कीर्तिपुरमा किलोको ३० रुपैयाँमा बिक्री हुन्छ गोलभेडा, सात किलोमिटर पार गर्दा ९० रुपैयाँ पुग्छ

बिजमाण्डू
२०७४ कात्तिक २५ गते २१:२८ | Nov 11, 2017
काठमाडौं। कालिमाटीबाट कीर्तिपुरको दुरी ७ किलोमिटर मात्र छ। कीर्तिपुरमा ७०० रुपैयाँमा किनेको गोलभेडा क्रेट सात किलोमिटर यात्रा गरेपछि १७ सय रुपैयाँ पूग्छ।

Tata
GBIME
Nepal Life

कीर्तिपुरका ठेकेदारहरुले सात सय रुपैयाँमा किनेको गोलभेडा १७ सय रुपैयाँ क्रेटमा बिक्री गर्छन्।किसानले दिनरात नभनी उब्जाएको गोलभेडा ठेकेदारले कुनै लगानी नगरि एक हजार रुपैयाँ नाफा खाएर कालिमाटीमा बिक्री गर्छ।ठेकेदारले कालिमाटीमा कति रुपैयाँ किलो तरकारी बेच्छन् भन्ने कुरा कुनै पनि व्यावसायीले मुख खोल्दैनन्। किसानले प्रतिकिलो ३० रुपैयाँमा बेचेको तरकारीलार्इ खुद्रा व्यापारीहरुले कालिमाटीबाट उठाउँदा प्रतिकिलो ९० रुपैयाँ हालिरहेका छन्।
 

खुद्रा व्यापारीले पनि गाडीमा हालेरै पसल सम्म तरकारी पुर्याउँछन्। यसरी तरकारी लैजाँदा पनि ढुवानी खर्च थप हुन्छ। खुद्रा व्यापारीले पनि अलिकति नाफा राखेर बेच्दा त्यसको मूल्य ४ गुणा बढी सकेको हुन्छ। अर्थात किसानले ३०/३५ रुपैयाँ किलोमा बेचेको तरकारी उपभोक्ता सम्म पूग्दा थोरैमा पनि १०० रुपैयाँ देखि १२० रुपैयाँ सम्म मूल्य पूगेको हुन्छ।

 
 
 
ठेकदारले प्रति क्रेट ७०० रुपैयाँ देखि ८०० रुपैयाँ सम्म मात्र किसानलाई दिएर टमाटर उठाउँछन्। त्यहि टमाटर कालिमाटीबाट खुद्रा व्यापारीले लैजाँदा प्रति क्रेट १७०० देखि १८०० सय रुपैयाँ सम्म हाल्छन्। ७०० देखि १७०० रुपैयाँबीचको पैसाको मुनाफा ठेकेदार र कालिमाटीका थोक व्यापारिले राखेको देखिन्छ। एक क्रेटमा २३ किलो टमाटर हुन्छ।
 
सबै खुद्रा व्यापारीले क्रेट उठाउन सक्दैनन्। ५ किलो १० किलो गरेर लैजाँदा प्रतिकिलो ९० रुपैयाँ देखि १०० रुपैयाँ सम्मै हाल्छन्।गोलभेडा मात्र नभएर, अन्य तरकारी काउली, बन्दा, करेला, काँक्रो, साग सबैमा बिचौलियाको हिस्सा दोब्बर रहेको पाईन्छ।
 
                                                        ….
धादिङमा तरकारी खेती गर्दा स्थानीय बजार नहुने र बिचौलियालाई बेच्नेहरु कहिलेई ऋण मुक्त हुन नसकेको देखेपछि धादिङमा सेतेमान श्रेष्ठ काठमाडौं आएर तरकारी खेती गरिरहेका छन्।कीर्तिपुरमा स्थानीय बजार छ। बिचौलियालाई नदिएर स्थानीय बजारमा बेच्न पाउँदा राम्रो नाफा आउने विश्लेषण सहित उनले काठमाडौंको यात्रा गरेका हुन।
 
तर उनको यात्रामा पहिलो गासमै ढुङ्गा लाग्यो। जव सरकारले घोषणा गरेको सहुलियत ऋण लिने उपाय भेटेनन्।बैंकमा पनि धाए तर ऋण पाएनन्। महिनौ सम्म त्यसै बरालिएपछि उनले एक जना ऋण दिने व्यक्ति भेटे। जसले तरकारी खेती सुरु गर्न आवश्यक ऋण उपलब्ध गराए।तरकारी खेती सुरु गरे। खेती पनि राम्रो भयो। तीन रोपनीमा गरेको खेतीले पहिलो वर्षनै ऋण मुक्त हुने अपेक्षा थियो श्रेष्ठको।
 
