औद्योगिक नगरी रुपन्देहीमा २ मन्त्री र छ पूर्वमन्त्रीको भिडन्त, पूर्बअर्थमन्त्रीलाई कडा टक्कर

बिजमाण्डू
२०७४ कात्तिक २८ गते १०:२९ | Nov 14, 2017
औद्योगिक नगरी रुपन्देहीमा २ मन्त्री र छ पूर्वमन्त्रीको भिडन्त, पूर्बअर्थमन्त्रीलाई कडा टक्कर
रुपन्देही। पश्चिमाञ्चल क्षेत्रको औद्योगिक नगरी रुपन्देहीमा आगामी मंसिर २१ गते हुने  प्रतिनिधि तथा प्रदेश सभाको चुनाव राजनीतिक दलका प्रभावशाली उम्मेदवारी दिएपछि चुनावी सरगर्मी बढेको छ। औद्योगिक मात्र नभएर राजनीतिक हिसाबले पनि रुपन्देही केन्द्रमा चर्चित रहेको छ।


 
पञ्चायतदेखि मधेस आन्दोलनसम्म जोडिएको रुपन्देहीमा मंसिर २१ गते दोस्रो चरणमा हुने चुनावका लागि प्रमुख दलका प्रभावशाली नेताहरूले उम्मेदवारी दिएका छन। पार्टीले टिकट दिएका उम्मेदवारप्रति चित्त नबुझेर बागी उम्मेदवार बन्ने र कारवाही भोग्नेसम्मले यहाँको राजनीति तातेको छ।
 
अहिले रुपन्देहीलार्इ ७ बाट घटाएर ५ क्षेत्रमा कायम गरिएको छ। यी क्षेत्रबाट बाहलवाला तथा पूर्वमन्त्रीहरू चुवानी मैदान उत्रेका छन। जिल्ला निर्वाचन कार्यलय भैरहवाका अनुसार  नयाँ र पुराना गरी पाँच लाख २२ हजार  ६ सय २ मतदाता रहेका छन। मतदानमा २०८ स्थल र ५९८ मतदान केन्द्र तोकिएको छ।
 
जिल्लामा दुई बाहलवाला मन्त्री र छ जना पूर्वमन्त्री चुनावी मैदानमा उर्त्तिएकाले जिल्लाको माहोल तातेको हो। जिल्लामा पाँच केन्द्र र दश प्रदेश सभा सदस्य रहेको छ। वाम गठबन्धन  र लोकतान्त्रिक गठबन्धनको बाहुल्य रहेको जिल्लामा क्षेत्र नं २ बाहेक अन्यको नतिजा चुनावपछि मात्र आँकलन गर्न सकिने बताइएको छ।
 
रुपन्देही १ मा  रज्जाक  र विश्वकर्माबीच भिडन्त
रुपन्देही क्षेत्र नम्बर १ मा वर्तमान खानेपानी तथा सरसफार्इ  राज्यमन्त्री एवं नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाक र पूर्वकृषि मन्त्री एवं एमाले केन्द्रीय सदस्य छविलाल विश्वकर्मा चुनावी प्रतिस्पर्धामा छन्। रज्जाक लोकतान्त्रिक गठबन्धनका तर्फबाट र विश्वकर्मा वाम गठबन्धनको पक्षमा रहेका छन्। दुवै पुराना प्रतिस्पर्धी हुन्।
 
२०७० सालको संविधान सभा चुनावमा रज्जाकसँग विश्वकर्मा झिनो मतले पराजित भएका थिए। रज्जाकले १४ हजार ४ सय मत पाउँदा विश्वकर्माले १४ हजार १ सय ९६ मत प्राप्त गरेका थिए। दुवै नेता स्थानीय माझ परिचित छन्। २०६६ सालको संविधान सभा चुनावमा माओवादीका घनश्याम अहिर यादवले १२ हजार ६२४ मत पाएर विजयी हुँदा कांग्रेसका रज्जाक ११ हजार ३ मत पाएर पराजित भएका थिए।
 
उता एमाले स्थायी कमिठी सदस्य तथा  भलिबल खेलाडीसमेत रहेका विश्वकर्मा स्थानीय माझ भिजेका छन्। रुपन्देहीको अन्य क्षेत्रमा भन्दा यहाँ कडा प्रतिस्पर्धा हुने गठबन्धनका नेताहरूको भनाइ छ। यस क्षेत्रमा एक लाख १२ हजार १ सय ३० मतदाता रहेका छन्।
 
क्षेत्र नम्बर २ मा पूर्वअर्थमन्त्री पौडेल र गिरी
रुपन्देही क्षेत्र नम्बर २ मा एमालेबाट पूर्वअर्थमन्त्री विष्णु पौडेल र कांग्रेसका महाधिवेशन प्रतिनिधि युवराज गिरी चुनावी मैदानमा छन्। साना दलले समेत उम्मेदवारी  दिए पनि गिरी र पौडेलबीच प्रतिस्पर्धा रहेको छ।
 
