ओप्पो, साओमी र भिभोले कब्जा गर्यो भारतीय बजार, एग्रेसिभ मार्केटिङ सामु घरेलु ब्राण्ड नाजुक

बिजमाण्डू
२०७४ पुष १८ गते १७:०५ | Jan 2, 2018
ओप्पो, साओमी र भिभोले कब्जा गर्यो भारतीय बजार, एग्रेसिभ मार्केटिङ सामु घरेलु ब्राण्ड नाजुक

कोलकाता। ओप्पो, साओमी र भिभोले भारतीय बजारमा घरेलु ब्राण्डलार्इ कमजोर पारिदिएका छन्। सन् २०१७ को तथ्यांक अनुसार यी तीन ब्राण्डले तीन अर्ब डलर बराबरको बिक्री गरेका छन्।
सस्तोमा उच्च प्रविधिको मोबाइल उत्पादन,  आक्रमक बजार रणनीति र ब्यबस्थापनमा अब्बल रहँदै चिनियाँ ब्राण्डले भारतीय ब्राण्डलार्इ पाखा पारेको हो।

Tata
GBIME
Nepal Life

सस्तोमा गुणस्तरीय उत्पादन गरेकाले चिनियाँ उत्पादनहरुसामु भारतीय ब्राण्ड टिक्न नसकेको बताइएको छ।

भारत भित्रिएको तीन वर्षमै सन् २०१७ मा यी तीनवटै कम्पनीहरुले २२ हजार ५२७ करोड भारुको बिक्री गरेका छन्।

एक बर्ष अघि २ हजार ९१९ करोड भारुको बिक्री गर्न सफल यी तीन चिनियाँ मोबाइलले सन् २०१७ मा बिक्रीमा छलाङ मारेका हुन्।

भारतमा अघिल्लो बर्ष ३३ प्रतिशत रहेको चिनियाँ मोबाइलको बजार यस बर्ष ५० प्रतिशत भन्दा बढीले बिस्तार भएको छ। यसको प्रत्यक्ष प्रभाव भारतीय ब्राण्डहरुमा परेको छ। भारतीय ब्राण्डहरुको बजार भने ३३ प्रतिशतबाट खुम्चिएर १४ प्रतिशतमा समेटिएको छ।

यस्तै सन् २०१७ मा भारतीय बजारमा सामसुङको २७ प्रतिशत, एप्पलको १७ प्रतिशत र लेनेभोको १४ प्रतिशतले बृद्धि देखिएको छ। 
भिभो र ओप्पो स्थिर रुपमा रहेपनि साओमी बजार बिस्तारमा तीब्र र आक्रमक  रुपमा अघि बढिरहेको बताइएको छ। भिभोले सन् २०१७ मा ६ गुनाले बिक्री बढाएको छ। 

दुइ दशकदेखि भारतीय बजारमा रहेको सामसुङले सन् २०१७ मा ३४ हजार करोड रुपैयाँको मोबाइल बिक्री गरेको छ। सामसुङको बिक्रीमा पनि अघिल्लो वर्षको भन्दा २७ प्रतिशतले बृद्धि देखिएको छ।

बिक्री र बितरणमा ठूलो रकम लगानी गर्नुकासाथै सस्तो मूल्यमा उच्च गुणस्तरका सामान बिक्री गर्न सकेकैले भारतीय बजारमा चिनियाँ ब्राण्डको ब्यापक लोकप्रियता छ। जुलाइ देखि सेप्टेम्बरको बिक्रीको तथ्यांक हेर्दा सामसुङ र साओमीको नेक टु नेक कम्पिटिसन देखिएको छ।

भारतको सबैभन्दा ठूलो घरेलु स्मार्टफोन बिक्रेता माइक्रोम्याक्सको बिक्रीमा अघिल्लो वर्षकोभन्दा ४२ प्रतिशतले गिरावट आएको छ । सन् २०१७ मा माइक्रोम्याक्सले ५ हजार ६१३ करोड भारुको मात्र बिक्री  गर्न सफल भयो। यस्तै इन्टेक्स ब्राण्डको बिक्री पनि ३० प्रतिशतले झरेको छ।
यसले सन् २०१७ मा ४ हजार ३६४ करोडको मात्र बिक्री गर्न सक्यो। चिनियाँ कम्पनीको एग्रेसिभ मार्केटिङ मात्र नभइ यी ब्राण्डहरुको फोर जी फिचर्सको सेट नहुनु पनि बजार खुम्चनुको कारण भएको बताइएको छ।

दक्षिण भारतमा २७० वटा सेलफोन रिटेल चेन पूर्विका मोबाइल्सका सिइओ उभराज नटराजन भन्छन्- ‘साओमी भिभो र ओप्पोले बजारमा ठूलो लगानी गर्दै बजारमा बितरणलार्इ मजबुत बनाएको छ। त्यसैले उनीहरुको बजार बृद्धि भैरहेको छ।’

चिनियाँ ब्राण्ड मात्र होइन लेनेभोको मोटोरोला स्मार्ट फोनले पनि भारतीय बजारमा राम्रो उपस्थिती देखाएको छ।
अहिलेसम्म अफलाइन बजार बिस्तार रणनीति अपनाएको ओप्पो र भिभोले हाल अनलाईन सेल्समा बिस्तार आक्रमक पारेका छन्। एमेजन र फ्लिपकार्ट मार्फत उनीहरुले अनलाइन ब्यापारलार्इ फोकस गरेका हुन्।

साओमी इन्डियाका एमडी मनु जैनले कम्पनीले आगामी बर्ष बिक्रीलार्इ दोब्बर बनाउने लक्ष्य राखेको बताए। भारतीय बजारमा तीन बर्षअघि भित्रिएको साओमीले २ दशकदेखि बजारमा रहेको सामसुङको जतिकै बजार हिस्सा बनाएको छ।  दुबैको जुलाइ सेप्टेम्बर बजार हिस्सा २३.५ प्रतिशत रहेको छ।

लेनोभोको मोटोरोलाले बजारको ९ प्रतिशत हिस्सा लिएको छ। बजारमा भिभोले ८.५ र ओप्पोले ७.९ प्रतिशत हिस्सा ओगटेको आइडिसी इन्डियाको बजार सर्वेक्षणले देखाएको छ।
 
साओमी इन्डियाको रेभेन्यु १ हजार ४६ करोड भारुबाट बढेर ८ हजार ३७९ करोड भारु पुगेको छ। यस्तै ओप्पोले अघिल्लो वर्षको ९३३ करोडको बजारलार्इ बस्तार गर्दै ७ हजार ९७४ करोड रेभेन्यू संकलन गरेको छ। अघिल्लो वर्ष ४६.९४ करोड भारु घाटामा रहेको साओमीको खुद नाफा १६३.८६ करोड भारु पुगेको छ।