फेरिँदैछ देश: डेढ दशकमा तयार हुनेगरी पूर्वाधार निर्माण सुरु, यी हुन् पहाडमा बन्ने १० नयाँ शहर

बिजमाण्डू
२०७४ मंसिर २७ गते १७:०५ | Dec 13, 2017

काठमाडौं। निर्माणाधीन मध्यपहाडी लोकमार्गको आसपासमा  विकास गर्न लागिएको  १० नयाँ शहरको पूर्वाधार निर्माण कार्य धमाधम भैरहेको छ।

Tata
GBIME
Nepal Life

नयाँ शहर आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक पराग कायस्थले १० वटै नयाँ शहरमा अत्यावश्यक शहरी पूर्वाधार निर्माण कार्य भैरहेको जानकारी दिए। उनले मध्यपहाडी लोकमार्ग आसपासका बस्तीहरुलार्इ समेटर विस २०९० सम्ममा सुविधा सम्पन्न शहरको विकास गर्ने दाबी समेत गरे।

आयोजनाका अनुसार शहरकालागि आवश्यक पर्ने अत्यावश्यक पूर्वाधार निर्माण धमाधम भैरहेको छ। शहरका लागि आवश्यक पर्ने सडक सञ्जाल निर्माण, बसपार्क, ल्याण्ड फिल्ड सार्इट, बजार, खेलमैदान, खुल्ला क्षेत्र संरक्षण तथा पार्क, बसपार्क, सामुदायिक सभा हल निर्माण भैरहेको छ।

१० वटै नयाँ शहर निर्माण हुन लागेका सबै ठाउँमा कार्यालयनै स्थापना गरेर काम गरिरहेको आयोजनाले जनाएको छ।  पहाडमा दुर्गम ठाउँहरु हुने भएकाले  शहर निर्माण स्थलमै कार्यालय स्थापना गरेर काम अघि बढार्इएको नयाँ शहर आयोजना समन्वय कार्यालयको भनार्इ छ।

यस्ता छन्  १० नयाँ शहर

सरकारले निर्माणाधीन मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको वैरनी गल्छी, तनहुको डम्रे भन्सार, बाग्लुङको वुर्तिबाङ, रुकुमको चौर जहारीया, दैलेखको राकम कर्णाली, अछामको साफेबगर र बैतडीको पाटनमा आधुनिक नयाँ शहर निर्माण गर्न लागेको हो ।

सेवा सुविधा र अवसरको खोजीमा हिमाल र पहाडबाट कोही पनि शहर वा तरार्इतिर बसार्इसरार्इ गर्न नपरोस् भन्ने उदेश्यका साथ आर्थिक बर्ष २०६७/२०६८ को नीति तथा कार्यक्रममा मध्यपहाडी लोकमार्गको निर्माण र आसपासमा १० नयाँ शहरकको विकास गर्ने घोषणा गरिएको थियो भने २०७०/७१ बाट निर्माण कार्य थालिएको हो।

आयोजना निर्देशक कायस्थका अनुसार हरेक शहरमा १/१ लाख मानिस बसाउने लक्ष्य लिर्इएको छ भने शहरमा उक्त जनसङख्याका  लागि आवश्यक पर्ने आधुनिक शहरी पूर्वाधारहरु तयार हुनेछन्। प्रत्येक शहरमा चक्रपथ,व्यवस्थित ल्याण्डफिल सार्इट, बसपार्क,  विद्यालय, औद्योगिक क्षेत्र, कलेज, खेल मैदान खानेपानी,मनोरञ्जन पार्क, अस्पताल, वित्तीय क्षेत्र निर्माण हुनेछन्।

निर्देशक कायस्थले भौगोलिक विकटता १० नयाँ शहर निर्माणको मुख्य चुनौती भएको बताए। शहर निर्माणकालागि जग्गा अधिग्रहण गर्न आवश्यक हुन्छ । त्यसका लागि त्यहाँका ५१ प्रतिशत स्थानीयको सहमति चाहिन्छ। छ वटा शहरकालागि स्थानीय सहमत भैसकेका छन्।२ वटा शहर पाटन र बुर्तिबाङमा सहमति अन्तिम चरणमा पुगेको छ भने वसन्तपुर र डुम्रे भन्सारको सहमति हुन सकेको छैन।

एउटा शहर निर्माणकालागि कुल १३ अर्व रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। उक्त लागत मध्ये ८ अर्व नेपाल सरकार र ५ अर्व रुपैयाँ शहरभित्र बस्ने स्थानीयको हुने छ। मध्यपहाडी लोकमार्गमा १० नयाँ शहर विकासका लागि सरकारले करिव सवा दुर्इ अर्व रुपैयाँ बजेट छ्ट्याएको छ।

प्रत्येक शहरका लागि १ हजार रोपनीका दरले १० हजार रोपनी जग्गा अधिग्रहण आवश्यक पर्छ। तर हालसम्म २ सय ४७ रोपनी मात्र जग्गा अधिग्रहण गरिएको आयोजनाले जनाएको छ।आगामी बर्ष थप ३ सय रोपनीका दरले अधिग्रहण गर्ने लक्ष्य लिर्इएको छ।

स्थानीयले गर्ने सहयोगमा नयाँ शहर निर्माण भरपर्ने आयोजनाले जनाएको छ। कुनै समस्या नहुने तथा स्थानीयको सहयोग पूर्ण रुपमा हुने हो भने आगामी १६ बर्षसम्म निर्माणाधीन मध्यपहाडी लोकमार्गमा सुविधासम्पन्न १० नयाँ शहर तयार हुनेछन्।