पेप्सीकोले उत्पादन गरेको कुरकुरे नेपालको भएको अदालतको ठहर, आयातमा प्रतिवन्ध लगाउन आदेश

बिजमाण्डू
२०७४ मंसिर ८ गते १०:२२ | Nov 24, 2017
पेप्सीकोले उत्पादन गरेको कुरकुरे नेपालको भएको अदालतको ठहर, आयातमा प्रतिवन्ध लगाउन आदेश

काठमाडौं।विदेशबाट आयात हुने कुरकुरे आयातमा रोक लगाउन पाटन उच्च अदालतले आदेश दिएको छ।

Tata
GBIME
Nepal Life

बहुराष्ट्रिय कम्पनी पेप्सीकोले उत्पादन गर्ने चर्चित ब्राण्ड कुरकुरे नेपालकै उत्पादन भएको भन्दै आयातमा रोक लगाउन आदेश दिएको हो।नेपालमा दुगड स्पाइस एण्ड फूड्स प्रोडक्ट्सले आफूले उत्पादन गरिरहेको कुरकुरेसँग हुबहु मिल्ने भारत लगायत तेस्रो मुलुकबाट आयातमा रोक लगाउन अदालतमा रिट दर्ता गरेको थियो।

अदालतले बुधबार नेपालको दुगड समूहको उत्पादनसँग हुबहु मिल्ने कुरकुरे आयातमा रोक लगाउन आदेश जारी गरेको ग्लोवल ल एसोसिएट्सका सञ्चालक जनकराज भण्डारीले बिजमाण्डूलाई बताए।नेपालमा भारतीय बजारमा उत्पादन भैरहेको कुरकुरेको बजार हिस्सा अधिक रहेको छ। नेपाली उत्पादनले बजार नलिएपछि विदेशबाट  आयात हुने कुरेकुरेमा रोक लगाउन भन्दै सार्वजनिक सूचना समेत जारी गरेको थियो। 

अमेरिकाबाट भारत हुँदै नेपाल आएको कुरकुरे
अमेरिकामा 'पेप्सीको' कम्पनीले उत्पादन सुरु गरेको कुरकुरेलाई भारतमा 'पेप्सीको होल्डिङ कम्पनी' भारतले उत्पादन गरिरहेको छ।

अमेरिकाको भन्दा धेरै बजार हिस्सा भारतमा ओगटेको कुरकुरेले नेपालमा पनि राम्रै बजार पाएको छ।भारतमा सन् १९९९मा कुरकुरे उत्पादन हुन थालेको हो।दिल्ली,लाहोर र कराँचीमा यसको स्वचालित प्लान्ट छ।विदेशमा लोकप्रिय बनिसकेको कुरकुरेको बजार हिस्सा लिनका लागि यो समूहले ०६३ सालमा कुरकुरे नामको ट्रेडमार्क उद्योग विभागमा दर्ता गर्यो।विभागका बौद्धिक सम्पती शाखाका निर्देशक दीपक घिमिरेले भने, 'पेप्सीको होल्डिङ कम्पनी भारतले नेपालमा ०६४ सालमा मात्रै कुरकुरे नामको ठ्रेडमार्क दर्ता गर्न उद्योग विभागमा निवेदन दिएको थियो।'

नेपालको कानुनले पहिले आउने कम्पनीलेनै ट्रेडमार्क पाउने प्रावधानका कारण वास्तविक कुरकुरे उत्पादन गर्ने पेप्सीको कम्पनीले नेपालमा ट्रेडमार्क पाउन सकेको छैन।नेपाल पनि पेरिस महासन्धीको समर्थक मुलुक भएकाले पेप्सीकोले सन्धीको नियम अनुसार नेपालले उक्त ब्राण्डको रक्षा गर्नुपर्ने अडान लिएको थियो। कुरकुरे ब्राण्ड आफ्नै हुनु पर्ने भन्दै पेप्सीकोले उद्योग विभागमा ट्रेडमार्क दावी विरोधको मुद्दा दायर गरेपनि विभागले अहिलेसम्म फैसला गरेको छैन।

०६४ सालमै अर्को कम्पनी मेरिगोल्डले पनि कुरकुरे ब्राण्डका लागि विभागमा निवेदन दिएको थियो। भण्डारीले भने, दुगडले ब्राण्ड दर्ता गरिसकेकोले मेरिगोल्डले उक्त ट्रेडमार्क नपाउने विभागले निर्णय गरेको थियो।तर कुरकुरेको वास्तविक उत्पादक कम्पनीले ट्रेडमार्क दावी विरोधको लागि दिएको निवेदनको अहिलेसम्म फैसला भएको छैन।

‘अनइथिकल प्राक्टिस’मा व्यवसायी
बहुराष्ट्रिय कम्पनीका ब्राण्ड दर्ता गरेर नाफा कमाउने उदेश्यले पछिल्लो समयमा ट्रेडमार्क दर्ता गर्ने क्रम बढेको छ।

व्यवसायीको ‘अनइथिकल प्राक्टिक्स’ले नेपालमा लगानीमा समेत गम्भिर प्रभाव पर्ने देखिएको छ।विश्वमै चर्चित र लोकप्रिय ब्राण्ड नेपालका उद्योगीले सजिलै दर्ता गर्न पाउनु बौद्धिक सम्पत्ति ऐनको बर्खिलाप समेत हो।नेपालमा विश्व व्यापार संगठनको सदस्य भएपछि बौद्धिक सम्पत्तिको रक्षा गर्नु पहिलो कर्तब्य हो।

तर उद्योग विभागका कर्मचारीलार्इ सामान्य ‘नजराना’ चढाएर बहुराष्ट्रिय कम्पनीको ब्राण्ड दर्ता हुने गरेको छ।‘उद्योग विभागका कर्मचारीलार्इ सामान्य नजराना चढाएपछि विश्वका कुनै पनि ब्राण्ड दर्ता हुन्छ।ब्राण्ड दर्ता गर्ने व्यापारीले बहुराष्ट्रिय कम्पनीसँग बार्गेनिङ गरेर नेपालको छबि समेत विगारिसकेका छन्’एक उद्योगीले भने,ट्रेडमार्क खोसिएपछि त्यो कम्पनी नेपाल आउन सक्दैन र लिनका लागि ठूलो रकम मोलमोलाइ हुने गर्छ।‘केही महिना अघि जापानको संयुक्त लगानीको कन्सार्इ नेरोल्याक पेन्ट्सले आफ्नो ट्रेडमार्क खोसिएपछि ब्राण्डको नामनै परिवर्तन गरेर केएनपी पेन्ट्स बजारमा ल्याएको छ।