कित्ताकाट रोकिए पनि जग्गा कारोबार घटेन, ४ महिनामा ५ अर्ब राजश्व, ठूल्ठूलो प्लटनै किनबेच

बिजमाण्डू
२०७४ मंसिर ८ गते १७:२७ | Nov 24, 2017
काठमाडौं । सरकारले खेतियोग्य जमिनको खण्डिकरण रोक्न वर्षमा एक पटक मात्र कित्ताकाट गर्न पाउने नियम बनाएपनि घरजग्गा रजिष्ट्रेशन मार्फत आउने राजश्व घटेको छैन।
 
सरकारले चालु आर्थिक वर्षको पहिलो ४ महिनामा करिब ५ अर्ब ४६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ। जुन समग्र लक्ष्यको १२३ प्रतिशतले बढी हो।सरकारले कात्तिक महिनाको लागि राखेको एक अर्ब ४७ करोडको राजश्व लक्ष्य भने पूरा हुन सकेन। चालु आर्थिक वर्ष लागे सँगै हरेक महिना लक्ष्य भेटाउँदै आएपनि कार्तिक महिनाको लक्ष्य भने भेट्न नसकेको भूमिसुधार विभागले जनाएको छ।


 
गत वर्ष कार्तिक महिनामा एक अर्ब १२ करोड रुपैयाँ राजश्व लक्ष्य राखिएकोमा एक अर्ब ३७ करोड रुपैयाँ संकलन भएको थियो। जुन लक्ष्यको १२२ प्रतिशतले बढी थियो।
 
यो वर्ष भने कार्तिक महिनामा लक्ष्यको ९९ प्रतिशत मात्र राजश्व संकलन भएको छ। कार्तिक महिनाको लक्ष्य नभेटाएपनि समग्रमा भने राजश्व लक्ष्य भन्दा १२३ प्रतिशतले बढेको छ।
 
सरकारले कित्ताकाटमा रोक लगाएपछि ठूल्ठूलो प्लटको कारोबार हुन थालेको एक व्यवसायीले जानकारी दिए। चालु आर्थिक वर्ष लागेपछि कात्तिकमा मात्र लक्ष अनुरुप राजश्व संकलन हुन नसकेको विभागले जनाएको छ। साउन, भदौ र असोज महिनामा भने लक्ष्य भन्दा बढी राजश्व उठेको थियो। अहिलेसम्म विभागले सबै खाले राजश्व शुल्क जोडेर ६ अर्ब रुपैयाँ संकलन गरेको छ। 
 
उपत्यकामा भक्तपुर र कलंकी मालपोत कार्यालयको राजश्व सामान्य घटेको भएपनि अन्य सबैजसो कार्यालयले गत महिनाकोभन्दा धेरै कर उठाएका छन्। कात्तिकमा ललितपुर मालपोत कार्यालयले सबैभन्दा बढी १६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ। असोजमा भने कार्यालयले १३ करोड रुपैयाँ मात्र संकलन गरेको थियो।
 
काठमाडौं मालपोत कार्यालय डिल्लीबजारले पनि कात्तिकमा १५ करोड रुपैयाँ राजश्व संकलन गरेको छ। अघिल्लो महिना भने कार्यालयले १२ करोड रुपैयाँ संकलन गरेको थियो।
 
असोजमा १२ करोड रुपैयाँ राजश्व उठाएको कलंकी मालपोत कार्यालयको भने कात्तिकमा तीन करोडले संकलन घटेको छ। भक्तपुर र चावहिल मालपोत कार्यालयले भने दुवै महिनामा ९/९ करोड रुपैयाँ राजश्व संकलन गरेका छन्। अन्य मालपोत कार्यालयले दुवै महिनामा २ देखि ४ करोड रुपैयाँसम्म राजश्व संकलन गरेका छन्।

Tata
GBIME
Nepal Life