बाबुको कामलार्इ छोराले दिए ट्विस्ट, चितवनको हर्टिकल्चर फर्म यसरी बन्यो रिट्रिट सेन्टर!

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ पुष ११ गते १४:४७ | Dec 26, 2017
बाबुको कामलार्इ छोराले दिए ट्विस्ट, चितवनको हर्टिकल्चर फर्म यसरी बन्यो रिट्रिट सेन्टर!

काठमाडौं। चितवनको लेक ट्वान्टी थाउजेन्ड फार्म रिट्रिट फरक परिचयका कारण लोकप्रिय भैरहेको छ। यो फार्मले प्रकृतिक र आकर्षक गन्तब्यका रुपमा पर्यटकहरुको ध्यान खिच्न सफल भएको हो ।  नौ बिघामा फैलिएको लेक ट्वेन्टी थाउजेन्ड फार्म रिट्रीट (एलटिके) तीन वर्षदेखि संचालनमा आएको हो। चितवनको चम्पानगर र देवनगरको सिमाना छोएको यो रिट्रिट सेन्टरमा कृषि, पर्यटन र समुदायको फ्यूजन देख्न सकिन्छ।

Tata
GBIME
Nepal Life

चितवनका कृषि विषेशज्ञ डा. शिव लोहनीले ५५ वर्ष अघि  आफ्नै जमीनमा हर्टिकल्चर गर्दै आएका थिए। त्यसबेला दलदल जमीन पुर्न हजारौँ ट्रयाक्टर माटो हालिएको थियो।

बाबुले हर्टिकल्चर गरिरहेकै जमीनमा तीन वर्षअघि छोरा देबेन लोहनीले एग्रिकल्चरल फार्म खोल्ने सोच बनाए। लेक ट्वेन्टी थाउजेन्ड रिट्रीट निर्माणका लागि झण्डै १० करोड लगानी भएको संचालक देबेन लोहनी बताउँछन्।

५ दशकसम्म बिशुद्ध कृषिजन्य प्रयोजनमा लागेको जमीनलार्इ तीन बर्षअघि ब्यावसायिक रुपमा प्रयोग गर्ने सोच आएको देबेनको भनाइ छ। उनी भन्छन्-' बिशुद्ध प्राकृतिक वातावरणमा पर्यटकले आफ्नो फुर्सदको समय विताउन सकुन् भन्ने नै हाम्रो उद्देश्य हो।

देबेनमा यो सोच आउनु अनौठो किन पनि होइन भने उनले अमेरिकाबाट कृषिमा स्नातक र अन्तराष्ट्रिय ब्यापारमा स्नातकोत्तर गरेर नेपाल फर्किएका हुन्।   

युरोप, अफ्रिका, भारत लगायतका देशमा रणनितीक व्यवस्थापक भइ २० वर्ष काम गरेका देबेनले फुर्सदमा घर फर्कदा कृषि फार्ममा ब्यावसायिक रुपान्तरण गर्ने सोच पलाएको बताए। उनी भन्छन्- 'तीन वर्ष अघि जागिरबाट ६ महीना छुट्टी लिएर आएको थिएँ, मनस्थिती बदलियो पुनः जागिरलाई निरन्तरता दिइन।'

फार्म रिट्रीटमा  अर्ग्यानिक बाली कालो धान, खैरो धान, तोरी, फापर लगायत मौसमी तरकारी फलफुल लगाइएको छ। यस्तै पाँच वटा पोखरी, गाई , बाख्रा, राजाहाँस, हाँस, टर्की र कुखुरा पालिएका छन्।

फार्ममा हाल बाइस कोठा, दुईवटा  जेनरल अपार्टमेन्ट, एउटा स्विट अपार्टमेन्ट, एउटा स्टुडियो अपार्टमेन्ट र टेन्ट गरि सय जनालाई सेवा दिन सक्ने क्षमता रहेको छ।

विवाह, ब्रतबन्ध, बैठक  लगायतका समारोहका लागि एलटीकेले ५ हजार ग्राहकका लागि सेवा दिन सक्ने उनले बताए।
'एलटीकेमा पाँचवटा पोखरी, विभिन्न प्रजातिका चराचुरुङ्गी (कीङ फिसर, भुँडीफोर, कोइली, मैना, सुगा, ढुकुर आदि)  अनि पौडीरहेका माछाले प्राकृतिक आनन्द दिन्छ। बिहानीको सुरुवात नै चराचुरुङ्गीको आवाजबाट हुन्छ' – उनी भन्छन्।


अहिले एलटीकेमा ६० प्रतिशत स्वदेशी, २० प्रतिशत युरोपेली र २० प्रतिशत भारतीय तथा अन्य एसियाली पर्यटकहरु आउने फार्मले जनाएको छ।
दुईजना पर्यटकले दिनको ४५ सय रुपैयाँमा तीन पटकको खाना सहितको लजिङको सुविधा फर्मले दिइरहेको छ।  

पर्यटकको मागअनुसार आफ्नै गाउँ तथा एलटीकेमै पालिएका खसी, बोका र कुखुराको मासु उपलब्ध गराउँदै आएको छ। ग्राहकले सिजन अनुसारका फलफुल (आँप, लिच्ची, अम्बा), कालो धान, खैरो धान, फापर लगायतका अर्गानिक बाली मगाउन सक्ने फार्मले जानकारी दिएको छ।   
 

भरतपुर एयरपोर्टबाट नौ किलोमीटर दक्षिणमा पर्ने यो रिट्रिट सेन्टरले बरन्डाभार सामुदायिक बनमा हात्ति तथा जिप सफारी पनि गराउने गरेको छ। समुहमा आउने पर्यटकका लागि निःशुल्क ल्याउने लाने सुविधा रहेको छ।

देवेन भन्छन्-' एलटीके संचालनमा ल्याउनुको मुख्य उद्देश्य भनेकै यो क्षेत्रको कृषि,पर्यटन र समुदायको बिकास गर्नु हो।' स्विमीङ पुल, थप ४० वटा कोठा, एक हजार मानिस अट्ने कन्फ्रेन्स हल, थप तीनवटा सफारी जिप, गीफ्ट सप लगायतका सुविधा बढाउने तयारी भैरहेको पनि देबेनले जानकारी दिए।

चित्रकलालाई प्राथमिकता दिएर संचालनमा ल्याइएको एलटीकेमा इनहाउस ओयल आर्टिस्ट नै राखिएको छ।