अमेरिकाको लुकेको पाटो, ‘हाइलिभिङ’को मूल्य चुकाउन नसक्दा ४ करोड अमेरिकी गरिबीको रेखामुनी!

बिजमाण्डू
२०७४ मंसिर २६ गते २०:४२ | Dec 12, 2017
अमेरिकामा हजारौ रोजगारी दैनिक सिर्जना भैरहेका हुन्छन् तरपनि धेरै अमेरिकीहरु अझैपनि गरिब छन्। झण्डै ६ वर्षयता अमेरिकी अर्थतन्त्रमा करिब बीस लाख नयाँ रोजगारी सिर्जना भएको तथ्यांकले देखाएको छ।

Tata
GBIME
Nepal Life

सन् २०००को चरम आर्थिक मन्दीपछि रोजगारी गुमाएकाहरुले पनि रोजगारी पाइसकेका छन् भने सन् २००७ को हाउजिङ बबलले सिर्जना गरेको बिकराल अवस्थाबाट पनि अमेरिकाले पार पाइसकेको विश्लेषण गरिन्छ। अमेरिकामा हाल बेरोजगारी दर मात्र ४.१ प्रतिशत छ जुन सन् २००० यताकै सबैभन्दा कम हो। तर तथ्यांकको यौटा फरक पाटो पनि छ जहाँ धेरै मानिसहरु गरिबीको रेखामुनि छन् र उनीहरुको दैनिकी धेरै कष्टप्रद छ। 


सन् २०१६ को एक तथ्यांक अनुसार झण्डै ४ करोड १० लाख मानिसहरु अर्थात जनसंख्याको १३ प्रतिशत मानिसहरु गरिबीको रेखामुनि छन्। तरपनि अमेरिकाले यसमा खुशी नै मान्नुपर्ने अवस्था छ किनकी यो दर अहिले घटेको छ।  सन् २०१० मा यो तथ्यांक १५ प्रतिशत थियो। अमेरिकामा चारजनाको परिवारको औसत आय ९१ हजार डलर रहेको छ। तथापि गरिबी मापनको आधिकारिक तथ्यांकहरु हेर्ने हो भने चारजनाको  परिवारको औसत आम्दानी २४ हजार ३ सय डलरभन्दा पनि कम रहेको परिवारहरु पनि छन्।

अमेरिकामा बार्षिक २४ हजार ३ सय डलर भन्दा कम आम्दानी रहेको परिवारलार्इ गरिबीको रेखामुनि राखिन्छ। यो रकम कर अघिको आम्दानी तथा पोषणको आवश्यकतामा आधारित रही कायम गरिएको हो।विश्व बैंकले गरिबीको औसत दर भनेर तोकेको दरभन्दा यो रकम धेरै माथि हो । विश्व बैंकले एक हजार डलरदेखि ४ हजार डलरभित्र रहेको लार्इ विश्व बैंकले न्यून औसत आय भनेर तोकेको भएपनि अमेरिकाको कस्ट अफ लिभिङ धेरै नै महंगो पर्न जाने भएकोले गरिबी मापनको लागि कर तथा पोषणमा आधारित रहेर अध्ययन गर्नुपर्ने हुन्छ।
 

अमेरिकाको कस्ट अफ लिभिङ निकै उच्च रहेको छ ।  यहाँ गरिबीको रेखामुनि रहेका र मध्यम बर्गबीचको खाडल पनि  निकै बढिरहेको देखिन्छ।अमेरिकामा गरिबहरुको दैनिकी कष्टप्रद रहेको छ।अमेरिकामा गरिबीमा रहेका भनिएका मानिसहरुको बार्षिक आम्दानी मात्र ९ हजार ६ सय डलर रहेको छ। सन् २०१६ को एक तथ्यांकलार्इ हेर्ने हो भने अमेरिकामा १८ वर्ष मुनिका जनसंख्या मध्ये एक करोड ३३ लाख बालबालिका अर्थात कुल बालबालिकाको १८ प्रतिशत गरिबीको रेखामुनि छन्। 
 
