काम तीव्र गतिमा भइरहेको अवस्था छ । फलामे डन्डीको जति उत्पादन भए पनि त्यहीँ खपत भइरहेको छ । त्यसैले भनेका बेलामा भारतबाट बिलेट ल्याउन गाह्रो भएको छ ।’
 
चार महिनाअघि भारतमा बिलेटको मूल्य प्रति मेट्रिक टन ४ सय २० देखि ४ सय ५० डलरसम्म थियो । अहिले सबैभन्दा सस्तो भनिने कोलकाताको दुर्गापुरमा ५ सय १० डलर छ । भारत सरकारको पूर्ण स्वामित्वमा आन्ध्र प्रदेशको विशाखापट्टनममा सञ्चालित राष्ट्रिय इस्पात निगमको बिलेट उच्च गुणस्तरको भए पनि केही महँगो छ । साथै त्यहाँबाट नेपालसम्म बिलेट ल्याउने ढुवानी खर्च पनि अन्य स्थानका तुलनामा उच्च रहेको मुरारकाको भनाइ थियो । 
 
नेपालमा चार महिनायता उडिसाको राउरकेलाबाट बिलेटको आयात गरिँदैछ । त्यहाँबाट प्रति मेट्रिक टन ५ सय ३० देखि ५० डलरसम्ममा आयात भइरहेको मुरारकाले जानकारी दिए ।भारतमा कोलकाताको दुर्गापुर, आन्ध्र प्रदेशको विशाखापट्टनम, झारखण्डको जिन्दल स्टिल, जमसेदपुर र उडिसाको राउरकेला लगायतका स्थान फलाम व्यापारका लागि प्रसिद्ध छन् ।
 
‘यो कमोडिटी आइटम भएकाले मूल्यमा दैनिक ५–७ डलरको घटबढ भइरहनु सामान्य हो’, उनले भने, ‘अहिलेको मूल्यवृद्धि चाहिँ अचाक्ली र कसैले नसोचेको नै हो ।’नेपाल फलामे छड उत्पादक संघका पूर्व अध्यक्ष एवं हामा स्टिलका सञ्चालक बालकृष्ण श्रेष्ठले कच्चा पदार्थको यस्तै अभाव भएमा आगामी महिनादेखि नेपालमा पनि फलामे छडको अभाव हुनसक्ने दाबी गरे ।
 
‘नेपालमा सानाठुला गरी फलामे डन्डीका जम्मा ३२ उद्योगमध्ये हाल १२ वटामात्र सञ्चालित छन्’, उद्यमी श्रेष्ठले भने, ‘हेर्दै जानुहोला यस्तै स्थिति हो भने उत्पादनमा कटौती गर्नुपर्ने हुन्छ, दुई–चार उद्योग त अर्को महिना नै बन्द हुन्छन् ।’