देशको नम्वर वान ब्राण्ड रुस्लान भोड्काका ४२ वर्ष, यसरी भित्रिएको थियो नेपाल

बिजमाण्डू
२०७४ मंसिर १४ गते १०:२८ | Nov 30, 2017

सन् १९७३ को एक मध्यान्ह। बिजयबहादुर शाह, जावलाखेलमा,  केही साथी र श्रीमती म्यागीसँग घाममा बसेर केकसँग चियाकफि खाँदै थिए। अलि परबाट एक अजङ्गको विदेशी काठको वैशाखी टेकेर उनैतर्फ आयो। त्यो व्याक्तिसँग एक दुव्ली युवती पनि थिइन्।
 
शाहले आफू बसेको कुर्ची विनम्रता साथ उसैका लागि छाडिदिए। उनले सोच्दै थिए, यो खुट्टा नभएको मान्छे कसरी कुर्चीमा बस्ला। बैशाखी फ्याट्ट फालेर, फुर्ती साथ उ कुर्चीमा बस्यो। शाहले चिया अफर गरे,  भने यो केक सेयर गरेर खाऔं। चिया खाँदै उ गफ गर्न थाल्यो।
 
उसले सोध्यो,  बिजय म तिम्रो डिष्ट्रलरी हेर्न चाहन्छु,  के तिमी मलाई देखाउँछैं। उनले जवाफ दिए किन नदेखाउने?  तर शाहलाई मनमनै डर भने थियो। यो अजङ्गको मान्छेलाई कसरी भर्याङ चढाउनु?, डिष्ट्रलरी भित्रै लड्यो भने के गर्नु?
 
भरखर विदेशबाट फर्केर शाहले यो डिष्ट्रलरी सुरु गरेका थिए। उसले डिष्ट्रलरी हेरेपछि सोध्यो? तिमीसँग ल्याव पनि छ। शाहले उसलाई ल्याव पनि देखाए। उसले फेरी सोध्यो बिजय तिमी भोड्का पनि बनाउँछौ? शाहले भने मैले त्यही काम त गर्न खोजिरहेको छु।
 
ल भोड्का बनाउँछौ भने म तिमीलाई त्यसको एउटा 'रेसेपि' दिन्छु। 'रेसेपि' पाएपछि शाहका लागि उ गुरु भयो। उनले सोधे तपाईका लागि म केही सेवा गर्न सक्छु। उसले भन्यो मलाई काठमाडौंमा साता दिन बस्ने व्यवस्था मिलाई देउ।
 
काठमाडौंमा नवयुग संगठनको गेष्ट हाउस थियो। बिजयले त्यसका उपाध्यक्ष अखिलेश्वरप्रसाद सिंहलाई फोन गरे। सिंहले भने कोठा त छ तर अलि महँगो। शाहले सोधे कति पर्छ? जवाफ आयो ३० रुपैयाँ। शाहले ३० रुपैयाँ 'एडभान्स'मा पठाइदिए र उसलाई त्यहाँ एक साता बस्ने व्यवस्था मिलाइदिए।
 
बिजयले त्यो मान्छेलाई दोस्रो पटक भेटेनन् , तर उनका लागि त्यो मान्छे कुनै भगवानभन्दा कम छैन्। हिन्दु धर्ममा एउटा भनाई छ, नजाने किस देवता किस बाबाके भेषमे मिल जाय। मलाई त्यही भएको थियो, बिजय शाहले बिजमाण्डूसँग भने।
 
बिजय शाहलाई जाउलाखेलमा भेट्ने त्यो मान्छे रसियन थियो। उसको साथमा आएकी युवती भियतनामी थिइ। भियतानी युद्धमा उसले खुट्टा गुमाएको थियो। खुट्टा गुमाएपछि उसका लागि वैशाखी सहारा बनेको थियो। शाह भन्छन्, रसियामा हुँदा उसको परिवार भोड्का उत्पादनमा संलग्न थियो। त्यहींबाट उसले भोड्काको 'रेसेपि' सिकेको थियो।
 
भियतनामी युद्धमा खुट्टा गुमाएपछि उ काठमाडौंमा आयो। उ सुरुमा काठमाडौं डिष्ट्रलरीमा पुग्यो। त्यहाँ उसलाई कुकुरले टोक्यो। मसँग आउँदा उ केही 'डिमोरलाइज्ड' थियो।
 