यस्तै गरिबीको रेखामुनि रहेका ६५ वर्ष माथिका नागरिकको संख्या बढेर ४६ लाख पुगेको छ। यो त्यही उमेर समुहको कुल संख्याको ९ प्रतिशत हो। 
कामकाजी उमेरका झण्डै २ करोड ३० लाख मानिसहरु अर्थात कामकाजी उमेर समूहका मानिसहरुमध्ये १२ प्रतिशत मानिसहरु गरिबीमा  बाँचिरहेको ह्यामिल्टन प्रोजेक्टले गरेको एक अध्ययनले देखाएको छ । अध्ययनमा के भेटिएको छ भने कामकाजी १० मध्ये चारले मात्र काम पाएका छन्। कामकाजी दशमध्ये एकले मात्र पूर्णकालीन रोजगारी पाएको छ। अर्थात एक जनाको मात्र पूरै बर्ष काम हुन्छ तरपनि उसले पर्याप्त कमाउन सकिरहेको छैन। 
 
यस्तै २५ मध्ये एक रोजगारीको लागि भौतारिइरहेको हुन्छ भने पूर्णकालीन काम नगरेका  रोजगार तीनमध्ये एकले पार्ट टाइम काममा अल्झिनु परिरहेको हुन्छ।यो तथ्यांकले कामकाजी उमेर समूहको रोजगारी र कमाइबीचको ‘ग्याप’लार्इ पुष्टि गरिरहेको छ। अमेरिकामा हाल जतिपनि रोजगारी सिर्जना भएका छन् ति धेरै जसो हस्पिटालिटी, म्यानेजमेन्ट, हेल्थ केयर, आइटी जस्ता क्षेत्रमा छन्। कन्सट्रक्सन तथा उत्पादनमुलक क्षेत्र मन्दीको प्रभावबाट अझै पनि पूर्ण रुपमा रिकभर भैनसकेको अध्ययनले देखाएको छ।
 
यस्तै अमेरिकामा कामदारमा बर्गीय बिभेद समेत पाइएको छ। जस्तै काला मूलका अमेरिकीहरुलार्इ मन्दीले निकै असर पारेको भेटिएको छ। तर रिकभरीपछि पनि गोराको तुलनामा काला अमेरिकीहरु नै बढी बेरोजगार रहेका छन्। महिलाहरुको रोजगारी मन्दीपछि ५५ प्रतिशत मात्र रिकभर भएको देखिन्छ। यस्तै हाइस्कुल सम्मको शिक्षामात्र पूरा गरेका महिलाहरुले काम पाएका छैनन्।  मन्दीबाट प्रभावित पुरुषहरु काममा त फर्किए तर ६६ प्रतिशतमात्र पूर्ण रुपमा काममा फर्कन सकेका छन्। यस्तै कामदारको ज्यालामा पनि कमी आएको छ। उनीहरु औसत रुपमा बार्षिक ३१ हजार १ सय डलर पाउने गर्छन् जुन पर्याप्त छैन। 
 
अमेरिकामा बर्गीय बिभेद निकै देखिन्छ। गोरा अमेरिकीभन्दा अफ्रिकी अमेरिकी परिबार दोब्बरभन्दा बढी गरिब रहेका छन्। २२ प्रतिशत अफ्रिकन अमेरिकी परिवार गरिबीको रेखामुनि छन्। यस्तै १९ प्रतिशत हिस्प्यानिक परिबारहरु गरिबीमा छन्। महिला र पुरुषको तथ्यांकमा पनि बिभेद छ। ११ प्रतिशत पुरुषहरु गरिबीमा रहँदा १४ प्रतिशत महिलाहरु गरिबीमा द्धन्।यस्तै राज्यहरुमा पनि यसमा बिभेद देखिन्छ। यस्तै दक्षिणपूर्वी र दक्षिणपश्चिमी राज्यहरुमा गरिबीको दर २५ प्रतशित भन्दा पनि माथि देखिएको छ।केही बर्ष यता रोजगारी र आयमा भएको बृद्धिले केही उत्साहप्रद अवस्था देखिएपनि गरिबीमा रहेका समूहको दैनिकी निकै संघर्षपूर्ण रहेको छ।  (लेखक ब्रुकिङ इन्स्टिच्यूटका प्रोफेसर हुन्।)