ब्रोकरले १० करोड रुपैयाँ ऋण दिँदैमा पूँजी बजार विकास हुँदैन, फोरम अध्यक्ष पौडेलको विश्लेषण

बिजमाण्डू
२०७४ मंसिर ४ गते १६:०३ | Nov 20, 2017

शेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानलार्इ बजार बढेपछि बढिरहन्छ घटेपछि घटिरहन्छ भन्ने कुराले असर पार्ने गरेको पाइन्छ।
अहिलेको समयमा बजार लगातार घट्नुको प्रमुख कारण कार्तिक २१ गते देखि अनलार्इन ट्रेडिङ सुरु हुन्छ भन्ने धेरै लगानीकर्तालार्इ विश्वास थियो।

Tata
GBIME
Nepal Life

त्यहि अनुसार नेपाल स्टक एक्सचेन्जले विज्ञप्ति जारी गरी केही समय पछाडि मात्र आउने जानकारी दियो यसले बजारलार्इ केही असर पार्यो।

दोस्रो कारण भनेको निर्वाचन नजिकै आइरहेको छ। यसको परिणाम कस्तो आउँछ भन्ने कुराले लगानीकर्ता पर्ख र हेरको स्थितिमा रहेको अवस्था छ।

विगतका समयमा जसरी बजार ओरालो लागेको थियो आजका दिनमा त्यस्तै गरी घटेको पनि छैन। यीनै दुर्इ वटा कुराले बजारलार्इ असर पारेको देखिन्छ।
बजार घटिरहेको सन्दर्भमा नेपाल इन्भेष्टर फोरमले सम्बन्धित निकायलार्इ पटक पटक ध्यानकर्षण गराउने काम गर्दै आएको छ। फोरम लगानीकर्ताको साझा संगठन हो। फोरमले पूँजी बजारको विकासकालागि १२ वर्षदेखि काम गर्दै आएको छ।

हामीले अनलार्इन ट्रेडिङको काम भइरहेको सन्दर्भमा सम्बन्धित निकायमा प्रत्यक्ष सम्पर्कमा रहेर काम गरिरहेका छौं। उहाँहरुलार्इ घच्घच्याउने काम पनि गरिरहेका छौं। सम्बन्धित निकायमा हामी के कति सहयोग गर्न सक्छौ यसको लागि हामी छलफल गर्न तयार छौं। यस्तै अवस्था रहिरहने हो भने फोरमले दवावमुलक कार्यक्रम अगाडि बढाउने छ।  

हामीले पहिला देखिनै मार्जिन ल्यान्डिङकालागि पहल गर्दै आएका थियौं। र यसकालागि धितोपत्र बोर्डले निर्देशिका पनि ल्याएको छ। मार्जिन ल्यान्डिङको निर्देशिका आर्इसकेपछि यसको कार्यान्वयनकालागि काम गर्न तयार छौं। हाललार्इ  मार्जिन ल्याण्डिङकालागि ब्रोकरहरुले पाँच करोड नेटवर्थको आधारमा १० करोड रुपैयाँसम्म लोन दिन पाउने भन्ने कुरा छ।

यो व्यवस्थाले तत्काललार्इ ब्रोकरले काम गर्ने बाटो खुलेको छ तर यो पर्याप्त छैन। ब्रोकरले १० करोड रुपैयाँको लोन दिएर पूँजी बजारको विकासलार्इ सहयोग गर्दैन भन्ने नेपाल इन्भेष्टर फरमको बुझाइ हो।

यसमा ब्रोकरले आफ्नो क्यापिटल तथा जगेडा कोषको आधारमा १० करोड रुपैयाँ बराबरको लोन दिन पाउने व्यवस्था छ। यसमा ब्रोकरले बैंक तथा वित्तीय संस्थाबाट कतिसम्म लोन लिएर लगानी गर्न पाउने भन्ने विषयमा छलफल गरी पहल गर्छौ। जसमा बैंक तथा वित्तीय संस्थाबाट प्राप्त पैसाले कतिसम्म लगानी गर्न सक्छ भन्ने विषयलार्इ कार्यविधिमा समेट्न फोरमले पहल गर्छ।

अहिले ब्रोकरको पूँजी तथा नेटवर्थको आधारमा मात्र सेवा दिने भन्ने कुरा हो। यसमा बैंकले ब्रोकरलार्इ कतिसम्म लोन दिन सक्छ अनि ब्रोकरले लगानीकर्तालार्इ कति दिन सक्छ त्यो कार्यविधिमा समावेश गराउँछौं।

मार्जिन ल्याण्डिङ नेपाल इन्भेष्टर फोरमसँग सम्बन्धित विषय भएको हुनाले हामी स्टक ब्रोकर एसोसिएसन, नेपाल धितोपत्र बोर्ड र नेप्सेसँग समन्वयात्म रुपमा काम गर्छौ। उहाँहरुले पनि मिलेर गरौं भन्नु भएको छ जसको लागि राम्रो लगानीमैत्री निर्देशिका आवश्यक छ। बैंक तथा वित्तीय संस्थाले मार्जिन ल्याण्डिङलार्इ एउटा प्रोडक्टको रुपमा ल्याओस् भन्ने हिसाबले हामीले काम गर्ने छौं।

यसका साथै फोरमले लगानीकर्तालार्इ लगानीकालागि पूँजी बजारको बारेमा अहिले भैरहेको विषयवस्तु बारे सिकाउँछौ। हामीले आफ्नो अनलार्इन मार्फत नेपाल भरीका लाखौं लाख लगानीकर्तालार्इ पूँजी बजार सम्बन्धी शिक्षा दिन सदैव पहल गरिरहेको छ।

