९० करोड लगानीमा र्‍याडिसन होटलमा ७५ कोठा थपिँदै, ‘ग्रीन’बाट ‘ब्लु’ ग्रेडिङमा स्तरोन्नती हुने

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ मंसिर ३ गते १४:२३ | Nov 19, 2017
काठमाडौं । र्‍याडिसन होटलले आफ्नो स्तरवृद्धीका लागि सुविधा सम्पन्न कोठा सहित नयाँ संरचना थप गर्ने भएको छ।  होटलले ९० करोडको लगानीमा नयाँ भवन निर्माण गरि कोठा, कन्फ्रेन्सग हल र कफि सप थप गर्न लागेको प्रोजेक्ट म्यानेजर बद्री ढकालले जानकारी दिए।
 
अहिले क्यासिनोको एकाउन्ट (रेड हाउस) रहेको स्थानमा नयाँ भवन निर्माण गर्न लागिएको हो। होटलको मूल भवनको अर्को पट्टी रहेको उक्त क्षेत्रमा २ रोपनी जमिन छ। नयाँ भवनमा ७५ वटा कोठा अलावा, ७५ जना अट्ने कन्फ्रेन्स हल र १०० जना अट्ने कफी सप निर्माण गरिने ढकालले बताए। भवनका लागि महानगरपालिकाबाट अनुमति लिने प्रकृया जारी रहेको उनले जानकारी दिए।
 
'२०१२ मा १०० कोठा थपिनु अघि र्‍याडिसनमा १६० कोठा थिए, उनले भने- अहिले ७५ वटा थपिएपछि कोठा संख्या ३३५ पुग्नेछ।' नयाँ संरचना थप भएपछि र्‍याडिसनको अन्तर्राष्ट्रिय सञ्जालमै नेपालले नयाँ ग्रेडिङ पाउने उनले जानकारी दिए। 
 
उनका अनुसार अहिले र्‍याडिसनको अन्तर्राष्ट्रिय सञ्जालमा ओरियन्टल होटल्स लिमिटेडले नेपालमा सञ्चालन गरेको होटलको  ग्रेडीङ 'ग्रीन' रहेको छ। नयाँ संरचना थप भएपछि 'र्यासडिसन ब्लु'मा स्तरोन्नती हुने उनले बताए। ग्रीन ग्रेडिङले 'लोअर मिड स्केल' लाई जनाउने ढकालले जानकारी दिए। 
 
होटललाई 'व्लु स्ट्याण्डर्ड'मा स्तरोन्नती गर्न हाल सञ्चालनमा रहेका सबै कोठाको क्षेत्रफल समेत दुई बर्ग मिटरको दरले बढाउने तयारी गरिएको ढकालको भनाइ छ।
 
नयाँ संरचना निर्माण आउँदो जनवरीमा सुरु गर्ने र दुई बर्ष भित्र सम्पन्न गर्ने लक्ष रहेको होटलका 'रेभेन्यु म्यानेजर' सन्तोष भण्डारीले जानकारी दिए। ग्राहकलाई फरक अनुभुती र विशेष सुविधा दिने उद्देश्यले स्तरोन्नतीको थालिएको होटलले जनाएको छ।

Tata
GBIME
Nepal Life