शरद ऋतुको पारिलो घाम ताप्दै देश घुम्ने योजनामा हुनुहुन्छ? यस्ता छन् ‘टुर प्याकेज’

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ कात्तिक ५ गते १५:०३ | Oct 22, 2017
काठमाडौं । दशैं तिहार सकिए पनि नेपालीहरुको अर्को प्रमुख चाड छठ नजिकै आएको छ। सरकारी र निजी क्षेत्रका कार्यालय सञ्चालनमा आए पनि अधिकांश स्कुल कलेज छठसम्म बिदानै छन्। 
 
बाँकि बिदाको सदुपयोग गर्दै घुमघामको योजनामा हुनु हुन्छ भने मुलुक भित्रै बिभिन्न टुर प्याकेज उपलब्ध छन्। दशैं तिहारमा ‘ओभर टाइम’ गरेर अहिले बिदा पाउने कर्मचारीका लागि पनि यी प्याकेज लाभदायक हुन सक्छन्।

Tata
GBIME
Nepal Life


 

धेरै जसो विदेशी पर्यटकलाई सेवा दिँदै आएको चम्पादेवी टुर्स एण्ड ट्राभल्सले चाडवाडको छुट्टी लक्षित गरी नेपालीहरुका लागि पोखरा, बन्दीपुर, घान्द्रुक लगायतका ठाउँहरुको टुर प्याकेज सार्वजनिक गरेको छ।
 
काठमाडौं देखि घान्द्रुककम्म छ रात सात दिनको टुर प्याकेजमा पर्यटकहरुले एक रात बन्दीपुरमा विताउन पाउनेछन्। त्यसपछि दुई रात पोखरा र तीन रात घान्द्रुकमा विताउने कम्पनीका व्यवस्थापक मदन अधिकारीले बताए।
 
चितवन, लुम्बिनी लगायत क्षेत्रमा सडक अव्यवस्थितिका कारण घुमघाम प्याकेज संचालन गर्न अप्ठ्यारो भएको अधिकारीले बताए। प्याकेजमा यात्रुहरुको मागअनुसारका समय, गाइड, यातायात, खाने, बस्ने लगायत सुविधा तय हुने हुँदा निश्चित शूल्क नतोकिएको उनले बताए।
 
'गत वर्षको तुलनामा यसपाली आउटबण्ड टुरीजमभन्दा इनबण्डमा युवा तथा शिक्षीत प्रौढ नेपालीले लामो छुट्टी सदुपयोग गर्न चाहेको बुझेर हामीले प्याकेज सञ्चालन गरेका हौँ, उनले भने।
 
गतवर्षको तुलनामा आन्तरिक पर्यटनमा अभिबृद्धी भएको ब्लु लेक ट्राभल्सका सञ्चालक विश्वराज भण्डारी बताउँछन्‍। चाडवाडको रौनकमाझ मुलुक भित्रका रमणिय गन्तव्य घुम्न नेपालीले व्यापक चासो देखाइरहेको भण्डारीले बताए।


 

मुस्ताङ, पोखरा, चितवन, लुम्बिनी लगायतका पर्यटकीय स्थानमा आन्तरिक पर्यटकको विषेश चासो हुने गरेको भण्डारीको भनाइ छ। आन्तरिक पर्यटको माग अनुसारकै भ्रमण प्याकेज बनाइ रहेको उनले जानकारी दिए।
 
आन्तरिक पर्यटन प्रवर्धनकालागि ग्राहकहरुलाई स्थल, दुरी, यातायात, खर्च लगायतको जानकारी निशुल्क प्रदान गरेको उनको भनाइ छ। यसैगरि सक्सेस ट्राभल्स एण्ड ट्रेकले शरतको पारिलो मौसममा माथिल्लो मुस्ताङ, मुस्ताङ, पोखरा, चितवन, लुम्बिनी लगायतका ठाउँको टुर प्याकेज बनाएको कम्पनीकी करेस्पोन्डेन्ट मेलिना थापाले बताइन्। यि मध्ये अपर मुस्ताङ, पोखरा, चितवन लगायतका पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकले बढी चासो देखाएको उनले जानकारी दिएन्।
 
अपर मुस्ताङका लागि यातायात, वासस्थान, खाजा, खाना समावेश गरिएको छ रात सात दिनको टुर प्याकेजको लागि पर्यटकहरुले प्रतिव्यक्ति २७ हजार तिर्नूपर्ने उनले बताइन्। यसैगरि दुई रात तीन दिन पोखरा भ्रमणको लागि सरानकोट अवलोकन बाहेक यातायात, साइड सीन, बोटीङ समावेश गरिएको प्याकेजमा पर्यटकले १५ हजार ५०० रुपैयाँ तिर्नु पर्ने उनले जानकारी दिइन्।
 
यसैगरि यातायात, जंगलसफारी, भिलेज वाक, साइड सीन, एलिफेन्ट सफारी, खाजा, खाना समावेश गरिएको २ रात ३ दिनको चिनतवन घुमघाम प्याकेजमा प्रति व्यक्ति १६ हजार रुपैयाँ लाग्ने थापाले बताइन्। १ रात २ दिन चितवन भ्रमण प्याकेजमा भने पर्यटकले ५५ सय रुपैयाँ तिरेर यातायात, साइड सीन, जङ्गल वाक लगायतका सुविधा लिन पाउनेछन्।
 
यस्तै बोन ट्राभल्स एण्ड टुर्सले दशैं तिहार विदालाई लक्षित गर्दै मुस्ताङ, पोखरा, दोलखा लगायतका स्थानको टुर प्याकेज बनाएको प्रमुख कार्यकारी अधिकृत बिनोदराज पौडेलले बताएका छन्।


 

सामुहीक रुपमा मुस्ताङ घुम्ने पर्यटकहरुको लागि प्रति व्यक्ति १२ देखि १३ हजार लाग्ने र एकदुई जनामात्र घुम्न इच्छुक पर्यटकहरुको लागि २० देखि २२ हजार रुपैयाँ लाग्ने उनको भनाइ छ। उक्त प्याकेजमा पर्यटकहरुले यातायात, खाना, खाजा, वासस्थान लगायतका सुविधा पाउनेछन्।
दुई रात तीन दिनको पोखरा भ्रमणको लागि प्रति व्यक्ति १० देखि १२ हजार, एक रात दुई दिनको दोलखा भ्रमणको लागि प्रति व्यक्ति चार हजार रुपैयाँ लाग्ने पौडेलले बताए।
 
'गत वर्षको तुलनामा यसपाली आन्तरिक पर्यटन फस्टाएको छ र दशैंको सुरुवात देखि नै टिकट बुकीङ भ्याइ नभ्याइ थियो, उनले भने।