सेयर बजारले बनायो ‘साँढेको जुरो’, साढे १२ बजेपछि एग्रेसिभ बजारमा ७५ करोडको किनबेच

बिजमाण्डू
२०७४ कात्तिक २८ गते १५:३७ | Nov 14, 2017
सेयर बजारले बनायो ‘साँढेको जुरो’, साढे १२ बजेपछि एग्रेसिभ बजारमा ७५ करोडको किनबेच
काठमाडौँ। सेयर बजारमा तेस्रो दिन पनि फराकिलो बृद्धि देखिएको छ। आइतबारबाट सुधार हुन थालेको बजार २५ अंकले बढेर बन्द भएको छ।
 

Tata
GBIME
Nepal Life

तिहार बिदापछि लगातार १३ दिन घटेर बजार १०६.९१ अंक तल आएको थियो। कात्तिक ५ गते  १५६७.६४ अंकमा रहेको बजार १३ दिन घट्दा १४६० अंकसम्म आएको थियो। त्यसपछि उकालो लागेको बजार पछिल्लो तीन कारोबार दिनमा ५५ अंकले उक्लिएको छ। 

 
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार मापन गर्ने सुचक २५ अंकले बढेर १५१६ अंकमा उक्लिएको छ। 
 
लगातार बजार घट्दा कम्पनीहरुको शेयर मूल्य सस्तो भएपछि सर्वसाधारणले फेरि लगानी बढाउँदा बजार बढेको शेयर बजार विश्लेषक बलराम रिमालको तर्क छ। लगानीकर्तामा यसभन्दा बढि अब बजार घट्दैन भन्ने कन्फिडेन्स बढेका कारण कारोबारमा सुधार देखिएको उनले दावी गरे। 
 
खुलेदेखि नै सामान्य मात्र बजार बढिरहेको थियो, साढे १२ बजेपछि भने बजार एग्रेसिभ भएको थियो। साढे एक बजे १५२१ अंकसम्म बजार पुगेको थियो। २ बजेसम्म बजार फेरि ओर्लिएर १५०४ अंकमा बस्यो। त्यसपछि फेरी उकालो लागेको बजारले १५१६ अंक छोएको हो। 
 
मंगलबार १६५ कम्पनीका १८ लाख ४७ हजार कित्ता शेयर किनबेच भएका छन्। दिनभरीमा ७५ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भएका छन्। सबैभन्दा बढि चिलिमे हाइड्रोपावर कम्पनीको ६ करोड रुपैयाँको शेयर किनबेच भएको छ। 
 
कारोबारमा आएका सबै उपसूचक बढेका छन्। बैंक १.७३, ट्रेडिङ ०.३९, होटल ०.५, विकास बैंक १.४६, जलबिद्युत २.७९, फाइनान्स ०.७९, बीमा १.३४, उत्पादनमुलक २.३५, अन्य ०.६२ र लघुवित्त ३.३३ प्रतिशतले बढेका छन्। 
 
बिजय लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन्। सगरमाथा इन्स्योरेन्स कम्पनीले यस बर्सको लाभांस नदिने घोषणा गरेसँगै शेयर मूल्य ६ प्रतिशतले घटेको छ।