प्रतिनिधिसभा ७४ र प्रदेशसभाका १६१ क्षेत्रको मतगणना सकियो, ८ जिल्लामा समानुपातिक मतगणना हुँदै

बिजमाण्डू
२०७४ मंसिर २४ गते ११:११ | Dec 10, 2017

काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट आज बिहान ९ बजेसम्मको प्राप्त विवरण अनुसार, ७७ जिल्लामध्ये प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको  १६ जिल्लामा मतगणना सकिएको छ। 

Tata
GBIME
Nepal Life

रसुवा, म्याग्दी, मनाङ, मुस्ताङ, रुकुम पूर्व, डोल्पा, बाजुरा, बझाङ जिल्लाको समानुपातिकतर्फको मतगणना कार्य पनि समाप्त भएको छ भने बाँकी आठ जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना कार्य जारी रहेको छ।

समानुपातिकतर्फको मतगणना कार्य जारी रहेका जिल्लामा सोलुखुम्बु, ओखलढुंगा, धनुषा, जुम्ला, हुम्ला, मुगु, वैतडी र दार्चुला छन्।

मत परिणामको विवरण भने आयोगलाई प्राप्त भइसकेको छैन। यसैगरी, आयोगमा रहेको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म ७४ क्षेत्रको मतगणना कार्य सम्पन्न भएको छ।

जसमा ७३ पुरुष र एक महिला निर्वाचित भएका छन्। यसैगरी, प्रदेशसभातर्फ ३३० निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ क्षेत्रको मतगणना सम्पन्न भएको छ। जसमा १५३ पुरुष र आठ महिला निर्वाचित भएका छन्।

मंसिर २१ गते दुईवटा मतदान केन्द्रमा मतदान स्थगित भई हिजो पुनः मतदान सम्पन्न भएपछि अर्घाखाँचीको मतगणना कार्य गएरातिदेखि सुरु भई मतपरिणाम आइरहेको छ भने दलहरुबीचको विवादका कारण मतणना सुरु हुन नसकेको स्याङ्जाको मतगणना आजदेखि सुरु हुने जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाले दिएको छ।