चमेलियाको बिजुली प्रसारणलाईनमा जोड्न लाइन चार्ज गरिदै, अर्को महिना परीक्षण उत्पादन

बिजमाण्डू
२०७४ मंसिर ६ गते १७:२९ | Nov 22, 2017
काठमाडौं। दार्चुलामा निर्माणाधिन चमेलिया जलविद्युत आयोजनाको बिजुली राष्ट्रिय ग्रिडमा जोड्न अत्तरिया-दार्चुला (बलाच) १३२ केभी प्रशारणलाईन बिहीबार चार्ज गर्न लागिएको छ।
 
अर्को महिना परिक्षण उत्पादन हुने ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनको बिजुली राष्ट्रिय प्रशारणलाईनमा जोड्न पूर्व तयारी गरिएको आयोजना प्रमुख अजय दाहालले बिजमाण्डूलाई बताए।
 
'अर्को महिना डिसेम्बर १२ मा एउटा युनिटको विद्युत उत्पादन परिक्षण गर्ने तयारी छ' दाहालले भने, 'त्यसैको पुर्व तयारीका लागि अत्तरिया दार्चुला १३१ किलोमिटर लामो १३२ केभी प्रसारण लाईनलाई भोलि चार्ज गर्दैछौ।'
 
गत भदौमै परिक्षण सम्पन्न भएको प्रसारणलाईन, बिजुली ल्याउनको लागि चार्ज गर्न लागिएको हो। पूर्वपश्चिम  १३२ केभी प्रसारण लाईनकै बिजुलीले अत्तरिया दार्चुला १३२ केभी प्रसारण लाईनलाई चार्ज गर्न लागिएको दाहालले बताए।
 
कार्तिक महिनाभित्र परिक्षण उत्पादन सुरु गर्ने तालिका भएपनि रेडिएल गेट (सुरुङमा पानी पुर्याउन ड्याममा राखिने गेट) मा समस्या देखिएपछि मर्मतमा समय लाग्ने भएकाले पुषमा मात्र उत्पादन परिक्षण गर्न लागिएको हो।
 
३० मेगावाटको उक्त आयोजना निर्माणको समय पटक पटक थप्दै जाँदा ७ अर्ब लागत अनुमान गरिएको थियो। तर तयार हुँदा १५ अर्ब रुपैयाँ खर्च भइसकेको छ। 
 
ठेकेदार कम्पनीले खनेको सुरुङ खुम्चिएपछि प्राधिकरणले एक अर्ब रुपैयाँभन्दा बढि रकम दिएर खुलाउने निर्णय गरेको थियो। संसदको लेखा समितिले उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएपछि एक वर्षसम्म सुरुङमार्गको काम ठप्प भएको थियो।
 
२०७१ माघदेखि रोकिएको सुरुङमार्गको काम २०७३ असोजदेखि मात्र सुरु भएको थियो। काम सुरु भएको एक वर्ष भित्र सुरुङमार्गको काम सकिएको थियो।

Tata
GBIME
Nepal Life