दशैं तिहारमा २५ प्रतिशतले बढ्यो मोटरसाइकल बिक्री, चाड सकिएपछिको बिक्री सामान्य, चुनावले तानेन

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ कात्तिक २४ गते ११:३२ | Nov 10, 2017
दशैं तिहारमा २५ प्रतिशतले बढ्यो मोटरसाइकल बिक्री, चाड सकिएपछिको बिक्री सामान्य, चुनावले तानेन
काठमाडौं । यसपालीको दशैं तिहारमा मोटरसाइकल एवं स्कुटर बिक्री २५ प्रतिशतले बढेको व्यवसायीहरुले जनाएका छन्। चाडबाड सकिएपछि अहिलेको बिक्री पुरानै अवस्थामा फर्किएको यामाहाको अधिकृत विक्रेता एमएडब्लु इन्टरप्राइजेजका एसिष्टेन्ट सेल्स म्यानेजर दीपक रौनियारले जानकारी दिए।
 
बिक्रेताले निर्वाचनमा पनि मोटरसाइकल बिक्री बढ्ने अपेक्षा राखेका छन्। तर, त्यस अनुरुप अहिलेसम्म माग नबढेको उनले बताए।  चुनावी प्रचार प्रसारमा नयाँ बाइक किन्ने भन्दा पनि पुरानै प्रयोगमा ल्याइएको हुन सक्ने उनको आँकलन छ।
 
रौनियारका अनुसार यो वर्ष दशैं तिहार अवधिभर  एमएडब्लुले एफजेड, एफजेड २५ लगायतका बाइक तीन हजार छ सयको संख्यामा बिक्री गरेको छ।
 
यामाहाको जस्तै अनुभव बजाजको पनि छ। बजाज मोटरसाइलको टेकु स्थित मुख्य सोरुममा मोटरसाइकल बिक्री अहिले सामान्य अवस्थामा फर्कि सकेको सेल्स एड्भाइजर महेश देउजाले बताए। दशैं तिहार अवधिभर दैनिक ३५ वटा बाइक विक्री हुने गरेको शोरुममा अहीले दैनिक १५ वटा बाइक विक्री भइरहेको देउजाले जानकारी दिए। बजाजले मंसीर ७ गतेबाट भृकुटीमण्डपमा महा-एकसचेन्ज मेला आयोजना गर्ने भएको। 
 
रोयल इन्फिल्डको अधिकृत विक्रेता विबेक अटोमोवाइलले दशैं तिहार अवधिभर लगभग सातदेखि ८ सय बाइक विक्री गरेको ब्राण्ड मेनेजर दिपेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार गत वर्ष विवेक अटोमोवाइल्स दुई हजार बाइक बेच्न सफल भएको थियो। चाडबाड सकिए लगत्तै हाल दैनिक २० देखि ३० वटा रोयल इन्फिल्ड बिक्री भइरहेको उनले बताए।
 
महिन्द्रा टु व्हिलर्सको अधिकृत विक्रेता अग्नि इन्कर्पोरेटले यसपालि दशैं तिहार अवधिभर काठमाडौं उपत्यकामा एघार सय बाइक तथा स्कुटर विक्री गरेको विक्री व्यवस्थापक सुरेश रायमाझीले बताए। उनका अनुसार गत वर्षको तुलनामा यसपाली ५७ प्रतिशतले व्यापारमा वृद्धि भएको हो। सबैभन्दा धेरै गस्टो १२५  बिक्री भएको छ।
 
'हामीले दशैं तिहार योजना कात्तिक महीनासम्मका लागि राखेका छौँ, योजना अवधिभर २२ सय मोटरसाइकल एवं स्कुटर बेच्ने लक्ष छ, उनले भने। योजना सकिन लाग्दा अहिले दैनिक १५ देखि २० वटा दुई चक्के सवारी साधन बिक्री भइ रहेको उनले बताए।
 
होन्डा बाइकको अधिकृत विक्रेता स्याकर ट्रेडीङले चाडवाड योजना अवधिमा मुलुकभर करिब २४ हजार थान बाइक विक्री गरेको जनाएको छ। गत वर्षको तुलनामा यसपालि २० प्रतिशतले बढेको कम्पनीको भनाइ छ। चाडवाड सकिए पछि पनि देशभर दैनिक दुई सय बाइक विक्री भइरहेको कम्पनिले जनाएको छ।

Tata
GBIME
Nepal Life