सगुनले यो बर्ष ५० लाख अमेरिकी डलर लगानी संकलन गर्ने, एक करोड प्रयोगकर्ता पुर्याउने लक्ष

बिजमाण्डू
२०७४ कात्तिक २४ गते १३:५९ | Nov 10, 2017
काठमाडौं । गैर आवासीय नेपाली गोविन्द गिरीको प्रवर्धनमा सञ्चालित सगुन इन्कले यो बर्ष (सन् २०१७ मा) ५० लाख अमेरिकी डलर लगानी संकलन गर्ने भएको छ। युएस सेक्युरिटी एण्ड एक्सचेञ्ज कमिसनले एक बर्षका लागि दुई करोड डलरसम्म लगानी संकलन अनुमति दिएकोमा ५० लाख डलर उठाउन लागिएको गिरीले जानकारी दिए। अहिलेसम्म बिभिन्न मुलुकमा बस्ने दुई हजार बढी नेपालीले कम्पनीमा ३० लाख २० हजार अमेरिकी डलर लगानी गरि सकेका छन्।

Tata
GBIME
Nepal Life

कम्पनीमा नेपाल, उत्तर कोरिया र इरान बाहेक सबै मुलुकबाट बैंक चेक एवं डेबिट/क्रेडिट कार्ड मार्फत लगानी गर्न सकिने गिरीले बताए। यो बर्ष संकलित लगानी प्रयोगकर्ता बढाउन एवं अनुसन्धान र विकासमा खर्च गर्ने कम्पनीको तयारी छ। अहिले सगुनका प्रयोगकर्ता १० लाख पुगेका छन्। आउँदो बर्ष यो संख्या ५० लाख देखि एक करोड पुर्याउने कम्पनीको लक्ष छ। डिसेम्बरमा मोवाइल एप्लिकेसन सार्वजनिक गर्ने र प्रयोगकर्ता बृद्धिका लागि प्रचार प्रसार तिब्र पार्ने गिरीले जानकारी दिए।

 
कम्पनीले अमेरिकी कानुन अनुसार सार्वजनिक आह्वान मार्फत शेयरमा लगानी खुला गरेको उनले बताए। तर, यो खुला प्राथमिक निस्कासन भने होइन। सन् २०१९ सम्ममा न्यूयोर्क स्टक एक्सचेञ्ज मार्फत सार्वजनिक निस्कासन गर्ने कम्पनीको तयारी छ। कम्पनीमा न्यूनतम एक हजार अमेरिकी डलर लगानी गर्नु पर्ने हुन्छ। साथै बार्षिक आयको १० प्रतिशतभन्दा बढि लगानी गर्न नपाउने प्रावधान राखिएको गिरीले बताए। नोभेम्बर महिनाभर लगानी गर्न पाइनेछ।
 
कम्पनीले नेपाल, भारत र अमेरिकामा कार्यालय खोलेर काम गरि रहेको छ। भारतको फरिदाबादमा रहेको कार्यालयमा ४० जना इन्जिनियरले ‘सोसल साइट डेभलपमेन्ट’को काम गरि रहेका छन्। कम्पनीले सन् २०१८ मा डिजिटल सोसल स्मार्ट कार्ड ल्याउने तयारी गरेको छ। सगुनका प्रत्येक प्रयोगकर्ताले उक्त कार्ड सित्तेमा पाउनेछन्। कार्ड मार्फत अनलाइन सपिङ देखि उपहार आदान प्रदानसम्म गर्न मिल्ने गिरीले जानकारी दिए। 
 
‘हामी सोसल स्मार्ट कार्ड प्रयोग गरेर खरिद गर्दा सगुनले निश्चित कमिसन पाउने गरि अनलाइन पसलहरुसँग सहमति गर्छौँ, उनले भने- र, त्यसरी पाएको कमिसनको पाँच प्रतिशत प्रयोगकर्तालाई नै फिर्ता दिन्छौँ।’ यसरी सामाजिक सञ्जालका अलावा प्रयोगकर्ताका लागि सगुन आयको माध्यम समेत हुने उनको भनाइ छ। ‘अनलाइन किनमेल गर्दा साविक मूल्यमै पाए पनि पछि कम्पनीले आफ्नो कमिसन सेयर गर्दा प्रयोगकर्तालाई थप लाभ हुन्छ’ उनले भने। 
 
अहिले सगुनको प्रति शेयर मूल्य २३ अमेरिकी डलर कायम गरिएको छ। अहिले कम्पनीको मूल्यांकन नौ करोड ३० लाख अमेरिकी डलर पुगेको गिरीले जानकारी दिए। मोवाइल एप सार्वजनिक गरेर प्रयोगकर्ता बृद्धि पछि ५० करोड अमेरिकी डलर मूल्यांकन पुर्याउने लक्ष लिइएको छ। सगुन स्थापनामै ग्लोबल भिजन कम्पनीको रुपमा अमेरिकामा दर्ता भएको हो। सगुनको कानुनी स्टाटस गुगल, फेसबुक एवं ट्विटर लगायतका आइटी कम्पनी समान रहेको गिरीले जानकारी दिए।
 
विद्यार्थीको रुपमा अमेरिका पुगेका कम्युटर इन्जिनियर गिरीले लामो समय अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा काम गरेका थिए। सुरुमा सर्च इन्जिनको रुपमा सगुन स्थापना गरेका उनले पछि सामाजिक सञ्जाल तर्फ मोडिने अठोट लिए। त्यस अनुरुप सन् २०१३ यता जागिर छोडेर नयाँ अभियानमा होमिएको उनी बताउँछन्। ‘गोरा र सिलिकन भ्यालीले मात्र बिश्वको प्रविधि बजारमा एकछत्र राज गर्नु पर्छ भन्ने केही छैन, उनले भने- हामी तेस्रो मुलुकका मान्छे पनि सपना देख्न र साकार पार्न सक्षम छौँ भनेर सगुन स्थापना गरिएको हो।’