बिल गेट्सले यसरी देखेका थिए भविष्य, बेतुक भनिएका १५ अनुमान, जो साकार हुँदा अर्बपति

बिजमाण्डू
२०७४ मंसिर १४ गते १०:२६ | Nov 30, 2017

एजेन्सी । सन् १९९९ मा बिल गेट्सले एउटा पुस्तक प्रकाशन गरेका थिए, यसको शीर्षक थियो 'बिजनेश एट दि स्पिड अफ थट।' यो पुस्तकमा उनले १५ वटा अनुमान गरेका थिए जुन त्यतिबेला बेतुकको जस्तै सुनिएको थियो तर अहिले वास्तविकतामा परिवर्तन भएको छ ।

Tata
GBIME
Nepal Life

के के थिए त ४४ वर्षको उमेरमा गेट्सले गरेका १५ अनुमान ? उनका अनुमान कति मिले वा मिलेनन्, वाणिज्य शास्त्रका एकजना विद्यार्थी मार्कस किर्जोनेनले गेट्सका त्यतिबेलाको अनुमान र अहिलेको वास्तविकताको तुलना गरेका छन् ।

१ वेवसाइटबाटै मूल्यको तुलना
गेट्सले अनुमान गरेका थिए, 'वस्तुको मूल्य स्वचालित रुपमा हुनेछ । जसका लागि मानिसहरुले एउटै सामानको मूल्य थाहा पाउन विभिन्न वेवसाइटको प्रयोग गर्नेछन् । यसका कारण उत्पादक कम्पनीले न्यून मूल्यका कमसल सामान उत्पादन गर्न पाउने छैनन् ।'

अहिले के भइरहेको छ: गेट्सले भनेजस्तै अहिले मानिसहरु गुगल, अमेजन जस्ता विभिन्न साइटहरुबाट एउटै वस्तुको फरक फरक मूल्य थाहा पाइरहेका छन् । नेक्सट्याग, प्राइस ग्राबरजस्ता साइटहरु विशेषगरी यस्तै कामका लागि बनेका छन् ।

२ मोवाइल उपकरण
गेट्सले अनुमान गरेका थिए, 'मानिसहरुसँग एउटा सानो विद्युतीय उपकरण हुनेछ । त्यसकै सहायताले उनीहरु जहाँछन् त्यहीँबाट आफ्नो व्यवसाय अगाडि बढाउने छन् । उनीहरु त्यसैबाट समाचारहरु पढ्नेछन्, आफूले बुकिङ गरेका फ्लाइटका बारेमा जानकारी लिनेछन्, वित्तीय बजारका बारेमा जानकारी हासिल गर्नेछन् र आफूलाई आवश्यक पर्ने सबै काम यही उपकरणबाट गर्नेछन् ।'

अहिले के भइरहेको छ: मानिसहरुले विभिन्न स्मार्टफोन तथा स्‍मार्टवाचबाट यी सबै काम गरिरहेका छन् ।

३ अनलाइन पेयमेन्टवेबबाटै आफ्नो स्वास्थ्यको हेरचाह
गेट्सले अनुमान गरेका थिए, 'मानिसहरु आफ्नो बिल तिर्ने, आफ्ना वित्तीय कारोबार तथा तिनको अवस्थाका बारेमा जानकारी र स्वास्थ्यका बारेमा चिकित्सकसँग परामर्श इन्टरनेटबाट नै गर्छन् ।'

अहिले के भइरहेको छ: प्रविधिले मान्छेको स्वास्थ्यको हेरचाहका विषयमा त्यति ठुलो परिवर्तन त गरेको छैन तर जोकडक जस्ता साइटको सहयोगमा मानिसहरु चिकित्सकसँग समय लिने काम तुरुन्तै गर्न सक्छन् । तपाईंले लेन्डिङ क्लब जस्ता साइटहरुबाट तत्कालै पैसा सापटी लिन सक्नुहुन्छ भने पैसा तिर्न पनि पेपपल र भेन्मोजस्ताबाट सजिलै सक्नुहुन्छ ।

४ व्यक्तिगत सहायता र वस्तुहरुको इन्टरनेट 
गेट्सको अनुमान थियो, 'व्यक्तिगत सहकार्यको विकास हुनेछ । तिनीहरु तपाईंको डिभाइसमा कनेक्ट हुन्छन र सबै कुराहरु सिंक्रोनाइज गरिदिन्छन्, तिनीहरु घरमा हुन् वा अफिस । तिनीहरुले तपाईंलाई विभिन्न डेटा साटासाट गर्न पनि सहयोग गर्छन् । त्यही डिभाइसले तपाईंको इमेल चेक गर्छ, नोटिफिकेसन हेर्छ र तपाईंलाई आवश्यक परेका सबै तथ्यांक उपलब्ध गराउँछ । जब तपाईंले केही कुरा त्यसमा जम्मा गर्नुहुन्छ, उसले तपाईंलाई चाहिएकै कुरा तयार गरिदिन्छ र तपाईले त्यसलाई आफ्नो आवस्यकता अनुसार लिन सक्नुहुन्छ । यसले तपाईंलाई विभिन्न सामान किन्ने समय तालिकाबारे सुसूचित गराउँछ भने तपाईं के गर्दै हुनुहुन्छ भन्ने कुरा पनि आफैं जानकारी गराउँछ ।'

