क्रिस्टलले चम्काउँदैछ महिला व्यवसायीको जीवन, घरमा नै बसेर गर्न सकिन्छ राम्रो ब्यापार

बिजमाण्डू
२०७४ मंसिर १३ गते १०:०९ | Nov 29, 2017
क्रिस्टलले चम्काउँदैछ महिला व्यवसायीको जीवन, घरमा नै बसेर गर्न सकिन्छ राम्रो ब्यापार
ललितपुर। ललितपुर महानगरपालिका–१६ न्याखाचोककी सुचित्रा शाक्यलाई कुनै दिन आफू पनि व्यवसायी बन्न सक्छु भन्ने लागेको थिएन। तर आफूजस्तै महिलाले पनि विभिन्न व्यवसाय गरेर आर्थिक उपार्जनका साथै सामाजिक हैसियत बढाएको देख्दा भने उनलाई पनि भित्रैबाट व्यावसायिक भावना आएको थियो। उनी महिलालाई सीप, लगानी र प्रविधि दियो भने केही गर्न सक्छन् भन्ने आँट आउने बताउँछिन्। 
 
उनले सानो उमेरदेखि नै कुनै न कुनै व्यावसाय गर्नुपर्दछ भन्ने संस्कारमा हुर्किएकाले सरकारी वा अन्य निकायमा जागिर खाने सोच कहिल्यै बनाइनन्। माइती घरमा तिब्बती, नेवारी संस्कृति झल्किने चाँदीका हस्तकलाका सामान बनाउने पुख्र्यौली व्यवसाय छ। सुचित्राका श्रीमान पनि चाँदीका विभिन्न देवीदेवताका मूर्ति बनाउने गर्छन्। ती सामान पोखरा, मुस्ताङमा लगेर पनि बिक्री गर्ने गरिएको छ। 
 
‘पाँच वर्षअघिसम्म हप्तैपिच्छेजसो सामान पठाउने, कहिले आफैं लिएर जाने गरिन्थ्यो तर अहिले चार–पाँच महिनामा एकपटक बिक्री गर्न जाने गरेका छौं’ उनले भनिन्। भूकम्पपछि भने यसखालको व्यापार ठप्पजस्तै भएको छ। 
 
जापान सोसल डेभलपमेन्ट फन्डको वित्तीय सहयोग तथा विश्व बैंकको सञ्चालन/प्रबन्धमा ललितपुर महानगरपालिकाबाट कार्यान्वयन भइरहेको गरिबउन्मुख सहरी पुनरुत्थान नमूना परियोजनाको सहयोगमा सशक्तीकरण समाज नेपाल (स्टेप नेपाल) ले सञ्चालन गरेको सात दिनको क्रिस्टलको तालीम लिएपछि धेरै ज्ञान, सीप हासिल भएको छ। 
 
उनीसँगै तालिम लिएका अन्य २४ जनाले पनि यसलाई व्यवसायको रुपमा अगाडि बढाइरहेका छन्। व्यावसायिक रूपमा अगाडि बढाउन बजारको सुनिश्चितता हुनुपर्नेमा उनीहरूको सामूहिक आवाज छ। 
 
स्थानीय बेरोजगार, अर्धवेरोजगार युवा एवम् घरमै बस्ने गृहिणीहरूलाई यस प्रकारका कृयाकलापमा संलग्न गराउन उत्प्रेरित गर्ने र शहरी गरिबी न्यूनीकरण गर्न मद्दत पुर्याउने उद्देश्यले यो परियोजना मंगलबजार र वरिपरिका क्षेत्रहरु (तत्कालीन ललितपुर उपमहानगरपालिका वडा १६, १८, २१ र २२; हालका ११, १६ र २० वडाहरू) मा २०७३ चैत्रदेखि २०७४ भाद्रसम्म सञ्चालन गरिएको थियो। 
 
पहिले त न्याखाचोककी कमला शाक्यलाई पनि व्यवसाय गर्न सकिएला भन्ने विश्वास थिएन, त्यसमाथि पनि पर्यटकका लागि लक्षित गरी सामान निर्माण गर्ने भन्ने कुरा मैले त सोच्न पनि सकेकी थिइनन्। अरुले बेचेको देख्दा कसरी बनाए होलान् जस्तो लाग्दथ्यो उनलाई। 
 
कमला भन्छिन्- पहिले घरबाट बाहिर निस्कन सक्ने अवस्था थिएन तर अहिले बजारमा आफ्ना सामानहरू बिक्रीका लागि जान थालेको छु।
 
साधारण लेखपढ मात्र गर्न जानेकाले व्यापारीहरूसँग कुरा गर्न र हिसाबकिताब राख्न केही कठिनाइ भएको उनी बताउँछिन्। मैले तालीम लिएर काम थालेपछि कतिपय दिदीबहिनीहरू पनि मसँग आएर सिक्न थालेका छन्। 
 
तालीममा उनीहरूलाई रानीहार, मोती र क्रिस्टलका चुरा, औंठी, रिङ बनाउने सीप सिकाएको थियो। यस्ता सामग्रीहरू पर्यटकका लागि पनि मन पर्ने भएकाले राम्रो आम्दानी गर्न सकिने सम्भावनालाई हेरेर नै परियोजनाले सीपमूलक तालीम प्रदान गरिएको स्टेप नेपालका अध्यक्ष दलबहादुर जीसीले बताए। शहरी क्षेत्रमा विभिन्न संस्थाहरूले यस किसिमका तालीमहरू सञ्चालन गरेकाले क्रिस्टलका सामानहरू बनाउनेहरूबीच एकरुपकता आउन सकेको छैन। 
 
बजारमा अस्वस्थ्य प्रतिस्पर्धा नहुने हो भने यसमा मुनाफाको प्रतिशत राम्रै रहेको उनी बताउँछन्। यस कार्यमा श्रीमानबाट कमलालाई पूर्ण सहयोग मिलेको छ। उनी भन्छिन्- कुनै पनि व्यवसाय गर्न परिवारको साथ र सहयोग भएन भने अगाडि बढ्न सकिंदैन। 
 
कहिलेकाहीँ भनेको जस्तो सामान नपाउँदा मागअनुसारको सामान उत्पादन गर्न कठिनाइ हुने गरेको उनको अनुभव छ। 
 
न्याखाचोककी ललिता बज्राचार्यलाई पनि क्रिस्टलको व्यवसाय राम्ररी फापेको छ। घरधन्दा गरेर बचेको समय उनी क्रिस्टलको माला बनाउने काम गर्छिन्। तालिमपछिको दुई महिनाको अवधिमै उनले माला र चुरा बिक्री गरेर २०/२५ हजार रुपैयाँ आम्दानी गरेको बताउँछिन्। तालीमकै क्रममा पनि उनले काठमाडौँको महाबौद्धबाट कच्चा पदार्थ ल्याएर २० हजार रुपैयाँ जति त कमाएकी थिइन्। अधिकांश महिलामा अहिले पोतेको मालाको सट्टा मोती, क्रिस्टलका गहनाहरूतर्फ आकर्षण बढेको छ।
रासस

Tata
GBIME
Nepal Life