तारकेश्वर नगरपालिकामा ज्योति विकास पहिलो बैंक, देशभर शाखा विस्तार गर्ने योजना

बिजमाण्डू
२०७४ मंसिर ४ गते १७:१२ | Nov 20, 2017

काठमाडौं। ज्योति विकास बैंकले तारकेश्वर नगरपालिकामा पहिलो बैंकको रुपमा आफ्नो शाखा विस्तार गरेको छ। बैंकले देशभर आफ्नो सेवाविस्तार गर्ने क्रममा सोमबारदेखि काठमाण्डौंको तारकेश्वर नगरपालिकाको नेपालटारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको जनाएको छ।

Tata
GBIME
Nepal Life

शाखा कार्यालयको तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा र बैंकका संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरे।

बैंकले गत सातामा मकवानपुर जिल्लाको बागमती गाउँपालिकाको फापरबारी र हेटौंडा बजारमा साथै महोत्तरीको रामगोपालपुरमा नँया शाखा संचालनमा ल्याएको थियो ।

बैंकले शहरी एवं ग्रामीण भेगमा वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने तथा मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवाभाव समेतलाई जोड दिदै लैजाने बैंकका अध्यक्ष हरिचन्द्र खड्काले बताए।

विस्तारसँगै बैंकको शाखा अब ४६ पुगेको छ भने १४ वटा एटिएम रहेको छ। बैंकले हाल विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वालगायतका सम्पूर्ण आधुनिक बैकिंङ्ग सेवाहरु उपलव्ध गराउँदै आएको छ।

हालसम्म बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात बैंकको चुक्ता पूँजी २ अर्व ३७ करोड रुपैयाँ पुगेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउने जनाएको छ।