नारायणगढ–मुग्लिन सडकमा दुर्इमहिनादेखि रोकिएको काम सुरु, गाडी रोक्ने यस्तो छ सेड्युल

रासस
२०७४ कात्तिक २८ गते १५:१७ | Nov 14, 2017

चितवन। नारायणगढ–मुग्लिन सडक विस्तारका क्रममा आजदेखि सवारी रोक्दै  भित्तो काट्ने कामलाई निरन्तरता दिइएको छ ।

Tata
GBIME
Nepal Life

वर्षात् र चाडपर्वको समय परेका कारण झण्डै दुई महिना यतादेखि भित्तो काट्ने काम रोकिएको थियो । गत भदौ २८ गतेदेखि भित्तो काट्ने काम रोकेर सवारी सञ्चालन गरिँदै आएको थियो । त्यसअघि दिनका समयमा सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सवारी चाप कम भएको समय पारेर केहीबेर सवारी रोकी भित्तो काट्ने योजना तय गरिएको हो ।

बिहान ७ देखि साढे आठ बजेसम्म, ११ बजेदेखि १२ बजेसम्म, अपराह्न १ देखि २ बजेसम्म र अपराह्न ३ देखि ४ बजेसम्म सवारी रोकेर भित्तो काट्ने काम शुरु गरिएको छ । आज बिहान ११ बजेदेखि गाडी रोकेर भित्तो काट्ने काम थालिएको हो ।

स्थानीय प्रशासन, प्रहरी, आयोजना र ठेकेदार कम्पनीका बीचमा भएको संयुक्त छलफलपछि छोटो समय सवारी रोकेर भित्तो काट्ने कामलाई निरन्तरता दिने सहमति भएको यादवले बताए।

सडकको नारायणगढबाट १६ किमी तीनसय मिटर, घुमाउनेमा दुर्इसय मिटर, चेपाङ डाँडा र जलबीरेमा गरी तीनसय मिटर क्षेत्रमा सडक चौडा गर्न बाँकी छ । ती ठाउँमा पनि काम आधाभन्दा बढी भएकाले लामो समय नलाग्ने आयोजनाका  इन्जिनियर शिव खनालले जानकारी दिए।

हालसम्म ५८ प्रतिशत मात्रै काम भएको छ । खनालका अनुसार सबै ठाउँमा तीन तहको कालोपत्रे गर्नुपर्ने हुन्छ । एक दिनमा तीनसय मिटर हाराहारीका दरले कालोपत्रे गर्न सकिएको उनले बताए। आगामी फागुन मसान्तसम्ममा कालोपत्रे सक्ने गरी काम भइरहेको बताइएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डको ३४ किमी खण्ड फराकिलो बनाइँदैछ । नारायणगढबाट १६ किमीसम्म सडक ११ मिटर फराकिलो हुनेछ भने त्यहाँबाट मुग्लिनसम्म नौ मिटर फराकिलो सडक बनाइँदैछ । सडकको सबै भाग कालोपत्रे गरिने छ ।
–––