के एमालेले एक्लै पुर्‍याउला बहुमत? अहिलेसम्म एमालेको प्रत्यक्षमा १९ स्थानमा जित हासिल

बिजमाण्डू
२०७४ मंसिर २३ गते १२:१२ | Dec 9, 2017

काठमाडौँ।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनको भारी अग्रता देखिँदा नेकपा एमालेले धेरै स्थानमा जित हासिल गरिसकेको छ। अग्रताका हिसाबले पनि एमाले सबैभन्दा अघि छ। हालसम्म प्राप्त मतपरिणामको आँकडा अनुसार वाम गठबन्धनलाई प्रत्यक्षमा सहज बहुमत देखिन्छ।

Tata
GBIME
Nepal Life

अहिले वाम गठबन्धन प्रत्यक्षमा दुई तिहाइतर्फ अग्रसर छ। दुई तिहाइमा अग्रसर वाम गठबन्धनमा एमाले हावी छ। शनिबार ११ बजेको मतपरिणामसम्म एमालेले प्रत्यक्षमा १९ स्थानमा जित हासिल गरेको छ। माओवादीले ४ र कांग्रेसले ४ क्षेत्रमा जित हासिल गरेको छ।
एमालेले ५८ क्षेत्रमा अग्रता कायम गरेको छ। हालसम्म ११ क्षेत्रको प्रारम्भिक परिणाम आएको छैन।

एमालेले विजयी भएका १९ र अग्रता लिएका ५८ क्षेत्रमा जित हासिल गरेमा ७७ क्षेत्रमा विजयी हुनेछ। बाँकी रहेका ११ क्षेत्रमा थप जित हासिल गरेमा प्रत्यक्षमा एमाले ८० सिटको हाराहारीमा पुग्नेछ।
 
एकल सरकारका लागि कति सिट?

संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभा २७५ सदस्यीय हुनेछ। जसअनुसार सरकार बनाउने सामान्य बहुमतका लागि १३८ सिट आवश्यक पर्नेछ। तर, प्रत्यक्षको यो परिणामले एमालेको एकल बहुमत भने सहज देखिन्न।

समानुपातिक मतले एमालेको थप सिट निर्धारण गर्नेछ। कूल एक करोड ५४ लाख मतदातामध्ये एक करोड ५ लाख ८७ हजार ५२१ मत खसेको छ जसअनुसार सदर मतमध्येबाट न्यूनतम थ्रेसहोल्ड तीन लाख कटाउनुपर्नेछ। समानुपातिक एक सिटका लागि सदर मतको कम्तीमा एक लाख नै ल्याउनु पर्ने देखिएको छ। समानुपातिकबाट समेत बहुमत ल्याउनका लागि एमालेले ५० लाख हाराहारीमा मत समानुपातिकमा ल्याउनु पर्छ। जुन सम्भव छैन।
 
सरकारका लागि २५ सिट अपुग
तर स्थानीय तहको मतपरिणामको हाराहारीमा मत प्राप्त भएमा एमालेले ३५ सिटसम्म समानुपातिक सिट पाउने अवस्था छ। हालकै ट्रेन्डमा मत खसेमा एमाले ११५ सिटसम्म जित्न सक्छ।

उसलाई बहुमतको सरकार बनाउनका लागि थप २३ सिट आवश्यक पर्छ। जसमा३५ सिट समानुपातिकमा पाएमा एमाले समानुपातिक र प्रत्यक्षमा गरी ११५ सिटसम्मको हाराहारीमा पुग्न सक्छ। एमालेलाई बहुमतको सरकार बनाउन थप २५ सिट भएको दल वा गठबन्धनको आवश्यक पर्नेछ।