नारच्याङमा जलविद्युत निर्माणको प्रतिस्पर्धा, जलविद्युतमा रोजगारी पाएपछि विदेश जाने मोह हट्यो

रासस
२०७४ मंसिर २२ गते १०:५३ | Dec 8, 2017

बेनी। हाइड्रो भिलेजका नामले प्रख्यात म्याग्दीको नारच्याङमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा दैनिक १५० जनाले रोजगारी पाएका छन् ।

Tata
GBIME
Nepal Life

जिल्ला सदरमुकाम बेनीदेखि चार घण्टाको सवारीयात्रापछि पुगिने नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र ३८ मेगावाटको नीलगिरिखोला जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । यी जलविद्युत् आयोजनाबाट स्थानीयवासीले रोजगार पाउनाका साथै मासिक न्यूनतम रु १५ हजारदेखि ५० हजारसम्म कमाई गर्दै आएका स्थानीयवासी २९ वर्षीय वीरबहादुर पुनले बताए । पाँच वर्षदेखि घलेम्दीमा सुरुङमार्गको सहइन्चार्ज भएर काम गरिरहेका पुन गाउँमै रोजगारी पाएपछि मख्ख छन् ।

त्यसैगरी, स्थानीयवासी नरेश पुन केही वर्ष कतार बसेर स्वदेश फर्किए । गाउँकै सबै युवा जलविद्युत्का काममा व्यस्त बनेको देखेर उनमा विदेशमोह हट्यो । तीन वर्षदेखि पुन घलेम्दीमै कामदारका नाइके हुन् । “म विदेश जाने बेलामा जलविद्युत् आयोजना बन्ने भन्ने हल्ला मात्रै थियो, फर्केर आउँदा सबै निर्माण चरणमा थिए”, नरेश भन्छन्, “क्षमता अनुसारको काम पनि पाइयो, अहिले ठिकै छ ।”

गाउँमै पाएको जागिरले पुनलार्ई कतारको भन्दा बढी सन्तुष्टि दिएको छ ।उनले भने, “काम गर्ने हो भने नारच्याङ र आसपासका कोही पनि युवा त्यतिकै बस्नु पर्दैन, कामदार नभएर कम्पनीले बाहिरबाट ल्याउँछन् त्यसको फाइदा हामीले उठाउन सक्नुपर्छ ।”

घलेम्दी र मिस्त्रीखोला आयोजनाले भारी बोक्नेदेखि गिट्टी, बालुवा कुट्नेसम्म स्थानीयवासीलाई प्राथमिकता दिएका छन् । उनीहरूले क्षमता र कम्पनीको नियमअनुसार रु १५ हजारदेखि ५० हजारसम्म मासिक तलब बुझ्छन् ।स्थानीयवासी महेन्द्र गर्बुजाका अनुसार घलेम्दी र मिस्त्रीखोलामा दैनिक १५० जनाले काम पाइरहेका छन् । “अब नीलगिरिले पनि कामदार खोजिरहेको छ, अब त रोजीरोजी जागिर गर्न पाइन्छ”, गर्वुजाले भने, “गाउँमा जलविद्युत् आयोजनाले नै परिवर्तन हुँदोरहेछ भन्ने कुरा बुझ्दैछौँ ।”

स्थानीयवासीले आयोजनामा काम मात्र होइन, त्यहाँ काम गर्ने कामदारका लागि किराना पसलदेखि होटेलसमेत सञ्चालन गरी आत्मनिर्भर बन्न थालेका छन् । घलेम्दीको विद्युत्गृह र मिस्त्रीको बाँधस्थल एकै स्थानमा पर्छ । अहिले त्यहाँ करिब दुईसय कामदार छन् । त्यसैलाई लक्ष्य गरेर स्थानीयवासी धनबहादुर पुनले किराना पसल सञ्चालन गरेका छन् । त्यहाँको व्यापारबाट उनी सन्तुष्ट छन् । “कामदारले मात्र होइन जलविद्युत् आयोजनाको अवलोकनका लागि हरेक दिन विभिन्न ठाउँका पर्यटक पनि आउँछन् त्यसैले व्यापार राम्रै छ”, दुई वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएका पुनले भने।

नारच्याङका वडाअध्यक्ष चन्द्रप्रसाद फगामी गाउँमा निर्माणाधीन जलविद्युत् आयोजनाले स्थानीयवासीलाई राम्रो रोजगारी प्रदान गरिरहेको बताउँछन् । ‘गर्छु र कमाउँछु’ भन्ने युवालाई अहिले समस्या छैन ।

“आयोजनामा जति पनि काम पाउँछन्”,उनले भने, “अहिले विदेश जाने युवाको सङ्ख्या पनि निकै कम भएको छ ।” कम्पनी प्रत्यक्ष आफैँले भौतिक संरचनाको काम गरिरहेकाले घलेम्दीले तुलनात्मक रूपमा स्थानीयवासीलाई बढी प्राथमिकता दिएको छ ।

मिस्त्रीखोलाको निर्माण ठेक्कामार्फत भइरहेको छ भने नीलगिरिले पनि सोहीअनुसार काम गर्ने तयारी गरिरहेको छ । “ठेकदारमार्फत काम गर्दा दक्ष जनशक्ति मात्र खोजिँदो रहेछ, तर घलेम्दीले स्थानीयवासीलाई निकै राम्रो गरेको छ”, वडाअध्यक्ष फगामी भने, “घलेम्दीमा स्थानीयवासीले धेरथोर लगानी पनि गरेका छन् ।”