अहिले के भइरहेको छ: तपाईंको अहिलेको सबैभन्दा ठुलो सहयोगी गुगल भएको छ । यसले तपाईंलाई सबै कुरा जानकारी गराउनुका साथै तपाईंलाई दिशा पत्ता लगाउन पनि सहयोग गर्छ । नेस्ट जस्ता स्मार्ट डिभाइसहरुले तपाईंको दैनिक जीवनका तथ्यांक संकलन गर्छ र घरको तापक्रम पनि आफैं समायोजन गर्छ । बेकन्सले तपाईंलाई कुपन लिएर सामान किन्ने तपाईंको बानी पनि परिवर्तन गरिदिन्छ । 

५ अनलाइन होम मोनिटरिङ
गेट्सले भनेका थिए, 'तपाईंको घरमा सधैं भिडियो फिड सधैं चलिरहेको हुन्छ जसका कारण तपाईं नभएको घरमा कोही आएमा त्यसले तपाईंलाई जानकारी दिन्छ ।'

अहिले के भइरहेको छ: ड्रपक्यामले तपाईंलाई घरायसी निगरानी राख्ने क्यामेरा बेच्दछ । यसले घरको सजिलै निगरानी गर्छ । गुगलले २०१४ मा यो कम्पनी ५५ करोड ५० लाख डलरमा यो कम्पनी किनेको थियो ।

६ सामाजिक सञ्जाल
गेट्सले अनुमान गरेका थिए, 'व्यक्तिहरुका आ-आफ्नै निजी वेवसाइट हुनेछन् जसले तपाईंका साथी परिवारका सदस्य साथीहरुका रुपमा रहन्छन् । उनीहरुसँग तपाईंले च्याट गर्न सक्नुहुन्छ भने आफूले गर्ने कामका योजना सुनाउन सक्नुहुन्छ ।'

अहिले के भइरहेको छ: अहिले फेसबुट, इन्स्ट्राग्राम जस्ता सामाजिक सञ्जाल चलिरहेका छन् जसबाट तपाईंले यी काम गर्न सक्नुहुन्छ ।

७ स्वचालित प्रवर्द्धनात्मक अफर
गेट्सले अनुमान गरेका थिए, 'भविष्यमा यस्ता सफ्टवेयर बन्नेछन् जसले तपाईंले भ्रमणका लागि बुक गरेका क्षेत्रका बारेमा तपाईंलाई विभिन्न सूचना दिनेछन् र स्थानीय गन्तब्यका बारेमा जानकारी पनि दिनेछन् । यसले त्यहाँका क्रियाकलाप, छुटका अफर, त्यस ठाउँका बारेमा विस्तृत जानकारी, सस्तो मूल्य जस्ता कुराहरु जानकारी दिन्छ ।'

अहिले के भइरहेको छ: ट्राभल साइटहरु एक्सपेडिया तथा कायाक लगायतले तपाईंले खरीद गरेका डेटाका बारेमा थप जानकारी दिन्छ । गुगल तथा फेसबुकमा आउने विज्ञापनले तपाईंलाई विभिन्न गन्तब्य तथा रुचीका विषयमा जानकारी दिन्छ ।

८ लाइभ स्पोर्टस डिस्कसन साइट
गेट्सले अनुमान गरेका थिए, 'जब तपाईं टेलिभिजनमा कुनै खेलकुद प्रतियोगिता हेरिरहनु भएको हुन्छ, त्यतिबेला नै तपाईंले लाइभ छलफल गर्ने अवस्था पनि सिर्जना हुन्छ । त्यस्तै तपाईंले कुन पक्षले जित्छ वा हार्छ भनेर भोट गर्ने ठाउँ पनि सिर्जना हुन्छ ।'

अहिले के भइरहेको छ: सामाजिक सञ्जालहरुले अहिले यो सुविधा दिएका छन् । अहिले ट्विटर यसमा अगाडि देखिएको छ । तपाईंले इएसपिएन जस्ता साइटमा आफ्नो कमेन्ट तत्कालै दिन सक्नुहुन्छ ।

९ स्मार्ट विज्ञापन
गेट्सले अनुमान गरेका थिए, 'स्मार्ट विज्ञापनका डिभाइस बन्नेछन्, तिनीहरुले तपाईंका खरीद गर्ने प्रवृत्ती र तपाईंको क्षमता अनुसारका सामानका विभिन्न विज्ञापनहरु देखाउँछन् ।'

अहिले के भइरहेको छ: अनलाइन विज्ञापनहरु विभिन्न सुविधासहित आएका छन् । उनीहरुले उपभोक्ताको 'क्लिक हिस्ट्रि', व्यक्तिगत चाहना तथा खरीद गर्ने प्रवृत्ति देखाउँछ ।