शाहले भने,  ती डिष्ट्रलरीले त्यो रसियनलाई महत्व दिएको भए आज भोड्कामा हाम्रो जे अवस्था छ, सायद उनीहरुको हुन सक्थ्यो। कारण जे भए पनि त्यो रसियन मेरा लागि भगवानले पठाएको एउटा सुन्दर उपहार थियो, उनले भने।

Tata
GBIME
Nepal Life

जनकपुरमा रसियनहरुले हाइवे बनाउँदै थिए। उनी त्यो बाटो भएर पटक पटक ओहोर दोहोर गरे। बाँकी नेपालमा रम, ह्वस्कीको बजार थियो तर जब उनी जनकपुर पुग्थे त्यहाँ पुगेपछि उनले मदिराको फरक बजार देख्थे। रसियनहरु हाइवेका छेउँमा रसियन जीप माथि बसेर मस्त भोड्का पिउँथे।
 
उनलाई यही कारणले भोड्कामा मन बसिसकेको थियो। त्यसमाथि उनको रुसी राजदूतसँग पनि भेटघाट हुन्थ्यो। जब उनले भोड्का बनाउने निर्णय गरे त्यसपछि उनले रसियन राजदूतलाई सोधे नाम के राख्दा उपयुक्त होला? उनलाई जवाफ आयो रुस्लान। उसले भन्यो, रुस्लान जारले पनि मन पराउँछन्। कम्युनिष्टले पनि रुस्लानलाई माया गर्छन्।
 
शाह त्यही नाम लिएर उद्योग विभागमा गए। विभागका मान्छेले हाँसेर उडाए यो कस्तो नाम हो। तैपनि रुस्लान नाम दर्ता भयो। त्यसको इम्बेलम बन्यो इगलसहित सेन्ट जर्जेजको क्रस। जुन निलो रंगमा छ। ४२ वर्ष अघिको त्यो इम्बेलम पनि उनलाई तिनै रुसी राजदूतले सुझाएका थिए। अहिलेसम्म त्यही इम्बेलम सुधार हुँदै आएको छ। र रुसलान भोड्कालाई त्यसले पहिचान दिलाइरहेको छ।
 

विजय शाहले ४२ वर्ष अघि सुरु गरेको रुसलान भोड्काको खोलमा अहिले लेखिएको छ, प्रत्येक वर्ष दश लाख बोतलभन्दा बढी विक्रि हुने मदिरा। नेपालको मदिरा बजारमा सम्भवत यो भोड्का सबैभन्दा धेरै विक्री हुने ब्राण्ड पनि हो।
 
केही समय पहिलेसम्म यो भोड्का शाहकै पारिवारिक स्वामित्व भएको एशियन डिष्ट्रलरीले उत्पादन गर्दथ्यो। केही साता अघिदेखि उनैको परिवारको स्वामित्व भएको अर्को कम्पनी विजय डिष्ट्रलरीबाट यो उत्पादन भैरहेको छ।
 
विजय डिष्ट्रलरीले उत्पादन सुरु गरेपछि यसको बोटलिङ मात्रै होइन प्याकेजिङ पनि परिवर्तन भएको छ। यसको स्तरीयता अझै बढाइएको छ, गुणस्तर र स्वाद बढाउनका लागि एक अर्व ३५ करोड रुपैयाँ थप लगानी गरेर नयाँ प्लान्ट समेत राखिएको छ। ठूलो मात्रामा लगानीको एउटा कारण हो, भोड्कामा हुने मिसावटमा रोक।

सन् १९९२ मा बिजय शाह अमेरिकाबाट केमिकल इन्जिनियरिङ पढेर फर्किएका थिए। उनीभन्दा अघिल्लो चार पुस्ताले मदिरा उत्पादनमै आफ्नो जीवन बिताएको थियो। उनी पाँचौं पुस्तामा थिए। अमेरिकाबाट फर्केपछि शाहलाई उनका बुबाले सोधे के गर्छौ? उनले भने म पनि मदिराको प्लान्ट लगाउँछु।
 
उनले प्लान्ट लगाउनका लागि बाबुसँग पैसा मागे। पैसाका लागि केही शर्तहरु तयार भए। हालेको पैसामध्ये आधा रकम कम्पनीमा बुबाको सेयरका रुपमा रहने। बाँकी आधा रकम मात्रै बिजयको नाममा रहने र त्यो रकमको साँवा र व्याज फिर्ता गर्नुपर्ने।
 
