त्यो अमूल्य नागामाउक रुबी आखिर कसले चोर्यो? राजाका पनाति रुबी खोज्न लण्डनमा भौतारिँदै

बिजमाण्डू
२०७४ मंसिर ६ गते ०९:०६ | Nov 22, 2017
त्यो अमूल्य नागामाउक रुबी आखिर कसले चोर्यो? राजाका पनाति रुबी खोज्न लण्डनमा भौतारिँदै
क्रान्तिका बेला बिपी कोइरालाले हतियार ल्याएको देश म्यानमार यतिबेला चर्चमा छ। त्यहाँका मुसलमानहरुको पलायनको मुद्दाले विश्वस्तरमै चर्चा पाएको छ। 
 
यही देशका एक नागरिक भने बर्षौंदेखि आफ्नो हराएको 'चिज' खोज्न वेलायतसम्म पुगेका छन्। 
 
तर, ती नागरिक न आमसर्वसाधारण हुन्, न त हराएको चिज नै कुनै मामुली बस्तु हो। यु सोइ बिन, म्यानमारका अन्तिम राजा थिबाका बंशज हुन्। र, उनी आफ्नो खान्दानको एउटा अमूल्य बस्तु रुबी खोज्न बेलायत पुगेका छन्।
 
हुन त रुबी एकदमै सानो छ तर यसको भाउ अनमोल छ। यति महँगो छ कि, आजको विश्वमा यसको मूल्य लगाउन कसैले पनि सक्दैन। बर्षौ पहिले रुबीलाई सुरक्षित राख्न कसैको जिम्मा लगाइएको थियो, तर त्यसपछि रुबी गायब भयो।
 
म्यानमारको शाही परिवारको रुबीको नाम 'नागामाउक रुबी' हो। यो रुबी म्यानमारको शाही परिवारको प्रतिष्ठासँग जोडिएको छ। 


अन्तिम राजा थिबका पनाति यु सोइ बिन
 
म्यानमारलाई हामी बर्मा पनि भन्छौं। कुनै बेला यहाँ नेपालकै जस्तो राजसंस्था थियो। १८८५ मा जब अंग्रेजले बर्मामा कब्जा गरे, शाही परिवारलाई केही घण्टामै सबै कुरा छाडेर निष्कन उर्दि जारि गरियो। शाही परिवारको सबै सम्पति, सरसामान अंग्रेज सैनिकले कब्जा गरेर वेलायत पठाए। त्यसबेला कब्जा गरिएका ती सबै सामान आज पनि बेलायतको भिक्टोरिया एन्ड अल्वर्ट म्युकजियममा सुरक्षित छन्। यी सामानसँगै धेरै दस्तावेज पनि त्यहाँ छन्। 
 
बर्माको शाही परिवारलाई लखेट्ने जिम्मा कर्णेल इडवर्ड स्लेडेनलाई दिइएको थियो। बर्माका अन्तिम राजा थिबासँग त्यो महँगो रुबी थियो। देश छाड्ने बेलामा राजालाई रुबी हराउने डर थियो। उनले आफूलाई देश वाहिर पुर्याउन आएका कर्णेल स्लेडेनलाई रुबी संरक्षणका लागि जिम्मा लगाए। स्लेडेनले जब राजाका सबै सामान फिर्ता गरिन्छन्, त्यसबेला रुबी पनि फिर्ता गर्ने बचन दिएका थिए। 
 
जतिपनि सामानहरु कर्णेल स्लेडेनको सेनाले आफ्नो कब्जामा लिएको थियो, ती सबैको सुची बनाइएको थियो। त्यो सुचीमा  'नागामाउक' रुबीको नाम पनि उल्लेख छ।
 