साटइहरुको टिभि लाइभमा लिंक
गेट्सले अनुमान गरेका थिए, 'टेलिभिजन प्रसारणहरुमा समान प्रसंगका वेवसाइटहरु लिंक गरिनेछ र जसबाट दर्शकले पूरक सामग्री त्यहाँबाट पाउनेछन् ।'

अहिले के भइरहेको छ: अहिले धेरैजसो खेलकुद च्यानलहरुले यो सुविधा थप गरिसकेका छन् । उनीहरुले विशेष साइटहरुको सुविधा थपेका छन् । उनीहरुले खेलकूद समूहको ट्वीटर ह्याण्डलसमेत समावेश गर्न थालिसकेका छन् ।

११ अनलाइन छलफल
गेट्सले अनुमान गरेका थिए, 'विभिन्न शहर तथा देशहरुले कुनै खास मुद्दाका विषयमा मानिसहरुको धारणा लिन यस्ता छलफल गर्न थालेका छन् । राजनीतिक, सहरी विकास अथवा सुरक्षाका विषयमा यस्ता छलफल हुने गरेका छन् ।'

अहिले के भइरहेको छ: धेरै अनलाइन साइटका कमेन्ट सेक्सनमा मानिसहरुले लाइभ छलफल गर्न सक्छन् । विभिन्न साइटहरुमा मानिसले प्रश्न सोध्ने र जवाफ पाउने पनि व्यवस्था छ । यसमा फेसबुक र ट्विटरले लिबिया, इजिप्ट र ट्यूनिसियामा भएका राजनीतिक क्रान्तिको बारेमा यस्तै सेवा दिएका थिए ।

१२ इन्टरनेटमा आधारित अनलाइन साइटहरु
गेट्सले अनुमान गरेका थिए, 'अनलाइन प्रयोगकर्ताहरु आफ्ना भौगोलिक क्षेत्र भन्दा पनि रुचीबाट धेरै प्रभावित हुनेछन् ।'

अहिले के भइरहेको छ: अहिले धेरै अनलाइन साइटहरु एउटामात्रै विषयमा आधारित भएर सञ्चालन हुन थालेका छन् । धेरै समाचार साइटहरुले विषय केन्द्रित छुट्टाछुट्टै साइट बनाउन थालेका छन् । जसले धेरै गहिराईमा सूचना दिन्छ ।

१३ प्रोजेक्ट म्यानेजमेन्ट सफ्टवेयर
गेट्सले अनुमान गरेका थिए, 'आयोजना प्रमुखहरु आफ्नो टिमलाई एक ठाउँमा राखेर अनलाइनमार्फत काम गराउन सफल भएका छन् । उनीहरुले आयोजनाको बारेमा विस्तृत वर्णन गर्न तथा विभिन्न सुझाव संकलनका लागि यस्ता फोरम प्रयोग गर्छन् । प्रमुखहरुले मानिसहरुका सुझावहरु पनि प्राप्त गर्न सक्छन् ।'

अहिले के भइरहेको छ: अहिले धेरै सफ्टवेयरहरुले तपाईंलाई कर्मचारी भर्नादेखि आफ्नो टिम बनाउने र उनीहरुलाई काममा कसरी लगाउने भन्ने विषयमा धेरै जानकारी दिइरहेका छन् ।

१४ अनलाइन कर्मचारी भर्ना
गेट्सको अनुमान थियो, 'मानिसहरु जो रोजगारीको खोजीमा हुन्छन्, उनीहरुले अनलाइनबाट नै अवसरहरु खोज्न सक्छन् र आफ्नो आवस्यकता, रुची र क्षमताका आधारमा रोजगारी पाउन सक्छन् ।'

अहिले के भइरहेको छ : लिंकेडिन जस्ता साइटहरुमा तपाईंले आफ्ना बायोडाटा अपलोड गर्न सक्नुहुन्छ जसले तपाईंलाई जागिर खोज्न सहयोग गर्छ । रोजगारदाताले पनि क्षमताका आधारमा कर्मचारी नियुक्त गर्न सक्छ ।

१५ बिजनेश कम्युनिटी सफ्टवेयर
गेट्सको अनुमान थियो, 'कम्पनीहरु विभिन्न कामहरु ठेक्कामा लिन सक्छन् जस्तो ठुला आयोजना निर्माण, चलचित्र निर्माण वा विज्ञापन अभियान । यसका लागि ठुला कम्पनीहरुले आउटसोर्सिङ पनि गरिरहेका हुन्छन् । उनीहरुले नयाँ क्लाइन्टसँग काम गर्नु परिरहेको हुन्छ ।'

अहिले के भइरहेको छ: 'अहिले धेरै सफ्टवेयरहरु सामाजिक विषयमा पनि आधारित भएर निर्माण भइरहेका छन् । प्रयोगकर्ताले एपबाट नै आफ्ना ठुला बिजनेश डिलहरु गर्न सक्छन् नकि उनीहरुले बसेरै छलफल गर्नुपरोस ।' स्रोत वर्ल्ड इकोनोमिक फोरम