६० लाखमै बनेको ‘लोकमान रोड’, ‘लोकमान भूत’ ले यसरी ल्यायो काममा गुणस्तर

बिजमाण्डू
२०७४ कात्तिक २३ गते १३:०१ | Nov 9, 2017
काठमाडौं । मैतीदेवी पूल तरेपछि पुरानो वानेश्वर नपुग्दै देब्रे पट्टिबाट ठाडो उकालो चढेपछि आइपुग्छ रोहिणीमार्ग। त्यो यस्तो बाटो छ जहाँ पुग्दा विदेशको कुनै आवासीय क्षेत्रमै अनुभव हुन्छ। भित्री सडक भए पनि ट्राफिक चिन्ह छन् र कालोपत्रेको चमक पनि उस्तै।

Tata
GBIME
Nepal Life


 

नेपालमा निर्माण हुने अधिकांश सडक कालोपत्रे गरेको केही समयमै उप्किन्छ। अझ काठमाडौंका भित्रि सडकमा गरेको पिच त केही सातामै खाल्डो परि सकेको हुन्छ। तर, दुई बर्ष अघि पिच गरिएको यो बाटो अहिलेसम्म पनि जस्ताको तस्तै छ। पिचको चमक समेत घटेको छैन, आखिर किन?
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालिन प्रमुख लोकमान सिंह कार्कीको घर जाने बाटो हो त्यो। कार्की पावरमा रहेका बेला सडक बिभागले उक्त बाटो पिच गरेको थियो। लोकमानको ‘भूत’ दिमागमा रहेपछि विभागका कर्मचारीले यस्तो काम गराएकी, ६० लाख रुपैयाँमा दुई लेनको तीन सय १६ मिटर बाटो बन्यो त्यो पनि अन्तर्राष्ट्रिय गुणस्तरको। 


 

निर्माणमा कुनै सम्झौता नगरेको परिणाम स्वरुप उक्त बाटो अहिलेसम्म पनि जस्ताको तस्तै रहेको हो। डिभिजन सडक कार्यालय काठमाडौं- १ का इन्जिनियर सुशीलराज भण्डारीका अनुसार उक्त बाटोको उकालो रहेको १६ मिटर खण्डमा ढलान र तीन सय मिटर कालोपत्रे गरिएको छ। मैतीदेवी-पुरानो बानेश्वर सडकबाट दायाँ उकालो लागेर बानेश्वर हार्इटको पार्कलार्इ दुर्इतिरबाट परिक्रमा गरेपछि उक्त बाटो टुंगिन्छ। 


 

गौरी गणेश निर्माण सेवाले ०७१ चैतमा थालेर एक बर्षमा सडक निर्माण पुरा गरेको भण्डारीले जानकारी दिए। छ महिना भित्र सम्पन्न गर्ने लक्षसाथ सुरु भएको बाटो मेलम्ची खानेपानीको पाइप बिछ्याउन कुर्दा थप छ मिहना लागेको उनले बताए।


 

यो सडकमा गरिएको कालोपत्रेको मोटार्इं ५० एमएम छ। सामान्यतया बिभागले ४० एमएमको कालोपत्रे गर्ने गरेको छ। सबै निर्माण सामाग्री गुणस्तरिय छनौट गरिएकाले दुर्इ वर्षसम्म सडकमा कुनै समस्या नआएको निर्माण कम्पनीका निर्देशक विष्णु लामिछानेले बताए। ‘कम्प्याक्सन (लोडरले थिच्ने काम) र कालोपत्रे पछि गरिने भाइव्रेटिङ ,पानी र ढलको राम्रो निकास भएकाले सडक गुणस्तरीय भएको हो, उनले भने।


 

कालोपत्रे अघि गरिने सबवेस, बेसकोर्ष र विटुमिनको गुणस्तर उच्च रहेको कारण सडक दह्रो र वलियो भएको उनको भनाइ छ। सडक विभागका सहायक प्रवक्ता रमेश कुमार सिंहले सबै ठाउँमा गुणस्तरीय सडक नै निर्माण हुने तर पानी, ढल लगायत कारणले छिटो उप्किएको दावी गरे।