५ रुपैयाँमै खाना पाइने यस्तो छ कर्नाटकको ‘इन्दिरा’ क्यान्टिन, ‘पपुलारिटी’ सँगै परोपकार

बिजमाण्डू
२०७४ मंसिर ४ गते १२:५९ | Nov 20, 2017
५ रुपैयाँमै खाना पाइने यस्तो छ कर्नाटकको ‘इन्दिरा’ क्यान्टिन, ‘पपुलारिटी’ सँगै परोपकार
भारतको कर्नाटकमा सत्ताधारी काँग्रेस पार्टीको सरकारले हालै राजधानी बेंगलुरुमा इन्दिरा क्यान्टिनको सुरुवात गरेका छन्। क्यान्टिनमा हरदिन २ लाख भन्दा बढी मानिसले सस्तो खाना खान पाइरहेका छन्। 
 
 
 
भिडभाड युक्त शहरको सिटी मार्केट नजिकैको एक भवनको बाहिर बिहान सातै बजेदेखि भिड लाग्ने गर्छ। साढे सात बजे ढोका खुल्दा भिड भित्र पसिसकेको हुन्छ। केही बेरको धक्काधक्की पछी मानिसहरु लाइनमा बस्छन् । सानो झ्यालमा उभिएर पैसा तिरेपछि हरियो रंगको टोकन पाइन्छ। यहि टोकनलार्इ काउन्टरमा दिएपछि खाना पाइन्छ।
 
मानिसहरु आफ्नो पहेलो प्लेट लिएर कोठाभित्र कुनै टेबलमा बसेर खान थाल्छन्। खाना बाहिर चौरमा बसेर पनि खान सकिन्छ। यहाँ ताजा तातो र स्वादिष्ट खाना त पाइन्छ नै सबैभन्दा मज्जाको कुरा के हो भने यहाँ हरेक खानेकुरा मात्र ५ रुपैयाँ भारुमा पाइन्छ।
 
 
गत अगस्ट महिनामा खुलेको यो क्यान्टिन भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको नाममा समर्पित छ। तामिलनाडुको अम्मा क्यान्टिनबाट प्रभावित भएर कँग्रेसले कर्नाटकमा इन्दिरा क्यान्टिनको अवधारणा ल्याएको हो। तामिलनाडुकी दिवंगत मुख्यमन्त्री जयललिताले गरिब मानिसहरुलार्इ सस्तो खाना खुवाउनकालागि अम्मा क्यान्टिनको सुरुवात गरेकी थिइन्। 
क्यान्टिनमा मुख्यगरी निम्न बर्गका मानिसहरु खानको लागि पुग्ने गरेका छन्। ज्यालादारी मजदुर, ड्राइभर, सुरक्षाकर्मी तथा भिखारीहरु यस क्यान्टिनका  नियमित ग्राहक हुन्। एक एक पैसाको लागि तड्पिनुपर्ने अवस्थाका मानिसहरुकालागि यो क्यान्टिन निकै महत्वपूर्ण साबित भएको छ।
 
 
सुरक्षागार्ड मोहम्मद इरशाद अहमद प्रायजसो इन्दिरा क्यान्टिन आउने गर्छन्। उनी भन्छन् –‘यहाँको खाना एकदम मिठो छ। म यो भन्दा अघि नजिकैको रेष्टुरेनटमा खाना खान्थे त्यहाँ मैले ३० रुपैयाँ तिर्नुपर्थ्यो। अहिले म २५ रुपैयाँ बचाइरहेको छु। यो धेरै नै राम्रो काम हो। पूरै राज्यमा यो अवधारणा लागु हुनुपर्छ।’
 
स्कुल बाहिर फलफूल बेच्दै आएकी लक्ष्मी भन्छिन्- ‘बिहान म खाना बनाउनतिर लाग्दिन। मलार्इ बिहानको समय अलि फुर्सद भएको छ । यहाँ यति सस्तोमा खाना पार्इन्छ त्यसैले म यतै किनेर खाने गर्छु।’
 
क्यान्टिन नजिकैको लजमा बस्ने मोहन सिंह तीनै छाक खाना अचेल क्यान्टिनमै खाने गर्छन्। ‘पहिले दिनको १ सय ४० रुपैयाँ खर्च गर्नुपर्थ्यो। अचेल दिनको ४० रुपैयाँमात्र खर्च हुन्छ।बाहिर खाना निकै महंगो हुने गर्छ।’-उनी भन्छन्।
 
 
अर्थशास्त्रीहरुका अनुसार यस्ता सस्ता क्यान्टिनहरु सरकारी खजानामाथिको थप बोझ हो। उनीहरु भन्छन्- नेताहरुले यसलार्इ ‘पपुलर’ बनाइरहेका छन् किनभने भारतमा करोडौं मानिसहरु हरेक दिन एक डलरभन्दा कम रकममा गुजारा गर्न बाध्य छन्।
 
विश्लेषकहरुका अनुसार पछिल्लो चुनावमा जयललिताले जित्ने मुख्य कारण नै अम्मा क्यान्टिन हो।
 
कर्नाटकमा आगामी वर्ष बिधानसभाको चुनाव हुँदैछ। यो क्यान्टिनलार्इ स्थापित गर्ने निर्णय राजनीतिक भएपनि यसको उद्देश्य भने परोपकार भएको क्यान्टिन सम्बद्ध मानिसहरु बताउँछन्।
 
क्यान्टिन परियोजनाका इन्चार्ज मनोज रन्जन भन्छन्- ‘हाम्रा मुख्यमन्त्रीले गरिबलार्इ खाना खुवाउने निर्णय गरेका हुन्।’
 
खाना बनाउन कम समय भएका  र कम पैसा भएका बर्ग जस्तै कामदार, ड्राइभर, बिद्यार्थी लक्षित क्यान्टिनमा जो कोहीले पनि खान पाउने रन्जन बताउँछन्। गत अप्रिलमा मुख्यमन्त्रीले क्यान्टिन बनाउने घोषणा गरेपछि रन्जनको टीमले अहोरात्र खटिएर यसलार्इ सफल बनाएका हुन्।
 
 
भारतको स्वतन्त्रताको ७० वर्ष पुगेको अवसरमा काँग्रेसका उपाध्यक्ष राहुल गान्धीले बेंगलुरुमा क्यान्टिनको उद्घाटन गरेका थिए।
 
अहिले शहरमा एकसय ५२ इन्दिरा क्यान्टिन छन् जहाँ २ लाख मानिसले खाने गर्छन्। रन्जनका अनुसार आगामी नोभेम्बरसम्ममा यो संख्या बढेर एकसय ९८ पुर्याइनेछ जसबाट दैनिक ३ लाख मानिसले खाना खान सक्नेछन्। यो योजना पूरै राज्यमा लागु गर्ने बताइएको छ जस अनुसार तीनसय भन्दा धेरै इन्दिरा क्यान्टिन खोल्ने सरकारको योजना छ।  
 
अहिले सर्वसाधारणमा सरकार बदलिएपछि क्यान्टिन पनि बन्द हुने हो कि भन्ने आशंका छ। तर सरकार बदलिएपनि नागरिक केन्द्रित योजनाहरु जारी नै रहने भएकाले क्यान्टिन बन्द नहुने रन्जनको दावी छ।
 

Tata
GBIME
Nepal Life