प्रदेश ३ का ६ जिल्लामा मतगणना र मतको अपडेटबारे यस्तो छ तयारी, दुर्इ/दुर्इ घण्टामा अपडेट गराइने

बिजमाण्डू
२०७४ मंसिर २१ गते १७:०८ | Dec 7, 2017

काठमाडौँ। पहिलो चरणमा मतदान सम्पन्न भइसकेका ६ जिल्लामा मतगणनाको तयारी यस्तो छ-

Tata
GBIME
Nepal Life

सिन्धुपाल्चोक : दुई प्रतिनिधि सभा, चार प्रदेश सभा निर्वाचन क्षेत्र
सर्वदलीय बैठक सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृत विजय कार्कीले जानकारी दिए। मतगणनाका लागि सिसि टिभी, छेकबार सबै तयारी भएको कार्कीले जानकारी दिए। उनले भने, ‘सुरक्षाका सम्पूर्ण तयारी भइसकेको छ। २ वटा निर्वाचन क्षेत्रमा २ ठाउँमा मतगणना हुदैछ। दुईदुई घन्टामा मतगणना अपडेट हुनेछ।‘

नुवाकोट : दुई प्रतिनिधि सभा, चार प्रदेश सभा निर्वाचन क्षेत्र
मतगणनाका लागि सर्वदलीय बैठक दिउँसो चार बजे सकिएको मुख्य निर्वाचन अधिकृत जनार्दन अधिकारीले जानकारी दिए। ‘भर्खरै बैठक सकियो। पाँच बजे नै मतगणना सुरु हुने भनिए पनि केही ढिला हुने देखिएको छ। सुरक्षाका सम्पूर्ण प्रबन्ध पुरा गरिसकिएको छ.’ अधिकारीले भने।

दोलखा : एक प्रतिनिधि सभा, दुई प्रदेश सभा निर्वाचन क्षेत्र
दोलखामा मतगणनाको सम्पूर्ण तयारी पुरा भइसकेको मुख्य निर्वाचन अधिकृत प्रकाश काफ्लेले जानकारी दिए। उनले भनेऽ ‘मतगणनाको लागि सम्पूर्ण तयारी पुरा भइसकेको छ मतगणना अपडेट २ देखि ३ घन्टाको अन्तरालमा हुनेछ।’

रामेछाप : एक प्रतिनिधि सभा, दुई प्रदेश सभा निर्वाचन क्षेत्र
रामेछापमा सर्वदलीय बैठक बसिसकेको र मतगणना पाँच बजे नै हुने मुख्य निर्वाचन अधिकृत कपिलप्रसाद उपाध्यायले जानकारी दिए। उनले भने, ‘सर्वदलीय बैठक बिहानै बसिसकेको छ। एउटा मतदानस्थलको मतगणना सकेपछि मत विवरण प्रसारण गरिनेछ।‘

रसुवा : एक प्रतिनिधि सभा, दुई प्रदेश सभा निर्वाचन क्षेत्र
रसुवामा पनि पाँच बजेदेखि नै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत नविन खालिङले जानकारी दिए। ‘यहाँ ११ बजे नै बैठक सम्पन्न भयो। ३ बुथको एकैपटक गणना गरेपछि मत अपडेट हुनेछ,‘ खालिङले भने।

धादिङ : दुई प्रतिनिधि सभा, चार प्रदेश सभा निर्वाचन क्षेत्र
धादिङका जिल्ला निर्वाचन कार्यालयका प्रमुख ईश्वर सिंखडाका अनुसार अपराह्न ५ बजे नै मतगणना सुरु गर्ने तयारी छ। उनले चार चार घण्टामा मतगणना अपडेट गरिने जानकारी दिए।