हवाइ भाडा बढाएपछि आपुर्तिको आकस्मिक छड्के, कागजपत्रसहित संघ पदाधिकारीलाई डाकियो

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ मंसिर २६ गते १३:५४ | Dec 12, 2017
काठमाडौं। पेट्रोलियम मूल्य बढेलगत्तै हवाइ भाडा बृद्धि गरेका हवाइ सेवा सञ्चालक संघमाथि सरकारले आकस्मिक अनुगमन गरेको छ। संघले गन्तब्य अनुसार ४५ देखि २७० रुपैयाँसम्म भाडा बढाएको थियो। 

Tata
GBIME
Nepal Life


 

हवाइ सेवाप्रदायकहरुको संगठन हवाइ सेवा सञ्चालक संघलाई भाडा किन बढाएको भनेर सोधिएको पुष्टी गर्दै आपुर्ति व्यवस्थापन विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बिजमाण्डूसँग भने- भाडादर बढाउनुको कारण, त्यसको आधार, प्रमाण लगायतका जानकारी लिनका लागि अनुगमन गरिएको हो। 
 
नेपाल आयल निगमले गत शुक्रबार हवाइ इन्धनमा ५ रुपैयाँ भाउ बढाएको थियो। यसैका आधारमा हवाइ भाडा ४५ देखि २७० रुपैयाँसम्म बढाउने निर्णय संघले गरेको थियो।
 
आपुर्ति व्यवस्थापन विभागले संघसँग भाडा बढाउन गरेको निर्णयको सम्पुर्ण कागजपत्र पेश गर्न निर्देशन दिएको छ। उनले आयल निगम, नागरिक उड्डयन प्राधिकरणलगायत अन्य सरोकारवालासँग छलफल गरी भाडा बृद्धि ठिक कि बेठिक बारेमा आवश्यक निर्णय गरिने जानकारी दिए। 
 
उनका अनुसार, जहाजको भाडा निर्धारण तेल र अन्य सञ्चालन खर्चका आधारमा गरिन्छ। यसमा तेलको लागत ४० प्रतिशत हुन्छ भने जहाज किनेको, कर्मचारी तथा अन्य सञ्चालन खर्चको हिस्सा ६० प्रतिशत हुन्छ।
 
'तेलको मूल्य बृद्धिका आधारमा भाडामा गरिएको बृद्धिको अनुपात मिल्दैन' उनले भने, 'यही असमानता देखिएका कारण हामी अनुगमन गर्न गएका हौं।'
 
तेलको भाउ बढेपछि सेवाप्रदायकले भाडा बढाउन पाउँछन्। तर त्यो भाडा बृद्धि तेलको भाउसँग मिल्ने गरि छ कि छैन भनेर विस्तृत अध्ययनका लागि संघसँग कागजपत्र मागिएको दाहालले जानकारी दिए। 
 
'हिजोको मूल्य र आजको मूल्य वहाँहरु (संघ) ले केकेलाई आधार मानेर समायोजन गर्नुभएको हो,' उनले भने, 'त्यस बारेमा छलफल गर्न उहाँहरुलाई डाकेका छौं।'