दुर्गममा हवार्इ संजाल जोड्न निर्माण भएका २६ विमानस्थल किन बन्द छन्? ‘ननसेड्युल फ्लाइट मात्रै’

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ मंसिर २६ गते १०:४३ | Dec 12, 2017

काठमाडौं।हवार्इ यातायातबाट जोड्न निर्माण भएका २६ वटा विमानस्थल बन्द अवस्थामा छन्।

Tata
GBIME
Nepal Life

सडक यातायात नभएका दुर्गम स्थानमा निर्माण भएका ती विमानस्थलमा जहाजले उडान नगरेको धेरै समय भइसकेको छ।मुलुकभित्र रहेका ५६ विमानस्थलमध्ये ३० वटा मात्रै संचालनमा छन्।नेपाल नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले २६ वटा विमानस्थलमा ननसेड्युल फ्लाइट मात्रै हुने गरेको बताए।

उनका अनुसार मनाङ, रामेछाप लगायतका क्षेत्रमा आकस्मिक सेवाका लागि मात्र फ्लाइट संचालनमा आइरहेका छन्।हाल पोखरा,लुक्ला, भरतपुर लगायतका ३० क्षेत्रमा नियमित फ्लाइट संचालनमा आइरहेको उनले जानकारी दिए।'पहिला देशका विभिन्न क्षेत्रमा यातायातको पहुँच थिएन। प्राधिकरणले सर्वसाधरणको सुविधाका लागि विभिन्न ठाउँमा विमानस्थल निर्माण गरेको थियो तर अहिले सडक संजाल  पुगिसकेको कारणले विमानस्थल संचालनमा नआएका हुन्।' पौडेलले भने।सडक यातायात जोडिएपछि मनाङको विमानस्थल पनि बन्द छ।त्यहाँ कर्मचारी पनि छैनन्।

उनले सडक यातायात पुगेका दुर्गम स्थानमा चार्टर गरेर विमान लैजाने गरेको बताउँदै कतिपय स्थानमा आकस्मिक सेवाको रुपमा हेलिकोप्टर संचालनमा आएको बताए।मनाङका विमानस्थलमा सामान ढुवानीका लागि  प्राय कार्गो जाने गरेको पौडेलले बताए।उनले भने 'गाडीको भाडा दरको तुलनामा हवाइ भाडा दर महँगो छ, यही कारणले सर्वसाधरण सडकमार्गबाटै गन्तव्यमा जान रुचाउँछन्।' 

अहिले बन्द रहेका विमानस्थल संचालनको माग आएमा तत्कालै सेवा सुरु गर्न सकिने पौडेलले बताए। 'प्राधिकरणसँग सबै भौतिक पूर्वाधार छन् र एयरलाइन्सहरु पनि सबै विमानस्थलमा आफ्नो सेवा संचालनमा ल्याउन सकारात्मक छन्, उक्त क्षेत्रका स्थानियले विमानस्थल संचालनका लागि प्रस्ताव ल्याएमा हामी तयार छौँ' पौडेलले भने।