एमालेका उपमहासचिव रहेका पौडेल यसअघि रुपन्देही क्षेत्र नम्बर ४ को बुटवलबाट दुई पटक विजयी भएका थिए। कांग्रेसका महासमिति सदस्य गिरीले पहिलो पटक चुनावी मैदान उर्त्तिएका हुन्।
 
चर्चित रुपन्देहीको सुरजपुरा घटनासँग जोडिएका गिरी जनता माझ पहिलो पटक पुग्दा निकै उत्साहित छन्। स्थानीय तहमा आफ्नो पकट र पूर्वमन्त्री एवं पार्टीका प्रभावशाली व्यक्ति पौड्याल भएकाले कांग्रेसका नेताहरू पनि चुनाव जित्न कठिन भएको दाबी गर्दै आएका छन्।
 
स्थानीय चुनावलाई हेर्ने हो भने कांग्रेस र माओवादीको गठबन्धनलाई एमाले एक्लैले हराएको थियो। यो क्षेत्रमा एक लाख ५ हजार २ सय ६ मतदाता रहेको छन्।
 
स्वास्थ्य मन्त्री दीपक बोहरा र घनश्याम भुसाल
रुपन्देही क्षेत्र नं. ३ अहिले देशमै चर्चामा रहेको क्षेत्र हो। वाम गठबन्धनका तर्फबाट एमाले उपमहासचिव घनश्याम भुषाल र लोकतान्त्रिक गठबन्धनका दीपक बोहोरा चुनावी मैदानमा छन्। बोहोरा राप्रपा प्रजातिन्त्रकका वरिष्ठ उपाध्यक्ष तथा बहालवाला स्वास्थ्य मन्त्री हुन्। यस चुनावी मैदानमा कस्ले विजय नतिजा निकाल्ने हो, त्यो मंसिर २१ सम्म कुर्ने पर्नेछ। उनीहरु दुवै रुपन्देहीका लागि नयाँ भने होइनन्। बहुदल आएपछिका निर्वाचनमा रुपन्देहीबाट चुनाव लड्दै आएका बोहोरा २०७० सालमा साविक रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।
 
भुसाल पनि २०५३ को उपनिर्वाचनमा रुपन्देही–२ बाट सांसदमा निर्वाचित भएका थिए। उनी २०७० को दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसका नेता बालकृष्ण खाँणसँग झिनो मतले पराजित भएका थिए।
 
दुवै उम्मेदवार स्थानीयसमेत भएकाले यस पटकको प्रतिस्पर्धा कौतूहलपूर्ण बनेको हो। भुसाल पार्टीमा बौद्धिक, समाजको चरित्र बुझ्ने, विकासको मोडल तयार गर्न सक्ने नेतामा परिचित भएको एमालेका नेताको बुझाई छ।
 
तर, बोहराको अवस्था अलि फरक रहेको छ। उनी स्थानीय स्तरमा जनआधार नभए पनि क्षमतावान नेतामा परिचित छन। उनी बेलाबेलामा चर्चामा आउने गर्दछन। यस पटक पनि उनी नेपाल आयल निगमको जग्गा खरिदमा आर्थिक चलखेल गरेकाले चर्चामा आएका थिए।
 
स्थानीय तहको निर्वाचनको नतिजा हेर्दा यस क्षेत्रमा वाम गठबन्धन बलियो देखिन्छ। त्यसैले भुसाल जित्नेमा ढुक्क छन्।
 
ताजा जनादेश आफ्नो पक्षमा रहेको र उम्मेदवार पनि शसक्त, स्वच्छ छवि भएकाले नतिजा आफ्नो पोल्टामा पर्नेमा वाम गठबन्धन विश्वस्त छन्। स्थानीय कमला घिमिरे भन्दछिन स्थानीय स्तरमा भन्दा केन्द्रमा आवश्यक नेता भुसाल हुन् तर, जनताको विकासमा उनी त्यति घुलमिल हुन सक्दैनन्। विकास प्रेमीभन्दा सिद्धान्त प्रेमी रहेको उनले बताइन। वाम गठबन्धनको मत बढी भए पनि दीपक बोहरालाई पनि वाम गठबन्धनको भोट ल्याउने क्षमता रहेको बताइन।
 
एमाले उपमहासचिव भुसाल अगाडिको निर्वाचनमा झिनो मतले पराजित भए पनि यस पटक सहज जित्ने बताउँदै आएका छन्। आफू विजयी भए क्षेत्र नम्बर ३ लगायत समग्र रुपन्देहीको विकासका लागि नयाँ कार्यक्रम ल्याउने बताउँदै आएका छन्। माओवादी एमालेको गठबन्धनमा भुसालको पनि उपस्थिति रहेको एमाले नेताले बताएका छन्। चुनावी सभामा व्यस्त भुसालले यस पटक चुनाव जिते सबैको प्रिय बनेर काम गर्ने बताए।
 
