इलामको सूर्योदय नगर पनि अब प्लास्टिकमुक्त, कन्याम र अन्तुको सुन्दरता बिग्रिन नदिन अभियान शुरू

बिजमाण्डू
२०७४ मंसिर २ गते १४:१५ | Nov 18, 2017
इलाम । जिल्लाको पूर्वी पर्यटकीय नगरी सूर्योदय नगरपालिकालाई प्लास्टिकमुक्त बनाउने अभियान शुरू गरिएको छ। 
 
फिक्कल बजार, कन्यामलगायत क्षेत्रलाई सुन्दर, स्वच्छ र हराभरा बनाउन जनप्रतिनिधिले यही मंसिर १ गतेदेखि अभियान शुरू गरेका हुन्। अभियानको पहिलो दिन जनप्रतिनिधि, विद्यार्थी, नर्स, प्रहरी, स्थानीयवासी एवं विदेशी पर्यटकसमेत सहभागी भएर जथाभावी फ्याँकिएको प्लाष्टिक संकलन गरे। 
 
जथाभावी सडक र घर निर्माण, बजारमा बन्द भएका ढल र नाला, फोहर व्यवस्थापन नहुँदा बजार दुर्गन्धित हुनाका साथै सानो बाटाका कारण सवारी आवागमनमा समस्यामा परेको फिक्कल बजार दुई घण्टाको सफाइ पछि अर्कै बनेको थियो।
 
सूर्योदयलाई स्वच्छ शहरका रूपमा विकास गर्न प्लास्टिकमुक्त अभियान शुरू गरिएको नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए।
 
बजारभित्र निर्माण गरिएको नालीमा जम्मा भएको फोहर स्काभेटर र टिपरको सहायताले संकलन गरी ल्याण्डफिल्ड साइटमा लगेर फाल्ने तयारी भइरहेको छ। नगरपालिकामा पर्ने कन्याम, अन्तु, फिक्कल बजारमा आन्तरिक एवं बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ।
 
जिल्लाको इलाम नगरपालिका यसअघि नै प्लाष्टिकमुक्त भइ सकेको छ।
 

Tata
GBIME
Nepal Life