शेयरमा लगानी गर्न साथी र आफन्तकै म्युचुअल फण्ड, थोरै पैसा हुनेहरु भटाभट नाफा कमाउँदै

बिजमाण्डू
२०७४ मंसिर २ गते १३:४६ | Nov 18, 2017
काठमाडौं । शेयर बजारमा समूह बनाएर लगानी गर्ने चलन सुरु भएको छ। केहि मन मिल्ने साथी एवं आफन्तको समूह बनाउने र केही ठूलो 'फण्ड' जम्मा गरेर लगानी गर्ने प्रवृत्तिू बढेको हो।
 
थोरै रकम जम्मा गर्दा पनि धेरै हुने र यसरी लगानी गर्दा नाफा पनि राम्रै हुने गरेको समुह निर्माताहरुको अनुभव छ। बिशेष गरि बजारका नव प्रवेशी एवं विद्यार्थीहरु यस्ता समुह निर्माण प्रति धेरै जागरुक देखिएका छन्। शेयर बजारमा ठूलो संख्यामा यस्ता स-साना म्युचुअल फण्ड रहेको ब्रोकरहरु बताउँछन्। 
 
लगानीकर्ताले सौरभ भट्टराईले चार वर्ष अगाडि दुई जना साथी समेटेर एउटा समुह बनाएका थिए। त्यसबेला शेयरमा लगानी गर्दा फाइदा हुन्छ भन्ने सुने पनि आफुलाई खासै ज्ञान नभएको भट्टराई बताउँछन्। भट्टराईको समुहले २०/२० हजार रुपैयाँका दरले ६० हजार रुपैयाँ संकलन गरेको थियो। सुरुमा उनीहरुले त्यो पैसा प्राथमिक शेयरमा लगानी गरे। सिभिल बैंक, सेन्चुरी बैंक, एनएलजी इन्स्योरेन्स लगायतका कम्पनीको प्राथमिक शेयर परेको परेको भट्टराई सम्झन्छन्। बाँकी रहेको केहि पैसाले दोस्रो बजारमा समेत लगानी गरेको उनले बताए।
 
बिस्तारै बजार बढ्ने क्रम सुरु भएको थियो। दुई वर्षमा ६० हजार पूँजी बढेर दुई लाख रुपैयाँ माथि पुग्यो। त्यो अवधिमा बजारमा बारे धेरै ज्ञान आइ सकेको हुँदा थप लगानी गर्न हौसला मिलेको उनले बताए। त्यही अनुरुप २०७२ फागुनमा रियल इन्भेस्टमेन्ट कम्पनी खोलेर लगानी सुरु गरिएको छ। 
 
अहिले भट्टराईको कम्पनीमा छ जना साथीहरु छन्। चार जनाले २०/२० लाख र दुईले १०/१० लाख रुपैयाँ लगानी गरेको भट्टराईले बताए। पछिल्लो समय शेयर बजार घट्दा नाफा केही खुम्चिए पनि अघिल्लो महिनासम्मको मूल्यमा ११ लाख रुपैयाँ नाफाको अवस्था रहेको उनले सुनाए। आफुले शेयर किनेका कम्पनीले राम्रै मुनाफा दिने अपेक्षा राखेका भट्टराई तत्काल बजार केही खस्किए पनि केही बर्ष प्रतिक्षा गर्दा राम्रै प्रतिफल हासिल हुने बताउँछन्।
 
भट्टराईले जस्तै बिरेन्द्र खत्रीले पनि एक वर्ष अघि छ जना आफन्त र साथीभाईलाई समेटेर समूह बनाएका थिए। धेरै जसोले दुई लाख र केहीले एक लाख रुपैयाँ लगानी रहेको खत्री बताउछन्। यसरी संकलन भएको ११ लाख रुपैयाँ बजारमा लगानी गरिएको उनले जानकारी दिए।
 
समुहका सबैजना शेयर बजारबारे जानकार छैनन्। उनीहरुले खत्रीलाई लगानी गरेर प्रतिफल दिन रकम जिम्मा लगाएका छन्। एक वर्ष यताको लगानीमा अहिलेसम्म मुनाफा बाँढ्ने अवस्था आइ नहालेको उनले बताए। एक बर्ष अघि किनेको तुलनामा अधिकांश कम्पनीको शेयर मूल्य तल आएको छ। तर, बीचमा पाएको हकप्रद र बोनश शेयरले सन्तुलन कायम गरेको उनले बताए।
 
मृगेन्द्र बास्तोलालाले २०७२ असोजमा मन मिल्ने नौ जना साथीहरुको समूह बनाएका थिए। प्रारम्भिक चरणमा कुल ४० लाख रुपैयाँको 'फण्ड' बनाएर लगानी गरेको बर्ष बजार बढ्यो र नाफा पनि भयो। गएको वर्ष समुहका सबै सदस्यलाई एक/एक लाख रुपैयाँ प्रतिफल बाँड्न सफल भएको बास्तोलाले सुनाए। यो बर्ष भने बजार घटेको कारण सोचेजस्तो मुनाफा नआएको उनको भनाइ छ। 
 
शेयर लगानीमा अभ्यस्त बास्तोलाले आफ्नो समूह बाहेकपनि व्यवसायीक रुपमै लगानी गरिरहेका छन्। उनी किंग इन्भेस्टमेन्ट कम्पनीमा समेत आबद्ध छन्। 
 
अर्का लगानीकर्ता हुन् खगेन्द्र चुडालले २०७२ सालमा बनाएको १० जनाको समुहले एक बर्षमै २० प्रतिशत लाभांश खुवाएर विगठन भयो। प्रत्येकबाट १०/१० लाख रुपैयाँ उठाएर लगानी गरेको र त्यसले राम्रै प्रतिफल दिए पनि सबै साथीहरुमा शेयर बजारको ज्ञान नभएपछि विगठन गरिएको उनले सुनाए।

Tata
GBIME
Nepal Life