उता स्वास्थ्यमन्त्रीसमेत रहेका बोहोरा आफूलाई रुपन्देहीका जनताले यस पटक पनि विजयी गराउने दाबी गर्छन्। ‘रुपन्देहीको समग्र विकासमा मेरो ठूलो योगदान छ’ बोहोराले भने ‘मैले २०३९ सालदेखि रुपन्देहीमा विकासका योजनाहरू शुरु गरेको हुँ। यहाँको विकास र जनतासँग म भिजेको छु। त्यसमाथि कांग्रेसको साथ हुँदा चुनाव जित्नेमा ढुक्क छु,’ बोहोराले भने। स्थनीय तुल्सी पराजुलीले भने ‘दीपक बोहराको जीत सुनिश्चत भएको बताए।’ विकास तथा जनताको काममा बोहोरा लोकप्रिय रहेका छन, भोट गनेर होइन जनताको मनजित्ने क्षमता बोहोरामा रहेको बताए।
 
प्रतिनिधि सभाका लागि यस क्षेत्रमा एक लाख ९ हजार २ सय ७८ तथा प्रदेश सभा ‘क’मा ५५ हजार १ सय ७६ र ‘ख’मा ५४ हजार १ सय २ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ।
 
यस क्षेत्रमा वाम गठबन्धनको २९ हजार दुई सय ८५ र प्रजातान्त्रिक गठबन्धनको २७ हजार नौ सय ३३ मत रहेको छ। यहाँ संघीय समाजवादी फोरमले ४ हजार एक सय ९७ र फोरम लोकतान्त्रिकले २ हजार दुई सय नौ मत रहेको छ।
 
दुई पूर्वमन्त्रीसहित त्रिपक्षीय प्रतिस्पर्धा
रुपन्देही क्षेत्र नं ४ मा राजपाका प्रभावशाली नेता एवं पटकपटक मन्त्री बनेका सर्वेन्द्रनाथ शुक्ला, वाम गठबन्धनबाट पूर्वमन्त्री एवं भर्खरै एमालेमा प्रवेश गरेका ओमप्रकाश यादव गुल्जारी र नेपाली कांग्रेसका प्रमोद यादव चुनावी मैदानमा छन्।
 
यस क्षेत्रमा तिब्र त्रिपक्षीय प्रतिपस्पर्धा छ। रुपन्देहीका अन्य क्षेत्रमा दुर्इ पक्षको प्रतिस्पर्धा भए पनि यहाँ त्रिपक्षीय प्रतिपस्पर्धा छ। दुई पूर्वमन्त्रीका साथ कांग्रेसको तर्फबाट प्रमोद यादव मैदान रहेका छन।
 
गत संविधान सभा चुनावमा शुक्ला साविकको रुपन्देही ६ बाट विजयी भएका थिए। २०६४ सालको संविधान सभा चुनावमा शुक्लालाई पराजित गर्दै फोरमका तर्फबाट ओमप्रकाश यादव विजयी भएका थिए। यादवले १२ हजार १७० र शुक्लाले १० हजार ९०७ मत प्राप्त गरेका थिए।
 
रुपन्देहीको मर्चवारमा पर्ने यस क्षेत्रमा राजपा र फोरमको राम्रो पकट छ। पार्टीले चुनाव बहिष्कार गरेको दोस्रो चरणको स्थानीय चुनावमा शुक्लाका स्वतन्त्र उम्मेदवारले चुनाव जितेका थिए। नेपाली कांग्रेस युवा नेता प्रमोद यादवको पनि पडक राम्रो रहेको जनाकारहरू बताउँछन्। यस क्षेत्रमा  ७९ हजार ८ सय  ३५ मतदाता रहेका छन।
 
पूर्वअर्थ राज्यमन्त्री भरत साह र पूर्वसांसद डिलाराम आचार्य
रुपन्देही क्षेत्र नं. ५ बाट कांग्रेसका पूर्वअर्थ राज्यमन्त्री भरत साह र वाम गठबन्धनका तर्फबाट माओवादीका डिलाराम आचार्य चुनावी मैदानमा छन्।
 
साह निवर्तमान सांसद हुन्, भने विगतमा राष्ट्रिय जनमोर्चाबाट अर्घाखाँचीमा चुनाव जितेका आचार्य यस पटक माओवादीबाट चुनाव लड्न लागेका हुन्। उनलाई एमाले र जनमोर्चाको साथ छ। दोस्रो संविधान सभा चुनावमा कांग्रेसका साह विजयी भएका थिए।
 