फोरमले उपत्यका बाहिर गएर पूँजी बजारको बारेमा विभिन्न कार्यक्रम संचालन गरिरहेको छ। फोरम सदैब नियमनकारी निकायसँग सहकार्य गर्दै आफ्ना कार्यक्रम अगाडि बढाउन चाहन्छ।

फोरमले सैद्धान्तिक तथा टेक्निकल पद्धती मार्फत बजारमा रहेका नकारात्मक पक्षलार्इ हटाउनकालागि चार्ट तथा फिगर देखाएर लगानीकर्तालार्इ बुझाउने प्रयास गर्छौ। केहि साथीहरु टेक्निकल क्षेत्रमा झुकाव राखिरहेको छन् तथा उनीहरुले देखाएका फिगरले बजारलार्इ केहि असर गरेको हुँदा सचेत रहन अनुरोध गर्छौ। यस्ता कुरा सोसल मिडियामा आउँदा लगानीकर्ताको साइकोलोजीमा असर परेको देखियो।

आधारभुत हिसाबले हेर्दा बैंक तथा वित्तीय संस्थाको पूँजी चार गुणा बढेको छ। साथै पूँजी बढे अनुसार बैंक तथा वित्तीय संस्थाको नाफामा धेरै गिरावट देखिँदैन। तर लगानीकर्ताको अपेक्षा धेरै देखिएकाले बजारमा केहि प्रभाव परेको हो। तैपनि बैंक तथा वित्तीय संस्थाको पूँजी बढेको हुँदा ति संस्थाले यो वर्ष दिएको लाभांश आगामी वर्षमा यति नै अनुपातमा दिन सक्ने देखिँदैन।

पूँजी बढेसँगै शेयर बजारको दायरा पनि बढेको छ। त्यसैले पूँजी बजारमा नयाँ लगानीकर्ता भित्र्याउनुपर्ने आवश्यकता छ। यसकालागि सम्बन्धित निकायले छिटो भन्दा छिटो अनलार्इन ट्रेडिङ ल्याउनु पर्छ। मौजुदा ब्रोकरको संख्या बढाउनुपर्छ अथवा ब्रोकरको कार्यक्षेत्र तथा शाखा विस्तार गर्नु पर्छ। छिटो भन्दा छिटो सबै ठाउँमा ब्रोकरको उपस्थिती जनाउनु पर्छ भनेर नेपाल इन्भेष्टर फोरमले सधै दवाव मुलक कार्यक्रम तथा लविङ गर्दै आएको छ।

बैंकलार्इ ब्रोकर लाइसेन्स दिनुपर्छ भन्ने सम्बन्धमा नेपाल इन्भेष्टर फोरमको स्पष्ट धारणा छ। फोरमले पहिले देखिनै बैंकलार्इ लाइसेन्स दिनु पर्छ भन्दै आएको छ तर मर्चेन्ट बैंकलार्इ अनुमति दिए जस्तै गरी दिनु हुँदैन। लाइसेन्स दिँदा बैंकले अनलाइन मार्फत खरिद बिक्री गर्न पाउने गरी सिस्टम निर्माण गर्नुपर्छ। जसरी आस्वा प्रणालीमा सबै बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सक्छौ त्यसरी नै आवेदन दिन सक्ने व्यवस्था मिलाउनु पर्छ। तर लाइसेन्स दिने भनेर सबैलार्इ अनियन्त्रित रुपमा लाइसेन्स वितरण गर्नु हुँदैन।

भोलिका दिनमा लाइसेन्स पाउनेको संख्यामात्र बढ्दा ब्रोकरहरु असन्तुष्ट हुने अवस्था आउनु हुँदैन। यसकालागि स्पष्टसँग उनीहरुको कार्यक्षेत्र तथा कभरेज गर्न पाउने नीति ल्याउनु पर्छ।

अर्को तर्फ बैंक तथा वित्तीय संस्था मार्जिन ल्याण्डिङमा लगानी मैत्री नभएको देखिन्छ। अन्य क्षेत्रलार्इ बोलार्इ बोलार्इ लोन दिने बैंक तथा वित्तीय संस्था शेयर लोनकालागि गार्ह्रो मान्छन्। नेपाल राष्ट्र बैंकले शेयर लोन ५० प्रतिशतसम्म दिन पाउने व्यवस्था गरेको भए पनि व्यवहारमा बैंकहरुले २५ प्रतिशत सम्ममात्र दिएका छन्। यसले गर्दा लगानीकर्ता शेयर लोन लिएन लगानी गर्न त्यति आकर्षित देखिँदैनन्।

नेपालको पूँजी बजार आधारभुत रुपमा मजबुत छ किनकी बैंक तथा वित्तीय संस्थाको प्रस्तुती बढ्दो अवस्थामा छ। बैंक तथा वित्तीय संस्थाको आगामी दिनमा शेयर संख्या बढ्नेवाला छैन तर प्रतिफल बढ्ने सम्भावना छ। देश संघियतामा गैसकेको छ मंसिरमा चुनाव सकिएपछि देशको एकल उद्देश्य आर्थिक सम्बृद्धि र विकास हुनेछ। यी सबै कारणले आगामी दिनमा पूँजी बजार सुनौलो छ।
 
(पौडेल नेपाल इन्भेष्टर फोरमका अध्यक्ष हुन्।)