कंलकी-नागढुंगा तीन वर्षपछि कालोपत्रे गर्न पनि बहाना खोज्दै, जाडोमा खप्दैन भन्दै फागुन पुर्यायो

बिजमाण्डू
२०७४ मंसिर २७ गते ०९:४६ | Dec 13, 2017

काठमाडौं।काठमाडौं जोड्ने प्रमुख नाका कंलकी-नागढुंगा सडक झण्डै तीन वर्षपछि आंशिक मात्रै कालोपत्रे हुने भएको छ।

Tata
GBIME
Nepal Life

तीन वर्षदेखि यो सडक कच्चीमा परिणत भएर बुङ्बुङ्ती धुलो उड्ने गरेको छ।स्थानीयवासीको अवरोधलार्इ देखाएर सडक विभागले ग्राभेल समेत नगरि यो सडक छाडेको थियो।तीन वर्षपछि सडक विस्तारमा समस्या नभएको आठ किलोमिटरमा मात्रै कालोपत्रे गर्ने तयारी सुरु भएको छ।उपत्यका सडक विस्तार आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विश्व विजयलाल श्रेष्ठका अनुसार जाडोयाममा कालोपत्रे टिकाउ नहुने भएकोले फागुनमा कालोपत्रे गरिनेछ।

तर अहिले मुलुकका विभिन्न स्थानमा धमाधम कालोपत्रे भइरहेको छ। उनका अनुसार १२ किलोमिटर सडकमध्ये आठ किलोमिटरमा सडक विस्तार गरेर कालोपत्रे गर्न समस्या छैन।यो आठ किलोमिटर सडकको कालोपत्रे तीन महिनाभित्र सक्ने आयोजनाले लक्ष्य लिएको छ।‘चार किलोमिटरमा अदालतले सडक विस्तार रोक्न आदेश दिएकोले कालोपत्रे गर्न समस्या छ’उनले बिजमाण्डूसँग भने,ती स्थानमा विवाद समाधान गरेर कालोपत्रे गरिनेछ।‘

चार किलोमिटरभित्र ८४ घरको मुआब्जा विवाद छ।कतिपय स्थानमा भने रुख,नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणका पोलले सडक विस्तारमा समस्या थपेका छन्।आयोजनाले सुरुमा सडक विस्तार नभएका स्थानमा यथास्थितीमै कालोपत्रे गर्ने भनेपनि दीर्घकालिन रुपमा असर पर्ने भन्दै रोक्यो।सडक विभागले १२ किलोमिटर सडकलार्इ समेत चार प्याकेज बनाएर ठेक्का दिएको छ।

उपत्यका सडक विस्तार आयोजना अन्तर्गत त्रिपुरेश्वर-कंलकी-नागढुंगा १२ किलोमिटर सडक विस्तार भैरहेको छ।त्रिपुरेश्वरदेखि कंलकीसम्मको तीन किलोमिटरको सडक विस्तारको जिम्मा बज्र गुरु विरुवाले पाएको छ।यो खण्डमा २५ प्रतिशत भौतिक प्रगति छ।कंलकी-सतुङगल तीन किलोमिटर सडक निर्माणको ठेक्का शैलुङ कान्छाराम जेभीले पाएको छ।

यो कम्पनीले ३० प्रतिशत काम पुरा गरेको छ।सतुङगलबाट त्रिभुवन पार्क तीन किलोमिटर सडक विस्तारको काम लुम्विनी शैलुङ जेभीले पाएको छ।त्रिभुवन पार्क देखि नागढुंगा करिव तीन किमी सडक शर्मा/शैलुङ कान्छाराम जेभीले ठेक्का पाएको छ।यो सडकखण्डको काम ४५ प्रतिशत सकिएको छ।