प्रदेशका आधारमा इम्वोस्ड नम्बर फारम आजबाट खुल्यो, फारम भरेको सातामै पाइने, कति पर्छ मूल्य?

बिजमाण्डू
२०७४ कात्तिक २० गते १२:४३ | Nov 6, 2017
प्रदेशका आधारमा इम्वोस्ड नम्बर फारम आजबाट खुल्यो, फारम भरेको सातामै पाइने, कति पर्छ मूल्य?
काठमाडौं। यातायात ब्यवस्था विभागले सोमबारबाट प्रदेश नम्बरका आधारमा इम्वोस्ड नम्बर प्लेटका लागि आवेदन खुला गरेको छ। 
 
विभागका प्रवक्ता डा. टोकराज पाण्डेले प्रदेश नम्बरको आधारमा सोमबारबाट अनलार्इन आवेदन खुला गरिएको जानकारी दिए। 


 
देश संघीयतामा गए पनि यातायात व्यवस्था विभागले पुरानो संरचना अनुसार अञ्चलकै नामबाट भदौ पहिलो साताबाट इम्वोस्ड नम्बर प्लेट जडान गर्न सुरु गरेको थियो। संसदको विकास समितिले अञ्चलका आधारमा इम्बोस्ड नम्बर वितरणमा रोक लगाएको थियो।  त्यसपछि इम्वोस्ड नम्वर प्लेट नै छपार्इ रोकिएको थियो।
 
यातायात व्यवस्था विभागले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय मार्फत मन्त्री परिषदमा प्रदेश नम्बरका आधारमा इम्वोस्ड नम्वर प्लेट वितरणका लागि प्रस्ताव लगेपछि सोमबारबाट आवेदन माग गरिएको हो। 
 
मन्त्रीपरिषद्ले अञ्चलका आधारमा नम्वर प्लेटको व्यवस्थालार्इ संशोधन गरि प्रदेशका आधारमा इम्वोस्ड नम्वर प्लेट वितरण गर्ने निर्णय गरेको छ। अहिले अञ्चलको नाम उल्लेख भएको ठाँउमा प्रदेशको पहिचान नम्बर राख्न सकिने गरि यातायात व्यवस्था नियामावली संशोधनको निर्णय गरिएको भनी राजपत्रमा समेत प्रकाशन गरिएको छ। 
 
अहिले प्रदेशको पहिचानका लागि प्रदेश नम्बर राखिने र प्रदेशको नामाकरण गरिएपछि भने त्यसमा थप शुल्क नलाग्ने गरि प्रदेशको नाम उल्लेख भएको सुरक्षित स्टिकर टाँसिने यातायातका पाण्डेले जानकारी दिए।
 
कति पर्छ मुल्य?
सवारी साधनलार्इ चार भागमा विभाजन गरेर मुल्य निर्धारण गरिएको छ। दुर्इ पाङग्रे, तीन पाङग्रे र चार पाङग्रे र ठुला गरि चार भागमा विभाजन गरि भिन्दा भिन्दै मुल्य तोकिएको छ। 
 
नम्वर प्लेट जडान गर्नका लागि दुर्इ पाङग्रे सवारीसाधनका लागि दुर्इ हजार पाँच सय, तीन पाङग्रे सवारीका लागि २ हजार ९ सय, चार पाङग्रे सवारीका लागि ३ हजार दुर्इ सय रुपैयाँ र ठुला (हेभ्भी) सवारीसाधनका लागि ३ हजार छ सय रुपैयाँ तोकिएको छ।
 
तत्कालका लागि तीन पाङग्रे र चारपाङग्रे सवारीसाधनका लागि मात्र आवेदन खुल्ला गरिएको साना तथा ठुला सवारी कार्यालय बागमतीले जनाएको छ।  
 
ठूला तथा साना सवारी कार्यालय बागमतीबाट इम्वोस्ड नम्बर प्लेट वितरण भैरहेको छ। अहिलेको बागमती अञ्चलको ठाँउमा स्टेट-३ रहने छ। 
 
अनलार्इन आवेदन कसरी दिने?
यातायात व्यवस्था विभागको वेबसार्इटमा गर्इ इम्वोस्ड नम्बर प्लेट सर्च गरे माग गरिएका कुराहरु फिलअप गर्न सकिन्छ।
 
यातायात कार्यलयमा गएर सवारी साधन अनुसारको रकम तिरेर ब्लुक बुकका आधारमा अनलार्इनमा गएर फारम भर्नुपर्दछ। रकम बुझाएको रसिद नम्बर पनि त्यसमा उल्लेख गर्नुपर्दछ।
 
फारम भरेपछि आवेदकलाई एसएमएस आउँछ। म्यासेज आएपछि बायोमेट्रिकका लागि यातायात कार्यलय जानु पर्दछ। यसमा फोटो खिच्ने र डिजिटल सिक्नेचर लिने काम गरिन्छ।
 
त्यसपछि आवेदकको पुरा विवरण विभागको आइटी शाखामा पुग्छ। आवेदन दिएको १ हप्तामा नम्बर प्लेट तयार भैसक्ने विभागका प्रवक्ता पाण्डेले जानकारी दिए।
 
इम्वोस्ड नम्बर प्लेट तयार भएपछि सवारीधनीले दिएको नम्बरमा म्यासेज आउँछ। म्यासेज आएपछि नम्बर प्लेट तयार भएको बुझ्नु पर्दछ। यातयात कार्यालयमा गएर जडान गर्न सकिन्छ।
सरकारी गाडीलार्इ अनिवार्य गरेर विस्तारै पाँच बर्षभित्रमा देशभरका सवारी साधनमा इम्वोस्ड नम्बर प्लेट जडान गर्ने योजना रहेको यातयात व्यवस्था विभागले जनाएको छ।

Tata
GBIME
Nepal Life