चिनीको भन्सार तत्काल नबढ्ने राजस्व सचिव ढुङ्गानाको भनाइ, आयातकर्ता र उत्पादकको दोहोरो लविङ




विराटनगर । चिनीको आयातमा भन्सार महसुल तत्काल वृद्धि नहुने भएको छ। अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर ढुङ्गानाले चिनीको भन्सार शुल्क नबढाइने जानकारी दिएका हुन्।
 
‘चिनीको आयातमा भन्सार महसुल बढाउने आर्थिक ऐनले हो’ ढुङ्गानाले बिजमाण्डूलाई भने, ‘आर्थिक ऐन बनाउने बेला यो होइन। यसबाहेक महसुल बढाउन त्यस्तो कुनै विशेष परिस्थितिको सृजना पनि भएको छैन।’
 
चिनी आयातमा ५० प्रतिशत भन्सार महसुल लगाउन कृषि विकास मन्त्रालयले गत कात्तिक १५ गते अन्य ४ मन्त्रालयलाई सिफारिस गरेको थियो।सचिवस्तरीय निर्णय भएको भन्दै कृषिका सहसचिव सुरेशबाबु तिवारीको हस्ताक्षरमा अर्थ, वाणिज्य, उद्योग र आपूर्ति मन्त्रालयलाई पत्र पठाइएको थियो।
कृषिले पठाएको पत्रका बारेमा आफूलाई जानकारी नभएको ढुङ्गानाले बताए। पत्र पाए पनि नपाए पनि अहिले महसुल नबढ्ने उनको भनाइ छ। चिनीको आयात महसुलमा वृद्धि गराउन चिनी उद्योगी र नगराउन आयातकर्ता व्यवसायीले लविङ गर्दै आएका छन्।
 
हाल चिनी आयातमा भन्सार महसुल १५ र मूअकर १३ प्रतिशत तिर्नुपर्छ। नेपालमा उत्पादन हुने चिनीले स्वदेशभित्रको मागको ४० प्रतिशत मात्र पूरा गर्ने तथ्याङ्क छ। बाँकी चिनी आयातबाटै आपूर्ति गरिन्छ।
 
व्यवसायीले हाल ब्राजिल, बङ्गलादेश, पाकिस्तान र थाईल्यान्डबाट चिनी आयात गरिरहेका छन्। अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य सस्तो भएकाले समुद्रपारका मुलुकबाट चिनीको आयात भएको हो। यसअघि भारतबाट ल्याउने गरिन्थ्यो।
 
नेपालका केही चिनी उद्योगले किसानलाई ४ वर्षदेखिको उखुको मूल्य दिन बाँकी छ। यस्तो वक्यौता ५० करोड रुपैयाँभन्दा बढी छ। चिनीको भन्सार महसुल ५० प्रतिशत भएमा अहिले खुद्रामा प्रति किलोग्राम ८२ रुपैयाँमा पाइने चिनीको मूल्य कम्तीमा १ सय १० रुपैयाँ पुग्नेछ।
 
‘आयातीत चिनी महँगो भएपछि नेपालका उद्योगले पनि मूल्य बढाउने छन्’, मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष खेमचन्द जैनले भने, ‘अनि त्यही अकुत नाफाबाट किसानलाई पुरानो वक्यौताको भुक्तानी गर्नेछन्। त्यसैले चिनी उद्यमीको दबाब र प्रभावमा कृषि विकास मन्त्रालयले महसुल वृद्धिको सिफारिस गरेको हो।’ 
 
मङसिरको मध्यदेखि नेपालका उद्योगले नै चिनीको उत्पादन सुरु गर्नेछन् । ‘अहिले भइरहेको चिनीको आयात मङ्सिरको पहिलो हप्तासम्म मात्र हो’, व्यवसायी जैनको भनाइ थियो, ‘स्वदेशमै उत्पादन सुरु भएपछि आयात स्वतः बन्द हुनेछ।’
 
चालु आर्थिक वर्षको साउन, भदौ र असोज गरी ३ महिनामा काँकडभिट्टा नाकाबाट एक हजार आठ सय ७२ र विराटनगर नाकाबाट एक हजार पाँच सय ५० मेट्रिक टन चिनी आयात गरिएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् ।


Share this Story

   

चिनीको भन्सार तत्काल नबढ्ने राजस्व सचिव ढुङ्गानाको भनाइ, आयातकर्ता र उत्पादकको दोहोरो लविङ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.