पछिल्लो पटकको निर्वाचन क्षेत्र निर्धारणमा यस क्षेत्रमा केही भूभाग थपिएको छ। साह मतदताका  लागि परिचत अनुहार हुन्, भने आचार्य एमालेको साथमा मैदान जाने अपरिचत हुन्। स्थानीय तहको मतलाई आधार मान्दा वाम गठबन्धनभन्दा कांग्रेस धैरै कम छ। तर अन्य उम्मेवारहरू निकै मिहिनेत गरेर यस क्षेत्रमा साह र आचार्यबीच नै प्रतिस्पर्धा हुनेछ। स्थानीय सूर्य प्रकाश खनाल भन्दछन् ‘स्थानीय तहको मत र अहिले फरक हुने अनुमान छ।’ उनी थप्छन नयाँ मतदाता  थपिएका छन्। अर्को पात्र र प्रृवत्तिले पुरानो आँकडामा भर पर्न नहुने उनको तर्क छ। यस क्षेत्रमा एक लाख ६ हजार १ सय ५३ मतदाता रहेको छ। यस क्षेत्रमा ४५ मतदानस्थल र एक सय २४ मतदाता केन्द्र रहेको छ।
 
प्रदेशमा कस्ता छन् उम्मेदवारहरू
रुपन्देहीमा पाँच निर्वाचन क्षेत्रबाट दश जना प्रादेशिक सांसद निर्वाचित हुँदैछन्। यसको मुख्य प्रतिस्पर्धा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच हुने देखिएको छ।
 
लोकतान्त्रिक गठबन्धनका उम्मेदवार
प्रदेश सभा १ क ताहिर अली (राप्रपा ), प्रदेश सभा एक ख हरि न्यौपाने, प्रदेश सभा २ क काजीमान श्रेष्ठ, प्रदेश सभा २ ख महेशमान सिंह, प्रदेश सभा ३ क देवी चौधरी, प्रदेश सभा ३ ख हरिध्वज मल्ल, प्रदेश सभा ४ क अष्ठभुजा पाठक, प्रदेश सभा ४ ख बसिउद्दिन खान, प्रदेश सभा ५ क बिष्णु पोखरेल र प्रदेश सभा ५ ख फकरुद्दिन खाँ
 
वाम गठबन्धनका उम्मेदवार
प्रदेश सभा १ क डा. कृष्ण न्यौपाने, १ ख दधिराम न्यौपाने (माओवादी) प्रदेश सभा २ क लिला गिरी, २ ख भोजप्रसाद श्रेष्ठ, प्रदेश सभा ३ क विश्वास बराल (माओवादी), ३ ख तुलसीप्रसाद चौधरी, प्रदेश सभा ४ क पल्लवी शुक्ला, प्रदेश सभा ४ ख सहबुद्दिन देवान र प्रदेश सभा ५ क भूमिश्वर ढकाल, 
 
कांग्रेसमा धेरै बागी उम्मेदवार
कांग्रेस र एमाले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवार विपरीत बागी उम्मेदवारी दिएका नेताको पार्टी सदस्यता खारेज गरेका छन्। कांग्रेसले पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै एक जना प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा पाँच जना प्रदेश सभा सदस्यका उम्मेदवारसहित उनीहरूका प्रस्तावक र समर्थक गरी १८ जनाको पार्टी सदस्यता खारेज गरेको छ।
 
क्षेत्र नं. २ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेल तथा उनका प्रस्तावक र समर्थक पार्टी सदस्यता खारेज गरेको कांग्रेस सभापति अब्दुल रज्जाकले जानकारी दिए। त्यस्तै क्षेत्र नं ३ क बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका जिल्ला सदस्य ओमकुमार श्रेष्ठ, उनका प्रस्तावक नारायणबहादुर कार्की र समर्थक राजेश जिसी, क्षेत्र नं ३ को २ बाट प्रदेश सभा सदस्यमा कांग्रेस बीपी पार्टीबाट उम्मेदवारी दिएका डोलराज भुसाल तथा उनका प्रस्तावक सन्तकुमार यादव र समर्थक रामनारायण अहिरलाई पार्टीको साधारण सदस्यता नरहने गरी कारबाही गरेको सभापति रज्जाकले जानकारी दिए।
 
एमालेबाट पनि बागी उम्मेदवारकाे सदस्यता खारेज
यस्तै एमाले जिल्ला सदस्य मिनप्रसाद घिमिरेले रुपन्देही ५ ख बाट बागी उम्मेदवारी दिएका थिए। उनका समर्थक प्रस्तावक सबैलाई एमाले रुपन्देहीले कारवाही गरेको छ।
 
यी बाहेकका रुपन्देहीमा नयाँ शक्ति फोरमलगायतका पार्टीले पनि उम्मेदवार दर्ता गरेका छन।

Tata
GBIME
Nepal Life