आपूर्तिको छापापछि हवार्इ संचालकको गुनासो, हवार्इ सेवालार्इ किराना पसलजस्तै व्यवहार गरियो

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ मंसिर २६ गते १५:५२ | Dec 12, 2017

काठमाडौं।नेपाल वायु सेवा संचालक संघका अध्यक्ष पवित्रकुमार कार्कीले क्षणिक लोकप्रियताका लागि आपूर्ति व्यवस्थापन विभागले छापा हानेको आरोप लगाएका छन्।

Tata
GBIME
Nepal Life

विभागले अस्वभाविक रुपमा हवार्इ भाडा बढाएको भन्दै संघको सिनामंगलमा रहेको कार्यालयबाट कागजपत्र जफत गरेको थियो।‘उहाँहरुले किराना पसल र रेष्टुरेन्टमा छापा हानेजस्तै गरेर हाम्रो कार्यालयमा छापा हान्न पुग्नुभएछ,’उनले बिजमाण्डूसँग भने,हवार्इ इन्धनको मूल्य बढेपछि त्यही आधारमा भाडा बढाउने वैज्ञानिक प्रणाली छ।त्यही आधारमा भाडा बढेको हो।तर उहाँहरु किराना पसल र रेष्टुरेन्टमा जस्तै गरेर छापा मार्नु भनेको क्षणिक लोकप्रियता मात्रै हो।‘

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै हवार्इ इन्धनमा लिटरमा पाँच रुपैयाँ मूल्य बढाएको थियो।चार रुपैयाँ भन्दा बढी हवार्इ इन्धनको मूल्य बढ्नेवित्तिकै हवार्इ जहाज संचालकले भाडा बढाउने गरेका थिए।त्यही आधारमा संघले दूरी अनुसार ४५ देखि २२० रुपैयाँसम्म भाडा बढाएको थियो।

उनका अनुसार नेपाल नागरिक उड्ययन प्राधिकरणको सहमतिमा हवार्इ भाडा निर्धारण हुने गर्छ।‘सरकारी निकाय प्राधिकरणको सहमतिका आधारमा हवार्इ भाडा निर्धारण हुन्छ।तर उहाँहरुले त्यति पनि जानकारी नलिर्इ संघको कार्यालयमा आएर धम्क्याउने शैलीमा आउनुभएछ’ कार्कीले भने,विभागमा सहसचिवस्तरका कर्मचारी हुनुहुन्छ।उहाँलार्इ प्रकृयाका बारेमा जानकारी हुनुपर्ने हो।‘ कार्कीका अनुसार विभागलार्इ भाडा बढाउने प्रकृयासहितको जानकारी पठाइसकिएको छ।‘हामीले हवार्इ भाडा बढाउने प्रकृयाका बारेमा लिखित जानकारी पठाइसकेका छौं’उनले भने, ‘उहाँहरुलार्इ पनि संघमा छापा हान्नु गलत भयो भन्ने परिसकेको छ।’

प्राधिकरण यसो भन्छ
प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले हवार्इ इन्धनको मूल्य घटबढका आधारमा भाडा निर्धारण हुने बताए।'हवार्इ भाडामा स्वचालित संयन्त्र छ।हवार्इ इन्धनको मूल्य घटबढ भएपछि त्यही आधारमा भाडा पनि घटबढ हुन्छ'उनले भने,यसअघि हवार्इ इन्धनको मूल्य घट्दा पाँच पटकसम्म भाडा घटेको थियो।सरकारी निकायसँग समन्वय भएर भाडा निर्धारण हुने गर्छ।'