ठूला उत्पादकलार्इ पोस्न चिनीमा ५० प्रतिशत भन्सार बढाउन सिफारिश, चिनी अझै महँगिने!

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ कात्तिक २२ गते ०८:१० | Nov 8, 2017
ठूला उत्पादकलार्इ पोस्न चिनीमा ५० प्रतिशत भन्सार बढाउन सिफारिश, चिनी अझै महँगिने!


विराटनगर।कृषि विकास मन्त्रालयले उत्पादकको स्वार्थका लागि विदेशबाट आयात गरिने चिनीमा ५० प्रतिशत भन्सार महसुल लगाउन सिफारिश गरेको छ।

Tata
GBIME
Nepal Life

चिनी उत्पादक संघको स्वार्थमा मन्त्रालयले भन्सार दर ५० प्रतिशत लगाउन अर्थ, उद्योग,आपूर्ति र वाणिज्य मन्त्रालयमा सिफारिश गरेको हो। मन्त्रालयको सचिवस्तरीय निर्णय गरिएको भन्दै सहसचिव सुरेशबाबु तिवारीले गत कात्तिक १५ गते पत्र लेख्दै भन्सार दर पचास प्रतिशत पुर्याउन सिफारिश गरिएको छ।पत्रमा नेपाल चिनी उद्योग सङ्घले चिनीको आयात महसुल कम्तीमा ५० प्रतिशत पुयाइनुपर्ने भनी गरेको माग जायज देखिएको उल्लेख गरिएको छ ।


अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा भारी गिरावट आएको र यसले गर्दा स्वदेशी चिनी उद्योग प्रतिस्पर्धा गर्न नसकी धराशायी हुने अवस्था रहेको पत्रमा उल्लेख छ । अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा उच्च गिरावट आएपछि संघले आयातमा भन्सार दर बढाउन मन्त्रालयलार्इ दबाब दिँदै आएको थियो।अहिले तेस्रो मुलुकबाट १५ प्रतिशत भन्सार र भ्याट तिरेर नेपालमा चिनी आयात भइरहेको छ।अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा घटाउनुको सट्टा उत्पादकले पूरानै मूल्यमा चिनी बिक्री गरिरहेका छन्।

अझ आयातकर्ताका अनुसार आन्तरिक बजारमा उत्पादित चिनी असारमै सकिसकेको छ।भदौंबाट मात्रै भारत र तेस्रो मुलुकबाट चिनी आयात हुन थालेको हो।केही ठूला चिनी उत्पादकले महँगो मूल्यमा बिक्री गर्ने भन्दै भण्डारण गरेर राखेका थिए।

त्यही उत्पादकलार्इ पक्षपोषण गर्न र उपभोक्तालार्इ महँगो मूल्यमा चिनी बिक्री गर्न भन्सार दर बढाउन मन्त्रालयले सिफारिश गरेको स्रोतले बतायो।नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य घटेका कारण व्यवसायीले तेस्रो मुलुकबाट आयात गर्न थालेको बताए।
 

नेपालमा ब्राजिल, पाकिस्तान, बङ्गलादेश र थाइल्यान्डबाट चिनी आयात भइरहेको छ।विराटनगरमा हाल चिनीको खुद्रा मूल्य प्रति किलो ८० देखि ८३ रुपैयाँसम्म छ । ब्राजिलबाट आयातीत धुलो चिनीको मूल्य ८० र पाकिस्तानी मोटा दाना भएको चिनी प्रति किलो ८२ र ८३ मा खुद्रा विक्री भइरहेको छ ।सीमापरि जोगबनी बजारमा भने प्रति किलो ७० देखि ७२ रुपैयाँसम्ममा पाइन्छ ।
 
बिस्कुट र कन्फेक्सनरी उद्योगका सञ्चालक र आयात–निर्यातका व्यवसायी मन्त्रालयको सिफारिसबाट रुष्ट देखिएका छन् ।‘नेपालको आन्तरिक उत्पादनले चिनीको कुल मागको ४० प्रतिशत पनि धान्दैन’, क्वालिटी बिस्कुट उद्योगका सञ्चालक श्याम काबराले भने, ‘यस्तो अवस्थामा चिनीको आयात महसुल ५० प्रतिशत बनाइयो भने ८० रुपैयाँमा पाइँदै गरेको चिनीको मूल्य कम्तीमा १ सय १० हुन्छ । यसबाट नेपालका बिस्कुट र कन्फेक्सनरी उद्योगमा ताल्चा लगाउनुको विकल्प हुँदैन ।’
 
उद्योगी काबराले कानुनी रूपमा आयात गरिएको चिनीमा चर्को महसुल लगाएर महँगो पारियो भने भारतबाट अवैध पैठारी बढ्ने र राजस्वमा ह्रास आउने दाबी गरे ।उनले मुलुकमा चिनी उद्योगको ख्याल गर्ने प्रशासकहरू बिस्कुट र चकलेट उद्योगसँगै उपभोक्ता भने विर्सिने गरेको बताए। नेपालका बिस्कुट र चकलेट उद्योग वैध र अवैध रूपमा गरिन आयातसित प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्थामा चिनीको पैठारीलाई अझ महँगो बनाइनु अनुचित हुने उनले बताए।
 
उनले भने, ‘चिनी उद्योगलेजस्तै हामीले पनि रोजगारीको सृजना गरेका छौँ र राजस्वमा उल्लेखनीय योगदान पुर्याएका छौँ ।’उद्यमी काबराले बिस्कुट र कन्फेक्सनरी उद्योगले औद्योगिक कच्चा पदार्थसरह ५ प्रतिशत महसुलमा चिनीको आयात गर्न पाउनुपर्ने बताउँदै मुख्य कच्चा पदार्थ नै महँगो महसुल तिरेर ल्याउन बाध्य पारिएको गुनासो गरे ।उनले साल्ट ट्रेडिङले सुविधा लिएर ५ प्रतिशत आयात महसुलमा भित्र्याएको चिनी महँगो मूल्य लिएर विक्री गरिरहेको आरोप लगाए।
 
‘चिनीजस्तो अत्यावश्यक वस्तुलाई जानीजानी महँगो बनाएर जनताको ढाड सेक्ने षडयन्त्र हुँदैछ’, अर्का व्यवसायी जीवन रिजालले भने, ‘नेपालका चिनी उद्योगले वर्षभरि चिनी आपूर्ति गर्न सक्छन् भने त महसुलमा वृद्धि गर्नु ठिकै थियो ।’चालु आर्थिक वर्षको साउन, भदौ र असोज गरी ३ महिनामा काँकडभिट्टा नाकाबाट १ हजार ८ सय ७२ र विराटनगर नाकाबाट १ हजार ५ सय ५० मेट्रिक टन चिनी आयात गरिएको भन्सार कार्यालयले जनाएका छन् ।