भिक्टोरिया एण्ड अल्बर्ट म्युजियममा जति पनि दस्ताबेज छन्, त्यसमा एक पेन्टिङ पनि छ। त्यो पेन्टिङमा स्पष्टसँग देखिन्छ राजा थिबा आफ्नो सिंहासनमा बसेका छन्। उनको अगाडि सैन्य पोशाकमा एक सिपाही पनि छ। राजा थिवाले सिपाहीलाई केही दिइरहेको पेन्टिङमा देखिन्छ। 
 
पेन्टिङलाई हेरपछि एउटा कुरा त प्रष्ट हुन्छ- अन्तिम राज थिबा आफूसँग भएको रुबी कर्णेल स्लेडेनलाई सुम्पिएका थिए। र स्लेडेनले या त चलाखीपूर्वक रुबी गायव पारे या लापरवाहीका कारण कतै हराए। 
 
अग्रेजले बर्माका राजाको राजपाठ खोसेर उनलाई भारतको महाराष्ट्रस्थित रत्नागिरिमा थुनेर राखेका थिए। थुनामा हुँदै १८८६ मा राजा थिबाले वेलायत सरकारलाई चिठ्ठी लेखेर रुबी फिर्ता गर्न माग गरेका थिए। उनको माग सुनुवाइ भएन। १९११ मा बेलायतमा नयाँ राज चर्ज पञ्चम आए। उनलाई पनि थिबाले पत्र लेखे। तर उत्तर आएन। ३० बर्ष जेलमा बिताएपछि १९१६ मा राजा थिबाको मृत्यु भयो। 
 
राजा थिबाको रुबी फिर्ता गर्ने मागलाई उनकी छोरीले पनि निरन्तरता दिइन्। अब उनका पनाती यु सोइ बिन रुबी खोज्न हिँडेका छन्। उनी कयौं बर्षदेखि बेलायतमा रुबी खोज्दै हिँडेका छन्। खोजकै क्रममा उनी भिक्टोरिया एण्ड अलवर्ट म्युजियममा पनि गए। त्यहाँ उनले त्यसबेलाका सबै दस्ताबेजहरु खानतलास गरे।
 
यु सोइ बिनभन्दा अगाडि उनकी हजुरआमा, हजुरआमापछि काकाले पनि रुबी खोज्ने धेरै प्रयत्न गरेका थिए। तर कुनै नतिजा निस्किएन। 
 
नागामाउक रुबीका बारेमा धेरै थरीका कथाहरु बनेका छन्।
 
भनिन्छ ब्रिटिस साम्राज्यमा रुबीको नामनिसाना मेटाउनका लागि धेरै तरिकाहरु अपनाइएको थियो। तर लण्डनमा यो रुबीको अवशेस अझै पनि कहीँ न कहीँ देखिन्छ। इन्टरनेटमा बेलायतकी महारानीको जुन मुकुट देखिन्छ त्यसमा रुबी लगाइएको देखिन्छ।
 
यद्यपी त्यो बर्माबाट ल्याइएको रुबी नै हो भनेर चै दावी गर्नसक्ने अवस्था छैन। 
 
यु सोइ बिन रुबी खोज्न टावर अफ लण्डन पनि गए। त्यहाँ शाही परिवारको धनसम्पति, गहनको जानकारी पाइन्छ। तर त्यहाँ पनि यु सोइ बिनलाई कुनै जवाफ प्राप्त भएन। यु सोइ बिनलाई लाग्छ- सत्य उनलाई लुकाइएको छ। नागामाउक रुबी बेलायतमै छ तर त्यसलाई उनीबाट लुकाइएको यु सोइ बिन बताउँछन्। 


बेलायतकी महारानीको मुकुट
 
१८८५ नोभेम्बर २९ तारिख बर्माका अन्तिम राजालाई देश निकाला गर्ने दिने बास्तवमा के भएको थियो भनेर यसै भन्ने अवस्था छैन। तर बेलायतको पत्रिका टाइम्सका एक पत्रकार त्यहाँ उपस्थित थिए। ती पत्रकारले राजा थिबा र कर्णेल स्लेडेनबीच भएको कुराकानीका आधारमा समाचार पनि बनाएका थिए। 
 
