कलङकी-नागढुङगा खण्डमा सडक विस्तार रोकेर कालोपत्रे गर्ने प्रस्ताव, ‘३ महिनामा पिच सकिने’

बिजमाण्डू
२०७४ मंसिर ३ गते १५:४१ | Nov 19, 2017
कलङकी-नागढुङगा खण्डमा सडक विस्तार रोकेर कालोपत्रे गर्ने प्रस्ताव, ‘३ महिनामा पिच सकिने’


काठमाडौं । उपत्यका सडक विस्तार आयोजनाले राजधानी प्रवेश गर्ने मुख्य नाका कलंकी-नागढुङगा सडक विस्तार रोकेर कालोपत्रे गर्ने प्रस्ताव अघि सारेको छ। सडक बिस्तारका क्रममा धेरै ठाउँ बिवाद बल्झिएपछि अहिले भएजति सडकमा कालोपत्र गर्ने प्रस्ताव आयोजनाले गरेको हो।
 
बिभिन्न ठाउँको विवाद मिलाउन खोज्दा दुई बर्षमा आधा पनि काम नभएपछि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय समक्ष यस्तो प्रस्ताव गरेको आयोजनाले जनाएको छ। ११ किलोमिटर लामो उक्त सडक खण्ड दुई बर्ष अघि विस्तार थालिएको पनि अझै सकिएको छैन। विस्तार सकेर कालोपत्रे गर्ने योजनाका कारण सडक धुलाम्मे छ।
 
आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठका अनुसार मन्त्रालय, सडक विभाग, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, डिभिजन सडक कार्यालय, उपत्यका विकास प्राधिकरण लगायत निकायसँग यस विषयमा मौखिक सहमति गरि लिखित कार्यादेशका लागि प्रस्ताव गरिएको हो। 
 
'४/५ दिन अघि नै प्रस्ताव पेश गरेका छौँ, उनले भने- पारित भएर आए केही दिनमै कालोपत्रे गर्न थालिन्छ र तीन महिनामा सम्पन्न हुन्छ।' ठेकेदार कम्पनीलार्इ समेत अहिले उपलब्ध सडकमै कालोपत्रे गर्ने गरि तयारी अघि बढाउने प्राधिकरणले सूचित गरि सकेको छ।
 
सडक भत्किएको कारण आम सर्वसाधारणले सास्ती खेप्नु परेपछि यस्तो प्रस्ताव अघि सारेको उनले बताए। २०७२ साल असारमा ठेक्का लगाएर विस्तार थालिएको सडक २८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिर्इको थियो। तर, निर्माण सम्पन्न गर्ने अवधी सकिँदा ४५ प्रतिशत विस्तार भएको छ। त्रिपुरेश्वर-कलङकी-नागढुङगा १२ किलोमिटर सडक खण्डमा १३ सयभन्दा बढी समस्या रहेको श्रेष्ठले बताए। 
 
कतिपय ठाउँमा स्थानीयको अवरोध एवं नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड लगाएतका सरकारी निकायले समयमा समन्वय नगरि दिँदा समेत समस्या आएको उनको भनाइ छ। प्रस्ताव अनुसार कार्यादेश पाए अहिले उपलब्ध सडकमा १२ किलोमिटरको पुरै कालोपत्रे गर्ने र पछि विस्तार भएको ठाउँमा फेरि पिच गर्ने उनले बताए।

Tata
GBIME
Nepal Life