पर्साका किसानको सोच बदल्ने सुनिल यसरी बने गोठालो, लाखौंको जागिर छोडेर भैँसीपालनमा




वीरगंज।कुनै बेला कालो कोट लगाएर अदालतमा बहस गर्ने पर्साका युवा सुनिल कुशवाहाको दैनिकी आजकल फेरिएको छ।



उनी अब बिशुद्ध किसान भएका छन्। उनी बहस गर्दैनन् भैँसी स्याहार्छन्। संयुक्त राष्ट्रसंघमा मानव अधिकार अधिकृत र आइसीजेमा कानुनी सल्लाहकारको रुपमा झण्डै एक दशक बिताएका सुनिलको मन एकदिन अचम्मसँग फेरियो। जागिर चटक्क छोडेर उनी ग्वाला बने।  

तीन वर्ष अघि जागिर छोड्दा उनी एक लाख ७६ हजार तलब बुझ्थे रे। तर त्यो रकमले उनलार्इ त्यति खुशी दिएन जति आजकल उनी आफ्नो गोठ र खेतबारीमा पाउँछन्। व्यावसायिक भैंसीपालन गरी गाउँकै मानिसलार्इ रोजगारी दिने उनको योजना छ।  कृषिमा बढ्दै गएको रसायनिक मलको प्रभावलाई न्युनिकरण गर्न पनि आफू यो पेसामा आएको उनी बताउँछन्।

आफ्नै गाउँमा प्रेम–शान्ति एकीकृत कृषि फर्म सञ्चालन गरिरहेका सुनिल कृषिमा रसायनिक मलको प्रयोग र यसले भविष्यमा माटोलाई पार्न सक्ने असरबाट चिन्तित छन्। किसानले गाईभैँसी पालन छोडेर गोबर, कम्पोष्ट मलको सट्टा रसायनिक मल प्रयोग गरिरहेको उनलार्इ पटक्कै मन परेको छैन।



पर्साका किसानको सोचमा परिवर्तन ल्याउनकै लागि उनी भैँसीपालनमा लागेको सुनाउँछन्। भैंसी पालन गरी दूध उत्पादन गर्ने र गोबर र प्राकृतिक मल अन्नबालीमा लगाउने उनको योजना छ। बहुदरमाई नगरपालिका वडा नं २ वैरियाका ३८ वर्षिय कुशवाहाले सुरु गरेको यो अभियानबाट गाउँका युवाहरु उत्साहित बनेका छन्।

भैँसीपालनलार्इ बिस्तार गर्न लागेका उनी आफ्नो कृषि फर्ममा करिब ५० जनाले रोजगारी पाउने बताउँछन्। जागिर छोडेर कृषिमा लाग्दा आलोचना गर्ने गाउँकै मानिसहरु आजकल उनको मेहनतको प्रशंसा गरिरहेका छन्। बिस्तारित फार्म हाउसको काम करिब ५० प्रतिशत सकिएको उनले बताए । महिना दिन भित्रै दैनिक ३ सय लिटर दूध उत्पादन गर्ने उनको लक्ष्य छ । उनले १० हजार वर्ग फिट क्षेत्रफलमा सेड निर्माण गरी भैँसी पालनलार्इ बिस्तार गरेका हुन्। ‘शुरुमा ४४ वटा भैसी पाल्ने योजना छ,’उनले भने।



नेपाल राष्ट्रिय प्राथमिक विद्यालय वैरियाबाट प्रारम्भिक पढाई सकेका सुनिल २०५६ सालमा वीरगंज पुगे। बि सं २०५० सालमा सिद्धार्थ माद्यमिक विद्यालयबाट एसएलसी सकेर उनी वीरगंजको हरिखेतान क्याम्पसमा आइएलमा भर्ना भएँ । हरिखेतानबाटै कानुनमा स्नातक सुनिलले पुणे विश्वविद्यलायबाट एलएलएम सकेका हुन्। सन २००७ देखि २०१२ सम्म उनले युएनमा मानवअधिकार अधिकृतको रुपमा काम गरे। ५ वर्ष युएनमा काम गरेपछि उनलाई आइसिजेसंग आबद्ध भए।

पर्सा जिल्ला अदालत, पुनरावेदन अदालत तथा मानवअधिकारवादी संस्थाको कार्यक्रममा जाँदा पर्साकै ग्रामीण भेग र आफनै खेतीबारीमा उनको दृष्टि पर्न थाल्यो । जागिर छोडेर भैँसी पाल्न थालेका उनी बाल्यकालका साथी श्यामबदन यादवसँग मिलेर भैँसीपालनलार्इ बृहद आकार दिँदैछन्। शुरुका दुई वर्ष दुध उत्पादन गरी बेच्ने र पछि आफ्नै डेरी स्थापना गर्ने पनि उनको योजना छ।


Share this Story

   

पर्साका किसानको सोच बदल्ने सुनिल यसरी बने गोठालो, लाखौंको जागिर छोडेर भैँसीपालनमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.