यस्तो छ शशिन जोशीले नबिल छाड्नुको कारण, ‘कसैले मनमा कुरा राखेको भए थाहा छैन’

बिजमाण्डू
२०७४ मंसिर १९ गते १५:४५ | Dec 5, 2017
यस्तो छ शशिन जोशीले नबिल छाड्नुको कारण, ‘कसैले मनमा कुरा राखेको भए थाहा छैन’
काठमाडौं। साढे दुई महिनापछि लागू हुने गरी नबिल बैक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत शशिन जोशीको राजिनामा सोमबार स्वीकृत गरेको छ। झन्डै डेढ सातादेखिको राजिनामाको 'गरमागर्मी' जोशी बाहिरिने निश्चित हुँदा पनि कायमै छ।


 
३२ बर्ष बैंकिङ अनुभव भएका शशिन जोशीले कार्यकाल एक बर्ष मात्र बाँकी छँदा विदेशी संयुक्त लगानीको पहिलो बैंक छाड्दै गर्दा धेरै प्रश्नहरु पनि जन्मिएका छन्। वित्तीय क्षेत्रप्रति चासो राख्ने धेरैले शशिनको राजिनामालाई सञ्चालक समितिसँगको 'शक्ति संघर्ष' सँग जोडेर हेरेका छन्।
 
अनिल ज्ञवालीले चार बर्ष कार्यकाल पुरा गरेर छाड्दै गर्दा नबिलमा शशिनको नियुक्तिलाई सञ्चालक समितिकै एउटा समूहले रुचाएको थिएन। अर्को समूहले बहुमतका आधारमा मिचेका कारण शशिन प्रमुख कार्यकारी नियुक्त भएका थिए।
 
विरोध गर्दै आएको पक्षले शशिनलाई जहिले पनि 'टार्गेट' अनुसारको काम नगरेको आरोप लगाउँदै आएको थियो। कर्मचारीहरु पनि शशिनको कडा मिजासका कारण पुराना क्लाइन्टहरु बाहिरिन थालेको गुनासो गर्न थालेका थिए।
 
तर पछिल्लो समय शशिनलाई ल्याउने पक्षले पनि उनको कार्यशैलीलाई रुचाउन छाडेको स्रोतहरुको दावी छ। 'दुबै पक्ष एकै ठाउँमा भएपछि शशिनलाई छाड्नै पर्ने वाध्यता आइपर्यो' स्रोतको दावी छ।
 
तर शशिनले सञ्चालक समितिसँग 'फरक मत' भएर बैंक छाड्ने लागेको भन्ने कुरा असत्य भएको बताएका छन्। 'बैंकका कर्मचारी सञ्चालक समितिसँग समस्या भएको भए त मैले तुरुन्तै छाड्नु पर्ने हो नि, तर म अढाइ महिनाको ग्याप राखेर बैंक छाड्दैछु' उनले बिजमाण्डूसँग भने, 'मैले राजिनामा गरे पनि बिदा बसेको छैन। बाँकी समय म नियमित अफिस आउने हो। यहाँ बसुन्जेल यहाँको जिम्मेवारी सम्हालिरहन्छु।'
 
एनआइसी एसियामा साढे १२ बर्षसम्म शशिन प्रमुख कार्यकारी थिए। ३२ बर्ष बैंकिङमा बिताएका शशिन २०७२ असार १३ गते नबिल बैंक आएका थिए। 
 
सञ्चालक समितिसँग फरक मत नभएको भए एक बर्ष मात्र बाँकी हुँदा छाड्नुलाई कसरी बुझ्ने? शशिनले भने- बैंकिङमा ३२ बर्ष काम गरियो। अझै केही गर्ने उमेर बाँकी छ। अरु केही गर्नु परे अलकिति उमेर हुँदै गर्ने हो। आँफूलाई अलिकति सोच्ने मौका पनि हुन्छ भनेर सरसल्लाहमै नबिल छाडेको हुँ। 
 
उनले सञ्चालक समितिमा बिमति रहनु पर्ने कुनै पनि कारण नभएको दावी गर्दै भने- मेरो परफरमेन्सले नै देखाउँछ नि कुनै इस्यु छैन भन्ने। 
 
उनले अर्को प्लेटफर्मका लागि नबिल छाडेको नभइ सरसल्लाहमा छाडेको बताए। 'मैले अरु ठाउँमा जान्छु भनेर कुरा पनि गरेको छैन र अरुले पनि मसँग प्रस्ताव लिएर आएको छैन। कसैले मनमा कुरा राखेको भए थाहा छैन,' उनले भने।
 
उनले अढाइ महिना अगाडि बैक छाड्दै गर्दा आवश्यक परे सक्सेसरका लागि सुझाव दिन सक्ने बताए। 'सक्सेरका लागि मेरो इनपुट उहाँहरु (वोर्ड) ले लिनु हुन्छ होला। त्यसका लागि समय बाँकी छ,' उनले भने, 'सिइओको पोजिसनका लागि तुरुन्तै निर्णय नहोला. अलिकति समय त लागिहाल्छ।'
 
को होला नयाँ सिइओ?
बैंक सञ्चालक समितिले सोमबार नै पूर्ब बैंकर उपेन्द्र पौडेललाई सञ्चालकमा मनोनित गरेको छ। शशिनको बहिर्गमनसँगै सञ्चालक चुनिएका एनएमबी बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत पौडेल नै आगामी सिइओ हुनसक्ने केहीको अनुमान छ। तर पौडेलले भने, 'टेन टु फाइवको जागिरबाट म अघाइसकेको छु।'
 
पौडेलपछि प्रमुख कार्यकारीमा अनिल ज्ञवालीको नाम चर्चामा छ। ग्लोबल आइएमइ बैंकमा कार्यकाल बाँकी छँदै राजिनामा गरेका ज्ञवाली अहिले खाली छन्। उनी यसअघि नबिल बैंकमा चार बर्षे कार्यकाल पुरा गरेर ग्लोबल आइएमइ गएका थिए।
 
ज्ञवालीपछि चर्चामा कृष्ण आचार्य छन्। उनी कर्मचारी सञ्चय कोषमा पूर्ब प्रशासक पनि हुन्। अर्को चर्चामा रहेको नाम हो कृष्ण शर्मा। उनी उपेन्द्र पौडेलअघि बैकको सञ्चालक थिए। उनी राष्ट्रिय बाणिज्य बैंकको पूर्व प्रमुख कार्यकारी अधिकृत पनि हुन्। 

Tata
GBIME
Nepal Life