शर्तसहित पैसा लिन राजी भएपछि बिजयका बाबु मज्जाले हाँसे। अहिलेसम्म मैले यस्तो बिजनेशम्यान देखेको थिइनँ। काम पनि गर्ने, जोखिम पनि उठाउने, अनि आधा सेयर पनि दिने र बाँकी पैसाको साँवा र व्याज पनि तिर्ने! मैले परिवारबाट सम्पत्ती नलिने संकल्प गरेको थिएँ। त्यसै कारण यो शर्त मेरा लागि बाध्यता थियो, शाहले भने।
 
उनले भोड्काको प्लान्ट लगाउने निर्णय गरे। उनले त्यसमा दुई फाइदा देखेका थिए, एउटा बजारमा नयाँ स्वादमा मदिरा आउने र दोस्रो प्रतिश्पर्धाविहिन। किनकि त्यति वेलासम्म नेपालमा मात्र होइन भारतमा समेत भोड्का बनेको थिएन्। तर ह्वीस्की र रमले बनाएको बजारका लागि यो ठूलो जोखिम भने थियो।
 
उनले भोड्का उत्पादनका लागि परम्परागत भट्टामा निर्भर भएनन्,  उनले त्यतिवेलाको आधुनिक प्लान्ट लगाउन थाले। शाह भन्छन्, त्यतिवेला फाइभ कोलन प्लान्ट लगाएको थिएँ, जुन एशियाली बजारमै नयाँ थियो।
 
उनले सन् १९७३ को दशैंको अघिल्लो दिन भोड्का उत्पादन गरे। पहिलो बोत्तल उनका बाबुले भरे, दोस्रो बिजय शाहले। यही बेला त्यही रसियनको 'रेसेपि'ले काम गर्यो। अर्को दशैंसम्म उनले चार हजार केश भोड्का विक्रि गरेका थिए।


 

बितेको चार दशकमा भोड्कालाई अझ बढी स्मुद र गुणस्तरीय बनाउन स्वाद २५ पटकभन्दा बढी परिमार्जित गरिएको छ। बजार लाखौं गुणाले बढ्यो। साथमा बिजय शाहको जीवनमा पनि ठूलै उतारचढावहरु आए।

जब बिजनेशले यु टर्न लिंदै थियो। त्यतिवेला शाहका जेठा छोराको २६ वर्षको उमेरमा सन् १९९२ मा निधन भयो। मैले बिजनेशमा सबै इन्ट्रेष्ट गुमाएँ,  अमेरिकी श्रीमती म्यागीलाई पनि बिजनेशमा इन्ट्रेष्ट रहेन्। शाह आफैलाई पनि हर्ट अट्याक भयो। उनले करिव पाँच वर्ष बिजनेश छाडे।
 
उनका कान्छा छोरा राजबहादुर शाह जब विदेशमा पढेर स्वदेश फर्किए। उनले भने, बुबा के तपाईं मेरालागि पनि काम नगर्ने? छोराको प्रश्नले शाहलाई झक्झकायो। उनले भने, तिमी बिजनेश गर। म तिमीलाई गाइड गर्छु। रिसर्चमा सघाउँछु।
 
शाहले हिमालयन डिष्ट्रिलरीको सबै सेयर छोरा राजको नाममा ट्रान्सफर गरे,  राजले प्रशासन, व्यवस्थापन र बजार हेर्न थाले। शाहले आफ्नो लक्की ब्राण्ड रुस्लानको फर्मुलेशन रिव्युल्ड गर्न थाले। र त्यसको केन्द्रमा थियो, रुस्लानबाट स्मेल आउनुहुँदैन् तर स्मुथ हुनुपर्छ। साथसाथै टेष्टी मात्रै भएर हुँदैन् प्लेजेन्ट टु डिङ्क हुनुपर्छ।
 
भोड्काको फर्मुलेशन रिव्युल्डमा बाबु बिजय तथा बजार र व्यवस्थापनमा छोरा राजको जोडीवीच पर्फेक्ट व्लेण्ड भयो। नतिजा सबैलाई आश्चर्यमा पार्ने गरी आयो। केही वर्ष अघिसम्म रम  त्यसपछि ह्वीस्कीको बजारमा भोड्काले हमला गर्यो। आज देशभरमा धेरै कम्पनीले, धेरै सेगमेन्टमा, धेरै ब्राण्ड उत्पादन गर्छन तर सबैभन्दा बढी विक्रि हुन्छ, ब्राण्ड रुस्लान। ब्राण्ड रुस्लानको भोड्का।