तर तरकारी बेच्ने बेलामा ऋण दिने व्यक्तिनै तरकारी लिन आए।उत्पादन भएको तरकारी लोड गरेर लगे। ऋण दिने साहुले आउने/जाने गाडीभाडा कटाए, ऋण सापटी दिएको भन्दै अरुको भन्दा १० रुपैयाँ सस्तोमा तरकारी हिसाब गरेर किने।ऋणकै बराबर तरकारी हिसाब पुर्याए।बजारमा सय रुपैयाँमा बिक्री हुने गोलभेडा ४० रुपैयाँमा बिक्री गर्न बाध्य भए।यो तरकारी उत्पादन गर्ने श्रेष्ठको जस्तै कथा अरुको पनि छ।१२ महिना दु:ख गर्यो तर हातमा लाग्यो शुन्य।
 
कीर्तिपुरकै किसान गोपाल तामाङ पनि १० वर्षदेखि तरकारी खेती गरिरहेका छन्। उनको कथा पनि त्यस्तै छ। उत्पादन सबै बेच्दा साउको ऋण तिर्न पुग्छ तर हातमा केही पर्दैन्। 
 
स्थानीय सरकारले झनै अप्ठेरोमा
कीर्तिपुरमा पहिले पहिले उत्पादन गरेको तरकारीहरु सडक छेउमा राखेर बेच्ने गरेका थिए। स्थानीय निर्वाचनपछि कीर्तिपुर नगरपालिकाले जनप्रतिनिधि पायो।

जनप्रतिनिधिले सडकछेउमा तरकारी राखेर बेच्न नदिने निर्णय गरेसँगै किसानहरुले नचाहेर पनि बिचौलिया मार्फत तरकारी बेच्न थालेको कीर्तिपुरका किसान विरेन्द्र शाहीले बताए।शाहीले भने, राज्यको ढुकुटीमा केहि त जम्मा हुन्छ। बिचौलियासँग मिलेर किसान र उपभोक्ता मार्ने काम भएको छ।

'बारिमा पुग्ने ग्राहकलाई ८० रुपैयाँ किलो टमाटर बेच्छु। हामीलाई पनि नाफा हुन्छ। ग्राहक पनि बचतमा हुन्छन्। सधै बारीमा ग्राहक जाँदैनन्। गएपनि एक दुई किलो किन्नेमात्र जान्छन्। सडकछेउमा राखेर बेच्न पाईदैन। कुहिएर जानुभन्दा ४०/४५ रुपैयाँमै भएपनि बिचौलिया मार्फत बेच्नुपर्दा हामीलाई अन्याय भएको छ।' शाहीले भने।
 
तरकारी अभाव मूल्य बृद्धिको बहाना मात्रै
तरकारीको अभाव पनि मूल्यवृद्धिको एक कारण हो। तराईमा आएको बाढीले तरकारीबाली बगाएको र अन्य क्षेत्रको बालीमा रोग किरा लागेपछि तरकारीको माग अनुसार आपूर्ति हुन सकेको छैन।

तर तरकारीको अभाव बिचौलियाको मूल्यवृद्धिको बाहाना मात्रै भएको किसानहरु स्वंय बताउँछन्।उनीहरुका अनुसार बजारमा ५० रुपैयाँ किलोमा गोलभेडा बिक्री गर्दा किसानले २० रुपैयाँ किलोमा बेचिरहेका थिए।

 
तीनथरी बिचौलिया
कीर्तिपुरमै तरकारी खेती गरिरहेकी दाङकी बिना चौधरीको बारीमा एक दिन अनौठो ग्राहक आए।‘घरमा भोज छ भनेर तरकारी टिपेर तौलिएर पैसा थमाए,उनले भनिन्, ‘बजारमा १ सय ३० रुपैयाँमा बिक्री भइरहेको काउलीलार्इ ६० रुपैयाँ तिरेर लगे।दिन्न भन्दा धम्क्याएर लिएर गए।‘उनका अनुसार त्यही व्यक्तिले आफूसँग किनेको तरकारी बिक्री गरेको देखेर आश्चर्यचकित भए।
 
निश्चित क्षेत्रफलमा लगाएको तरकारीलाई कालिमाटीमा लैजान कुनै एक जना व्यक्ति तोकिएको हुन्छ।गाउँमा सबै तरकारी बिक्री नहुने र कालिमाटी लगायतका बजारमा प्रत्यक्ष रुपमा तरकारी नकिन्ने भएकोले विचौलिया प्रयोग गर्न किसान बाध्य छन्। एकथरि बिचौलिया किसानलाई चाहिएको बेला ऋण दिन्छन्। पछि उसको तरकारी सबै आफैले किन्छन्।