टाइम्सको रिपोर्टबाट पनि स्पष्ट हुन्छ, कर्णेल स्लेडेनले रुबीको सुरक्षा गर्ने बचन राजालाई दिएका थिए। राजा थिबाले रुबी फिर्ता माग्नका लागि लेखेको पत्र पनि टाइम्सले छापेको छ। 
 
ब्रिटिस लाइब्रेरीमा टाइम्सको रिपोर्ट र पत्रहरु उपलब्ध छन्। त्यसबेला भारतमा हेडक्वाटर राखेर राज्य गरिरहेको बेलायतले रुबी खोज्न आदेश पनि दिएको थियो। कर्णेल स्लेडेनसँग पनि सोधपुछ गरिएको थियो। स्लेडेनले सबै सम्पति ब्रिटिस कोषमा जम्मा गरिदिएको बयान दिएका थिए। 
 
यु सोइ बिनले खोजतलासका बेला एउटा डायरी डायरी फेला पारे। डायरी राजा थिबाले आत्मसमर्पणपछि लेखेका थिए। तर त्यो पत्रको बीचतिरको केही लाइनहरु भने नबुझिने गरि मेटिएका छन्। यसले केही लुकाउन खोजिएको स्पष्ट हुन्छ। 
 
यु सोइ बिनले एक पटक कर्णेल स्लेडेनका पनातीलाई पनि भेटे। तर त्यहाँबाट पनि खास उत्तर आएन। यदि हजुरबासँग रुबी भएकै भए पनि उनले रानीलाई बुझाइसकेका हुन्थे भनेर पनातीले यु सोइ बिनलाई निरास पारे। 
 
सन् २००३ मा माइकल न्यासले एउटा आर्टिकल लेखेका छन्। यसमा बेलायतकी महारानी भिक्टोरियाको गरगहनाको बर्णन गरिएको छ। आर्टिकलमा जुन रुबीको कुरा गरिएको छ, त्यसको बर्ण नागामाउक रुबीसँग मिल्छ। स्लेडेनले रुबी पक्कै रानीलाई दिएको हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन। त्यो रुबी रानीले आफ्नो मुकुटमा जडेको हुनसक्छ। 
 
एउटा अर्को पनि तर्क छ। राजा थिबाका बुवाले बर्माबाट वेलायत राजदुत पठाएका थिए। हुनसक्छ राजदुत मार्फत थिबाका बुवाले रानीलाई रुबी उपहार स्वरुप दिए। या राजा थिबासँग नागामाउक रुबीको साटो अरु कुनै रुबी थियो, जुन कर्णेल स्लेडेनलाई राख्न दिएका थिए कि!
 
सन् १९११ मा दिल्लीमा राज जर्ज पञ्चमलाई मुकुट लाउने मिति तय भएको थियो। त्यो मुकुटमा रुबी जडान गरिएको हुन सक्ने अर्को पनि तर्क छ। 
 
बर्षौ पहिले हराएको रुबीसँग बर्माका जनताको भावना पनि जोडिएको छ। उनीहरुलाई ब्रिटिस सरकारले आफ्नो इतिहास मेटाइदिएको प्रति ठूलो चोट लागेको छ। 
 
बर्माका शाही परिवारका यु सोइ बिन भन्छन्- मलाई म्यान्मारको राजा हुनु छैन। न मलाई राजनीतिक लाभ लिएर बस्ने मन त। आफ्नो बशंजको इतिहास के हो भनेर आगामी पुस्तालाई बताउन चाहन्छु। यो रुबी हाम्रो खान्दानी पहिचान हो। कुनै जवाफ नपाएसम्म म रुबी खोज्ने कामलाई छाड्न सक्दिन।

Tata
GBIME
Nepal Life